
ढाका, साउन २२ गते । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनु भएको छ ।


प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गर्नुभएका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ ।

“यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उहाँले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गर्नु भएको छ ।

छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा हुनुहुन्थ्यो तर उहाँमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उहाँको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा सवार भएर भाग्नुभयो ।








