धनगढी न्यूज

बजारमा सजिलै पाइँदैन केरा : छोइ नसक्नु छ मूल्य

काठमाडौँ :  चाडपर्वका बेला नेपालमै उत्पादित केराले माग धान्ने भन्दै उत्पादक किसानहरूले आग्रह गरेपछि भारतबाट केराको आयातमा कडाइ गरियो।

चाडबाडलगत्तै सुरु भयो जाडो मौसम, जुनबेला सामान्यतः केराको माग र भाउ दुवै घट्ने गर्थ्यो तर यसपटक त्यसो भएन, न बजारमा प्रशस्त केरा आयो, न त मूल्य सामान्य भयो।

व्यापारीहरू भारतबाट केरा नआएकाले अभाव रहेको बताउँछन्। बल्खु नजिक कुलेश्वर क्षेत्रमा पुग्दा पाँच पसल चहार्दा एउटामा पकाउन राखेको केराको घरी देखियो। पाकिनसकेको केरा, जुन देख्दा आकर्षक पनि थिएन र व्यापारीका अनुसार त्यो नेपाली केरा थियो।

‘चिसोले गर्दा होला पाकिनहाल्ने, कोसा साना छन्, एक दुई दिनमा पाक्ला’‚ बेच्नै नचाहेका व्यापारी भन्दै थिए, ‘केरा आउनै छाड्यो, बल्ल बल्ल दुई घरी ल्याएको, दर्जनको २३० रुपैयाँमा लैजानुहुन्छ भने दिन्छु।’

व्यवसायी के भन्छन् ?

भारतीय केरा आयातमा कडाइले किसान हौसिएका छन् तर उपभोक्ता मूल्यवृद्धि र अभाव खेपिरहेका छन्। उत्पादकहरू थोरै भए पनि बजारमा केरा आइरहेकोले अभाव र चर्को मूल्य तिर्नुपर्ने अवस्था नरहेको बताउँछन् तर व्यवसायी भारतबाट ल्याउन नपाउँदा बजारमा केरा ठप्पै भएको बताउँछन्।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँ भने राज्यको अबुझपूर्ण निर्णयको प्रभावले केरा ठप्पै रहेको सुनाउँछन्।

किसानले आफ्नो उत्पादनलाई प्राथमिकता दिन भनेपछि आफूहरूले समेत बाहिरको केरालाई प्राथमिकता नदिएको तर अफसिजनमा ठप्प हुने अवस्था बनाइएको उनको भनाइ छ।

टीआर फोर भाइरस भारतमा देखिएको तर नेपालमा नदेखिएको भन्दै बानियाँले क्वारेन्टाइनले केराको आयात रोक्न ‘भाइरसको जोखिम’ भनी बहाना मात्र बनाउने काम गरको दाबी गरे।

‘कृषि मन्त्रालय किसानको दबाबमा रोकिएको भन्छ तर राज्यका निकायमा बस्ने केही मान्छेहरूले नाटक मात्र गरिरहेका छन्’, अध्यक्ष बानियाँले भने‚ ‘खुला नाकाबाट अवैध रूपमा केरा भित्रिरहेको छ। यसले जोखिम झन् बढाइरहेको कुरा कसैले बुझ्न चाहेको छैन।’

भदौ, असोज, कात्तिकसम्ममात्र नेपाली केरा आउने भन्दै उनले नेपाली केराले नपुग्ने समयमा बाहिरबाट खुलाउनुको विकल्प नरहेको बताए।

‘अहिले पूर्वदेखि पश्चिमसम्म सबैतिर केराको हाहाकार छ। कडाइ गर्नेले गैरकानुनी रूपमा भइरहेको आयात रोक्न सकेका छैनन्, हामी मन्त्रालयदेखि सम्बन्धित निकायमा धेरै धायौँ तर केही लागेन, राज्यले नै केरा चोरेर ल्याउन सिकाएको हो, त्यसैले हामीले हात झिकिदियौंँ, अवैध रूपमा केरा आउने, राजस्व छली भइरहने तर राज्य निरीह जस्तो देखिने भइरहेको छ’‚ उनले थपे।

उनका अनुसार बल्खुमा यो सिजनमा पहिले दैनिक १० घरी केरा झर्ने गरेको थियो अहिले मुस्किलले चार-पाँच घरी, त्यसमा पनि चोरीका केरा भित्रिरहेका छन्।

सरकारले नेपालको उत्पादन प्रवर्धन, किसानलाई प्रोत्साहनका सन्दर्भमा किसानसँगै व्यवसायीलाई समेत राखेर छलफल नगर्दा पनि समस्या भएको उनको ठम्याइ छ। चाडबाडका बेला (भदौ-कात्तिकमा) भन्दा अगाडि लिएको परमिटले मंसिरसम्म बजार ओगटेको थियो।

‘जसको हातमा पर्मिट थियो, उसले कालाबजारी गर्‍यो त्यो बेला पनि, ९०० मा बेच्ने एक सय पिस केरा १३०० देखि १४०० सम्म बेचे, उनले थपे अहिले झन् ठप्पै छ।’

कालीमाटी फलफूल तथा तरकारी बजारमा केरा खासै धेरै नभित्रने भएकाले प्रभाव नपरेको बजार विकास समितिका उपनिर्देशक एवं सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।

यद्यपि नेपाली केराको अफसिजनमा भारतबाट आउने केरामा कडाइ गर्दा बजारमा प्रभाव परेको हुनसक्ने उनको भनाइ छ।

किसानलाई राहत : उपभोक्ता मारमा

केरा उत्पादक किसान प्रतिनीधिहरू भने बाहिरबाट केरा नआउँदा नेपाली उत्पादनले मूल्य पाएको र विस्थापित हुने अवस्थामा पुगिसकेका किसानलाई राहत मिलेको बताउँछन्। तर बजारमा प्रशस्त र सजिलै नपाउँदा र चर्को भाउ तिर्नुपर्दा उपभोक्ता मारमा परेका छन्।

केरा उत्पादक किसान महासंघका अध्यक्ष विष्णुहरि पन्त बजारमा कृत्रिम अभाव गराइएको हुनसक्ने बताउँछन्।

‘किसानले बल्ल सन्तोषजनक, कोसाको तीनदेखि चार रुपैयाँ पाएका छन्’, उनले भने, ‘नेपाली केरा (अफसिजन भएकाले केही कम) बजारमा आइरहेको छ, व्यापारीले नै कृत्रिम अभाव गराएर महँगो बनाएका हुन सक्छन्।’

दशैँतिहारमा एक दुई रुपैयाँमा बेचेका किसानका लागि अफसिजनमा तीनचार रुपैयाँ पाउनु भनेको धेरै ठूलो राहत भएको अध्यक्ष पन्तले बताए।

‘बारीबाट थोरै नाफा भएर केरा उठ्दा किसानमा उर्जा थपिएको छ’, उनले भने‚ ‘‘किसानले बजारमा अभाव देखेर बढी मूल्य लिएका छैनन्। अभाव र मूल्यवृद्धि सम्बन्धमा बजार निगरानी र नियन्त्रण गर्ने दायित्व नेपाल सरकारले पूरा गर्नुपर्छ।’

चितवन केरा उत्पादक संघका अध्यक्ष धननाथ महतो पनि जाडोको सिजनमा तापक्रम कम हुँदा केराको उत्पादन कम हुने तर व्यापारीहरूले आफ्नो अनुकूलका व्याख्या विश्लेषण गर्दा मूल्य प्रभावित भएको हुनसक्ने बताउँछन्।

‘राज्यले भारतीय केरा नरोकिदिएको भए धेरै सयौं नेपाली किसान विस्थापित हुन्थे’, उनले भने ‘आयातलाई प्राथमिकता दिने होइन, यहीँका किसानलाई जागरुक बनाउनुपर्छ, वर्षभर केरा फलाएर हामीलाई पुग्ने गरी उत्पादन बढाउन सकिन्छ।’

गत वर्षहरूमा दशैँ तिहार, छठलाई लक्षित गरेर केरा उत्पादन गरेका किसानले लाखौँको केरा पाकेर खेर जाँदा ठूलो क्षति बेहोर्नुपरेको उनी सुनाउँछन्।

‘त्यो बेला धेरै किसान मारमा परे, बैंकको ऋणले डुबेर विस्थापित हुने अवस्था आयो, अहिले केही समय अलि कम उत्पादन भएको हो, उपभोक्ताले सहजै पाउनुपर्छ, अब वर्षभरी (जाडोमा पनि पर्याप्त हुनेगरी) केरा निकाल्ने तयारी गरिरहेका छौं’‚ महतोले थपे।

महासंघका अध्यक्ष पन्त राज्यले गरेको कडाइ किसानका लागि नभई भाइरसको जोखिमका कारण भएको तर्क गर्छन्।

‘नेपाली केरालाई बचाउन सरकारले लिएको यो कदमले नेपाली किसानलाई फाइदा पुग्यो, राज्यले हाम्रा लागि नभई सुरक्षाका लागि गरेको कडाइले केरा खेती छाड्ने अवस्थामा पुगेका किसानलाई जोगाएको छ’‚ उनले थपे।

केरा रोक्नुको कारण ‘पानामा टीआर फोर’

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार, ‘पानामा टीआर–फोर’ भाइरसको जोखिम बढेपछि गत असोजदेखि केराको आयात रोकिएको हो।

कृषिको इतिहासमै सबैभन्दा खतरनाकमध्ये एक मानिएको केरामा लाग्ने पानामा रोगको कारक ढुसी फ्यूजारिय अक्सिस्पोरियम क्यूवेन्सिको अत्यन्त खतरनाक मानिएको प्रजाति ट्रोपिक रेस ४ (टी आर ४) नेपालमा पहिलोपटक देखा परेपछि नेपाली केराको सुरक्षा गर्न आयात रोक्ने कदम चालिएको केन्द्रले जनाएको छ।

‘नयाँ प्रजाति ट्रपिकल रेस ४ भनिने टीआर–४ नेपाल आयो भने त्यसले नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई सखाप (पूर्णरूपमा नष्ट गर्न) बनाइदिन्छ, केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले भने‚ ‘यो रोगको प्रतिरोधी जातहरू हामीसँग छैन, जोखिम पनि कम भएको छैन, त्यसैले क्वारेन्टिनले बायो सेक्यूरिटीमा सम्झौता गर्दैन, तत्काल केराको आयात खोल्न सकिदैन।’

खुल्ला सिमाना, विशेषगरी भारतसँगको सीमा क्षेत्रका जिल्लाहरुमा केराको सबैभन्दा बढी सम्भावना रहेको भन्दै उनले क्वारेन्टिनले अत्यावश्यक हतियार प्रयोग गर्नुपरेको बताए। यसलाई केरामा देशलाई आत्मनिर्भरतातर्फ लैजानका लागि लिएको कदमको रुपमा समेत बुझ्नुपर्ने उनको भनाइ छ।

‘नेपालमा १५ अर्बको कारोबार केराको हुन्छ, २६ हजार किसान केरामा संलग्न छन्, अरू ४२ वटा जिल्लामा जान सकिने केराको पोटेन्सियल छ, पौडेलले भने, ‘भारतले आफ्ना मिटिगेसन मेजरहरू दियो र त्यो साइन्टिफिकल्ली जस्टिफाइड भयो भने हामी खुल्ला गर्दिन्छौ।’

तर नेपालमा किन केरा रोकिएको भनेर भारतले सोधेको छैन। ‘भारतले आफ्नो रिपोर्ट, इन्टरनल इन्फर्मेशन नपठाएसम्म हामी जोखिम मूल्यांकन गर्न सक्दैनौं’ पौडेलले भने।

उनका अनुसार गत असोज ६ गतेदेखि कुनैपनि प्रवेश पर्मिट दिइएको छैन, त्यसअघि लिएका पर्मिटका केरा भित्रिएको हो। परमिट लिएको ६ महिनाको अवधिभित्र केरा ल्याउन सक्छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशी टीआर फोर बाट नेपाली केरालाई जोगाउनका लागि बाहिरबाट आयात रोक्नुपर्दा अफसिजनमा केही अभाव सिर्जना भएको हुनसक्ने बताउँछन्। तर यो लामो समय यो अवस्था नरहने उनको संकेत छ।

‘त्यसको पेस्ट रिस्क एनालाइसिस (पिआरए) गरेपछि मात्र भित्र्याउन दिने भनेर अलिक कडाइ गरिएको हो, यसले गर्दा केही अभाव भएको हुन सक्छ, तर त्यसको लङ टर्म इफेक्ट (लामो समय प्रभाव) हुँदैन’ जोशीले भने।

केराको आयातलाई लामो समय पूर्णरुपमा रोक्न नसकिने उनी बताउँछन्। ‘विश्व व्यापार सङ्गठनको प्रावधान अनुसार आयातलाई पूर्णरूपले बन्द गर्न मिल्दैन, रोग किराको जोखिम लगायत विभिन्न खालका समस्या आउँदा हामीले आंशिक रूपमा कन्ट्रोल गर्ने हो। चाँडै पीआरए गरेपछि आयातलाई खुलाउँछौं’ उनले भने।

केराको बोक्रा, बोट, लेपबाट समेत टिआर फोर भित्रिन सक्छ, जसले नेपालको सबै केरा सखाप पार्दिने देखेर नियन्त्रणका लागि आयातमा रोक लगाउनुपरेको जनाइएको छ।

‘पहिले थप फैलावट रोक्न जरुरी भयो, रोग देखिएका ठाउँको केरा अन्यत्र नलगि त्यहीँ डिस्पोज गर्ने र भारतबाट पनि केही समय ल्याउन रोक्ने निर्णय गरिएको हो’ जोशीले भने।अवैध रुपमा केरा ल्याएर व्यापारीले मूल्य बढाएका छन् भने त्यसको अनुगमन र नियन्त्रण गर्नुपर्ने उनले बताए।

‘हामीले क्वारेन्टाइन, रोग, किरा र कहिलेकाहीँ यताको केराले बजार पाएन भने होलसेल मार्केटहरूमा बजार पावोस् भन्ने हिसाबले सहजीकरण गर्ने हो, उनले भने, त्यसबाहेक उताबाट ल्याई यहाँ रोकेर मूल्य तल माथि गर्‍या हो, कालो बजारी भएको छ भने त्यसमा वाणिज्य विभागले अनुगमन गर्नुपर्‍यो ।’

आत्मनिर्भरताको सन्दर्भमा नेपालमा केराको सम्भावना धेरै रहेको जोशी बताउँछन्। उनले बताए‚ ‘अहिले माग धेरै छ, हामी पुर्‍यायाउनै सक्दैनौं, तर अब केरा खेतीको क्षेत्रफल वृद्धि भयो भने, किसानलाई  लाभ हुने, उपभोक्ताले सस्तोमा पाउने र माग पनि पूर्ति हुने देखिन्छ’ जोशीले भने।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जारी गरेको (फागुन ७) दैनिक थोक मूल्य अनुसार आज केरा एक दर्जनको १७० देखि १९० (औसत १८०) रुपैयाँ पर्छ।

गतबर्षको तुलनामा यस बर्ष केराको मूल्य २४.१४ प्रतिशतले बढेको छ। गतबर्ष आजकै दिन (२०८१ फागुन ७ गत) केराको औसत थोक मूल्य प्रतिदर्जन १४५ रुपैँया थियो।

पछिल्लो पाँच वर्षमा केराको भाउ ह्वात्तै बढेको देखिन्छ। २०७७ फागुन ७ गतेको मूल्यसूची हेर्दा केराको औसत मूल्य मात्र ९५ रुपैँया प्रतिदर्जन थियो भने आज १८० रुपैयाँ छ। यो फरक ८९.४७ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको ६ महिनामा केराको मूल्यवृद्धि ३८.४६ प्रतिशत देखिन्छ। गत साउन १ गते केरा औसत १३० रुपैयाँ प्रतिदर्जन थियो।

चाडपर्व सुरु भएपछि फलफूलको माग बढ्ने गर्छ, जुन बेला ब्यापारीले पनि भाउ बढाउने गरेको पाइन्छ। तर अहिले बढेको मूल्यको तुलनामा चाडपर्वको समय (खासगरी भदौदेखी मंसिरसम्म) केरा खासै महँगो थिएन।

तथ्यांकमा केराको आयात

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा वर्षेनि आयात गरिने २ अर्ब बढीको केरामध्ये धेरै मात्रामा भारतबाट भित्रन्छन्। यसका साथै खुला सिमानाका कारण विनाचेकजाँच पनि खुद्रा व्यापारीले केरा ल्याएर नेपाली बजारमा बेच्ने गरेका छन्।

चालु वर्ष ०८२।८३ को ६ महिना (साउन–पुस) मा चार महिनामा ७६ करोड ५२ लाख ७१ हजार रुपैयाँ बराबरको २१ हजार ४१८ टन केरा आयात भएको विभागको वैदेशिक व्यापार तथ्यांकले देखाउँछ। यो सबै भारतबाट आएका केरा हुन्।

यसका साथै १ टन केरा इजरायलबाट र तरकारीका लागि प्रयोग गरिने केरा कतारबाट १ टन र बेलायतबाट १० टन भित्रिएको तथ्याङ्कमा उल्लेख छ।

गत आर्थिक वर्ष २०८१।८२ मा २ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ६२ हजार ५६९ टन बढी केरा भित्रिएको थियो भने २०८०।८१ मा २ अर्ब ६५ करोड ८ लाखको ७० हजार २३२ टन बढी केरा आयात भएको थियो।

नेपालमा पूर्वदेखि पश्चिमसम्म (करिब २५ जिल्लामा) १२ हजार हेक्टरमा केरा खेती हुने गरेको छ। वार्षिक लगभग ७ लाख मेट्रिक टन उत्पादन हुने र यसले लगभग ६५ प्रतिशत खपत धान्ने केरा उत्पादक किसान महासंघका अध्यक्ष पन्त बताउँछन्।

उनका अनुसार जाडोमा केरा कम उत्पादन हुने र कम तापक्रमका कारण कोसाको साइज पनि सानो हुने गरेको छ। फागुन लागेसँगै तापक्रम बढेपछि कोसाको साइज विस्तारै बढ्दै जान्छ।

तत्कालका लागि केराको केही अभावजस्तो देखिएपनि राज्यले बाह्य केरा आयातमा गरेको कडाइलाई निरन्तरता दिए अबको दुई वर्षमा नेपाल केरामा आत्मनिर्भर बन्न सक्ने उत्पादकहरुको दाबी छ। थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×