Skip to main content

धनगढी न्यूज

मीठो मुस्कानको पासो : कोरियाबाट फर्केका युवा यसरी ‘हनी ट्रयाप’को जालोमा फसे

Advertisement

सहमतिमा यौन सम्बन्ध, गोप्य तस्बीर देखाएर ‘ब्ल्याकमेलिङ’

सुर्खेत । सुर्खेतका २० वर्षीय एक युवक ०८१ साउनमा कोरियाबाट नेपाल आएका थिए । कोरियामा दुःख गरेर कमाएको पैसा र भविष्यको सुन्दर सपना बोकेर उनी घर फर्किए । तिनै युवाका लागि चिनजानकी एक युवतीसँगको सम्बन्ध जीवनकै सबैभन्दा ठुलो भुल साबित भयो ।

सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध जब डर, धम्की र ब्ल्याकमेलिङको अँध्यारो सुरुङमा पस्यो, तब उनले डेढ वर्षको अवधिमा १४ लाखभन्दा बढी रकम गुमाउनुपर्‍यो ।

  • ‘हनी ट्रयाप’मा कसरी परे ?

घटना ०८१ सालको भदौ महिनातिर सुरु हुन्छ । दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया सिन्दु चन्दले कोरियाबाट भर्खरै फर्केका ती युवालाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यु होटलमा भेट्न बोलाइन् । उनीहरूबिच पहिलेदेखि नै सामान्य चिनजान थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार त्यहाँ उनीहरूबिच सहमतिमै यौन सम्बन्ध कायम भयो ।

त्यो भेट सामान्य र व्यक्तिगत लाग्थ्यो, तर सिन्दुका लागि यो एक योजनाको सुरुवात थियो । यौन सम्बन्धको वेला सिन्दुले ती युवालाई थाहै नदिई गोप्य रूपमा केही तस्बिर खिचिसकेकी थिइन् ।

सुरुमा सबै ठिकठाक चल्यो । सहयोग गर्ने बहानामा किनमेल गर्ने, घुम्ने क्रम चलिरह्यो । केही महिनापछि सिन्दुको वास्तविक रूप बाहिर आउन थाल्यो । उनले त्यही गोप्य तस्बिरलाई हतियार बनाइन् ।

‘सुरुमा उनले २ लाख रुपैयाँ मागिन्,’ डीएसपी बुढथापाले रातोपाटीसँग भने, ‘त्यसपछि सुरु भयो डर र त्रास र धम्कीका शृङ्खला ।’

सिन्दुले ती युवालाई जबरजस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्बिर सामाजिक सञ्जालमा छरिदिने धम्की दिन थालिन् । समाजमा हुने बेइज्जती र कानुनी झमेलाको डरले ती युवा निकै डराए । उनले सिन्दुलाई मागेको रकम दिँदै गए ।

यो क्रम लगभग डेढ वर्षसम्म चल्यो । सुरुमा ती युवाले सिन्दुलाई दुई लाख रकम दिए । तर सिन्दुले डर, त्रास देखाउन छाडिनन् । ‘विभिन्न मितिमा पटक–पटक गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ असुलिसकेकी छन्,’ बुढथापाले भने, ‘हालसालै मात्र युवाले सिन्दुको खातामा ५ लाख हाले ।’

तर, उनको माग रोकिएन । पैसा सकिँदै जाँदा र धम्कीको मात्रा बढ्दै गएपछि युवा मानसिक रूपमा विक्षिप्त बन्न थाले । ‘डेढ वर्षमा झण्डै १५ लाख दिइसकेँ, अझै पनि पैसा माग्दैछे,’ पीडा सहन नसकेर बाध्य भएर प्रहरीकहाँ पुगेका ती युवाले भने, ‘बरु मलाई उतिखेरै मुद्दा हालेको भए हुन्थ्यो, यसरी त म बर्बाद भएँ ।’

निरन्तरको धम्की र पैसाको मागले आजित भएपछि ती युवालाई मुद्दा दर्ता गराउन प्रहरीले सहयोग गर्‍यो । तर, प्रहरीकहाँ जानुअघि उनीभित्र ठुलो द्वन्द्व चलिरहेको थियो । ‘ऊ एकदम डराएको थियो, समाजमा फेरि जगजगी हुन्छ कि भन्ने डरले भन्ने कि नभन्ने दोधारमा थियो,’ डीएसपी बुढथापाले पीडित युवाको कुरा सुनाए, ‘एकदिन ऊ मसँगै आयो र भन्यो– सर ! म त बर्बाद भएँ ।’

पीडितले आफूसँग भएका सबै प्रमाण– कल रेकर्ड, म्यासेज र सिन्दुकै नामको बैंक खातामा पैसा जम्मा गरिदिएको स्टेटमेन्ट प्रहरीलाई देखाए ।

प्रहरीले उनलाई आश्वस्त पार्‍यो । ‘आत्तिनु पर्दैन, हामी छौँ, यदि कोही पीडित हो भने उसले उतिखेरै उजुरी दिनुपर्छ, यसरी पटक–पटक पैसा माग्नु त सरासर ठगी र आपराधिक कार्य हो,’ प्रहरीको यस्तो आश्वासनपछि मात्रै ती युवाले औपचारिक जाहेरी दिने आँट गरे ।

जाहेरीका आधारमा मंगलबार बिहान प्रहरी टोलीले सिन्दु चन्दलाई पक्राउ गर्‍यो । प्रहरीसँगको सोधपुछमा उनले सुरुमा ती युवालाई ‘दाइ’ भन्ने गरेकोजस्ता तर्क गरेर उम्किन खोजिन् । तर, प्रमाणअगाडि उनको केही लागेन ।

‘सिन्दुले पैसा लिएको स्वीकार गरिसकेकी छन्,’ डीएसपी बुढथापाले भने । अहिले सिन्दुमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । यो घटनाले ‘हनी ट्रयाप’ को बढ्दो अपराध र कसरी मिठो सम्बन्धको बहानामा व्यक्तिको जीवन र सम्पत्ति दुवै बर्बाद हुन्छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गरेको छ । रातो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...