काठमाण्डूको शान्तिनगरकी तृप्ति मिश्र उच्च शिक्षा हासिल गर्न बाङ्ग्लादेशको ढाका पुगेको डेढ महिना मात्र भयो। तर सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा जारी प्रदर्शनका कारण आफ्नो कलेज र अन्य विश्वविद्यालयमा देखिएका हिंसात्मक दृश्य र त्यहाँबाट आइरहेका खबरले पछिल्लो समय उनलाई चिन्तित तुल्याएको छ।


ढाकाबाट बीबीसीसँग टेलिफोनमा कुरा गर्दै उनले भनिन्, “हिजोको अवस्था संवेदनशीलजस्तै थियो। म मेडिकल शिक्षाको पहिलो वर्षकी विद्यार्थी हुँ। हामीले यस्तो खालको हिंसा नेपालमा देख्दैनौँ। प्रदर्शनहरू देखेपछि असुरक्षित महसुस भएको थियो। डर पनि लागेको थियो।”
बाङ्ग्लादेशको दोस्रो ठूलो मेडिकल कलेज मानिने सर सलिमुल्लाह मेडिकल कलेज एन्ड मिटफर्ड अस्पतालमा अध्ययनरत उनले तत्कालै ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गरिन्।

उनका अनुसार राजदूत घनश्याम भण्डारीले आफूहरूले कलेज प्रशासनसँग कुरा गर्ने र आवश्यक परे बाङ्ग्लादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई घर फर्काउनेसम्मको तयारी गरेको जानकारी गराए।
राजधानी ढाकासहित विभिन्न सहरमा उनीजस्ता झन्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् र सरकारी जागिरमा कायम आरक्षण एवं कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनमा केही व्यक्तिको मृत्यु भएपछि देशभरि नै विद्यालय तथा विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्।
विदेशी विद्यार्थीहरूको अवस्था कस्तो छ?
तस्बिर स्रोत,REUTERS
पछिल्लो आन्दोलनमा विदेशी विद्यार्थीहरू हताहत भएका खबर आएका छैनन्। तर अधिकारीहरूले बाङ्ग्लादेश सरकारले विभिन्न कलेज र विश्वविद्यालयका छात्रावासबाट बाङ्ग्लादेशी विद्यार्थीहरूलाई बाहिर पठाएको र त्यहाँ अब विदेशी विद्यार्थीहरू मात्रै बाँकी रहेका जनाएका छन्।
नेपाली विद्यार्थी तृप्ति मिश्रले पनि आफ्नो छात्रावासमा बाङ्ग्लादेशी र विदेशी विद्यार्थीहरू सँगै बस्दै आएकोमा बुधवार मध्याह्नबाट विदेशी विद्यार्थीहरू मात्रै रहेको बताइन्।

उनले भनिन्, “होस्टलमा अहिले कोही बङ्ग्लादेशी विद्यार्थी छैनन्। हामी विदेशी विद्यार्थी मात्रै छौँ। अहिले हामी ५० जनाभन्दा कम छौँ। भुटानी विद्यार्थीहरू आफ्नो देशको दूतावासमा जानुभयो। केही भारतीयहरू आफ्नो बाङ्ग्लादेशी साथीहरूकोमा जानुभएको छ। हामी यता सुरक्षित नै छौँ।”
ढाका मेडिकल कलेजमा सोमवार प्रदर्शनहरू भएको खबर पाएकी तृप्ति मङ्गलवार भने आफू अध्ययनरत कलेज क्षेत्रमा प्रदर्शनहरू भएका र त्यसले नराम्रो रूप लिएको बताउँछिन्।
उनले भनिन्, “हामी बाहिर निस्किएनौँ। तर समाचारहरू हेर्दा हाम्रा बाङ्ग्लादेशी साथीहरू गम्भीर रूपमा घाइते हुनुभएको छ। मेरै ब्याचको एक जना बङ्गाली साथी पनि घाइते हुनुभएको छ। उहाँको टाउकोबाट रगत निस्किरहेको थियो। यस्तो देख्दा डर लागेको हो। तर यहाँ हाम्रो राजदूत र हाम्रै कलेजको हामीभन्दा पुरानो ब्याचकाहरूले ‘शान्त भएर बस्नुहोस्, केही हुँदैन, भन्नुभयो। हामी प्रदर्शनहरूमा संलग्न छैनौँ, केही हुँदैन भनेपछि अलिकति डर कम भयो।”

तृप्तिकै कलेजमा पाँचौँ वर्षका मेडिकल विद्यार्थी निश्चल बूढाथोकी आफू बाङ्ग्लादेशमा अध्ययन गर्न आएदेखि विद्यार्थी जोडिएका यस्ता हिंसात्मक प्रदर्शन कम्तीमा तीन पटक देखेको भन्दै सुरक्षालाई लिएर आफू खासै चिन्तित नरहेको बताउँछन्।
तस्बिर स्रोत,NISCHAL BUDHATHOKI
आफू अध्ययन गरिरहेको कलेजमा १९ जना नेपाली विद्यार्थी रहेको भन्दै उनले प्रदर्शनहरूका कारण पढाइ अनिश्चितकालका लागि रोकिएको बताए।
उनी भन्छन्, “हिजो राति होस्टल खाली गर्ने भन्ने सूचना आए पनि विदेशी विद्यार्थीहरूका लागि के गर्ने भनेर त्यसमा खुलाइएको थिएन। त्यसले गर्दा अलिकति चिन्ताको माहोल थियो। तर आज बिहानैबाट जुनजुन कलेजमा विदेशी विद्यार्थीहरू छन्, उनीहरूले विदेशी विद्यार्थीहरूलाई सुविधा हुने हिसाबले बस्न भनेका छन्। राजदूतावासले पनि के कसो छ भनेर जानकारी लिइरहेको छ।”
उनले कलेज प्रशासनले विदेशी विद्यार्थीहरूलाई केही पनि हुन नदिने भनेर जिम्मेवारी लिएको उल्लेख गर्दै छात्रावासबाहिर सुरक्षाकर्मी खटाइएको जानकारी दिए।

बूढाथोकीका अनुसार अधिकारीहरूले आश्वस्त पार्न खोजे पनि आक्रमण हुन सक्ने जस्ता हल्लाहरू चल्ने गरेकाले सबै विद्यार्थीहरू चनाखो नै भएर बसेका छन्।
उनले थपे, “कलेजले निरन्तर हामीलाई सम्पर्क गरेर बाहिरबाट मान्छेहरू आएर कसैले पनि केही गर्दैन भनेर आश्वस्त पारिरहेको छ।”







