धनगढी न्यूज

अत्तरियामा जताजतै जुवाखाल, १९ जना प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीको अत्तरियामा जताजतै जुवाखाल चल्ने गरेको पाइएको छ। अत्तरियामा सञ्चालित केही होटल र संघसंस्थाका कार्यालयमा समेत जुवा खेल्न जुवाडे समुह जम्मा हुने गरेको पाइएको हो।

२०८१ बैशाख मा मात्र अत्तरियामा ५ जुवाडे पक्राउ परेका थिए। एक लाख ५५ हजार २ सय नगदसहित ५ जुवाडे पक्राउ परेका थिए। अत्तरियामा रहेको रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ५५ हजार २ सय नगदसहित ५ जनालाई पक्राउ गरेको थियो। २०८० असोजमा इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–४ बास्कोटाबाट ५ जुवाडेलाई पक्राउ गरेको थियो।

लोकबहादुर खड्काको पसलमा जुवा खेलिरहेको अवस्थामा ३ गड्डी तास र नगद २० हजार ५७० रुपैयाँसहित ५ जना पक्राउ परेका थिए। ५५ वर्षीय मनिराज महता, ५२ वर्षीय अर्जुन खत्री, ४२ वर्षीय रामबहादुर बोहरा जुवाखालबाटै पक्राउ परेका थिए। त्यस्तै ३७ वर्षीय तेजबहादुर खड्का र गोदावरी नगरपालिका–१ का ४० वर्षीय लोकेन्द्र नाथ समेत जुवाखालबाटै समातिएका थिए।

इलाका प्रहरी कार्यालय मालाखेतीले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३० हजार ८५५ नगदसहित १९ जना जुवाडे जुवाखालबाटै पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाका अनुसार सो आर्थिक वर्षको अन्तिम तीन महिनाको अवधिमा मात्र अत्तरियाबाट एक लाख ५५ हजार २ सय नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेर कानुनी कारबाही गरिएको छ।

के हुन्छ सजाय?
जुवातास खेल्ने खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा ९ महिना कैदको व्यवस्था थियो।

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×