Skip to main content

धनगढी न्यूज

पोहोर पहिरोले पुरानो घर छाडे, अहिले नयाँ घरमै बगे बुढाबुढी

Advertisement

४ साउन, पोखरा । पोहोर यही बेला पहिरोले पुरानो घरमा क्षति पुर्‍याएपछि पर्वत मोदी गाउँपालिका-३ का छविलाल विश्वकर्मा दम्पती केही कान्लामुनि रहेको छोरोको घरमा सरेका थिए ।

यसपालि विश्वकर्मा दम्पती सुतेकै अवस्थामा पहिरोमा पुरिएका छन् । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख खसेको पहिरो ७६ वर्षीय छविलाल र उनकी सोही उमेरकी श्रीमती विष्णुमती विश्वकर्मा पुरिएका हुन् ।

पहिरोमा पुरिएका विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

पोहोर साल यही समय ढिस्को खसेर पुरानो घरमा क्षति पुगेपछि उनीहरू छोराले बनाएको नयाँ घरमा सरेका थिए ।

वडा नम्बर ३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार आइतबार बिहानै खसेको पहिरोले बुढाबुढीलाई पुरेको हो भने बुहारीले भागेर ज्यान बचाएकी छन् ।

आफन्त गुमाएपछि बुहारी पनि विक्षिप्त बनेकी छन् । उनको श्रीमान वैदेशिक रोजगारमा छन् भने छोराछोरी बजारमा बसेर पढिरहेका छन् ।

प्रजिअ हरिप्रसाद घिमिरे

‘घर पछाडिको भूगोल हेर्दा तत्काल पहिरोले बगाउने जस्तो थिएन । तर, गहिरिएर पहिरो आएपछि बुढाबुढी सुतेकै अवस्थामा पुरिएछन् । घरभन्दा माथि करिब १५ मिटर अग्लो ठाउँबाट गहिरिएर पहिरो खसेको छ,’ वडाध्यक्ष क्षेत्रीले घटना सुनाए ।

उनले थपे, ‘घरमा आधाभन्दा बढी क्षति पुगेको छ, क्षति नपुगेको भागपट्टि रहेकी बुहारी भागेर बाँच्न सफल भइछन् ।’

बिहानीपख एक्कासी पहिरो आधा घर पुरेपछि बुढाबुढीले निस्किएर भाग्ने अवसरै नपाएको लामिछानेको भनाइ छ ।

‘बुढाबुढी बसेको पुरानो घरमा ढिस्को खसेर गाह्रो फुटालेको थियो । दुवै घर तलमाथि सँगसँगैजस्तो थियो । तलको घर प्लास्टर गरेर टिनले छाएको थियो’ अध्यक्ष क्षेत्रीले भने ।

अहिले नेपाल प्रहरी, सशत्र प्रहरी बल र स्थानीयले पहिरो पन्छाउने काम गरिरहेका छन् ।

पहिरोको त्रासमा छ माझगाउँ

पर्वत मोदी गाउँपालिकाकै वडा नम्बर २ सँग जोडिएको ३ नम्बर वडाकै माझगाउँ वर्षासँगै पहिरोको त्रास छ । पोहोर सालको वर्षाले जमिन र घरहरू केही लच्किएका थिए ।

वर्षाले माटो गलाएपछि पहिरोले गाउँ नै बगाउने हो कि भन्ने त्रास सिर्जना गरेको वडाध्यक्ष क्षेत्रीले बताए ।

‘माझगाउँमा जमिन लच्किएको, घर ढल्किएको अवस्थामा छ । त्यहाँका नागरिक एकदमै धेरै त्रसित छन्’ वडाध्यक्ष क्षत्रीले भने, ‘पोहोर नै ४/५ घरलाई त्यहाँ नबस्न भनिएको थियो । तर, जाने ठाउँ पनि केही थिएन, हामीले पनि केही गर्न सक्ने अवस्था थिएन ।’

माझगाउँमा २७/२८ घरहरू रहेको उनले बताए । वर्षा बढेसँगै गाउँलाई सचेत गराइएको वडाध्यक्ष क्षत्रीको भनाइ छ ।

घटनास्थल दुर्गम र सडक गतिलो नभएकाले उद्धारमा केही समस्या परेको पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । मोदीमा पहिरोले घर पुरेको बिहान ६ बजे जानकारी प्राप्त हुनासाथ उद्धार टोली खटाइएको उनले जानकारी दिए ।

चट्याङले एक जना घाइते, पोखरा रेफर

वर्षासँगै परेको चट्याङ लागेर पर्वतको जलजला गाउँपालिका–१ को बनौंमा एक जना घाइते भएका छन् ।

राति वर्षासँगै परेको चट्याङले २५ वर्षीय नवीन पुर्जा घाइते भएका हुन् ।

उनको प्रदेश अस्पताल कुश्मामा सामान्य उपचार गरेर थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) पठाइएको पर्वतका सीडीओ घिमिरेले जानकारी दिए ।

सचेत रहन आग्रह, सुरक्षा टोली तम्तयार

वर्षासँगै बर्सेनि बाढी–पहिराले क्षति पुर्‍याउने पर्वतमा सतर्क रहन सूचित गरिएको छ । कालीगण्डकी र मोदी पर्वत भएर बग्ने ठूला नदी हुन् ।

खहरे खोलाहरू पनि वर्षा उर्लिन सक्ने, त्यसले बाढी पहिरो निम्त्याउन सक्ने भएकाले केही दिनअघिदेखि नै सतर्कता अपनाउन आग्रह गरिएको सिडिओ घिमिरेले बताए ।

पहिरोले क्षति पुर्‍याएका घर र उद्धार टोलीसहित स्थानीय ।

जल तथा मौसम विज्ञान महाशाखाले जुनसुकै बेला पनि नदी तथा खहरे खोलाको सतह बढ्न सक्ने बताएसँगै सचेत रहन आग्रह गरिएको र सुरक्षा संयन्त्रलाई तम्तयार रहन निर्देशन दिइएको सीडीओले घिमिरेको भनाइ थियो ।

‘अहिले वर्षा भइरहेको भए पनि भारीरूपमा परेको छैन । तर यस्तो वर्षाले पनि माटो गलाउने, पहिरो खस्न सक्ने भएकाले सतर्कता अपनाउन भनेका छौं’ सीडीओ घिमिरेले अनलाइनखबरसँग भने, ‘ठूलो वर्षाले नदी तथा खहरेहरू पनि उर्लिने सम्भावना रहन्छ । त्यसैले सुरक्षा संयन्त्रलाई तम्तयार रहन निर्देशन दिएका छौं,’

जल तथा मौसम विज्ञान महाशाखाले गण्डकीसहित बागमती, कोशी र मधेश प्रदेशमा समेत मेघगर्जन चट्याङसहित वर्षा हुने भएकाले साबधानी अपनाउन आग्रह गरेको छ । गण्डकी प्रदेशका अधिकांश भूभागमा भारी वर्षा नभए पनि शनिबारदेखि नै मध्यम वर्षा भइरहेको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...