Skip to main content

धनगढी न्यूज

‘कुनै बेला पैसाले बाकस भरिन्थ्यो, अचेल देख्नै मुस्किल भइसक्यो’

Advertisement

चितवनको नारायणघाट, भरतपुरतिर अचेल एक टुक्रा घडेरी देख्न मुस्किल छ। ठूला–ठूला घर, फराकिला सडक बनेका छन्। मान्छेको चहलपहल बढेको छ। सवारी साधनको चापले ६ लेनको सडक पनि साँघुरो लाग्न थालेको छ।

 

कुनै बेला नारायणघाट देशकै प्रमुख बजारका रूपमा परिचित थियो। पश्चिम पहाडको मुख्य व्यापारिक क्षेत्र नै नारायणघाट थियो। त्यतिखेरको नारायणघाटमा अहिलेजस्ता ठूला घरहरू थिएनन्। यतिविधि सहरीकरण भएको थिएन। राम्रा, फराकिला सडक थिएनन्। मान्छेहरू दिनभर पैदलयात्रा गरेर सामान किनमेल गर्न आउँथे।

केही व्यापारीले भारतसँग सिमाना जोडिएको ठोरी (हाल पर्सा जिल्लामा पर्छ) बाट सामान ल्याएर नारायणघाट (नारायणी नदीको किनार) मा बजार बसाएका थिए। यहाँका साना छाप्रा पसलहरूमा सामान किन्नेको ताँती लाग्थ्यो।

चन्द्रकुमार पिया २०१३ सालमा एक जना भरियालाई ३ हजार रूपैयाँ बोकाएर व्यापारका लागि तनहुँको बन्दिपुरबाट चितवन झरेका थिए।

‘त्यतिखेर नारायणी किनारमा दुई–चार वटा झुप्रा पसल देखेको थिएँ। जाडोका केही महिना नारायणी किनारमा व्यापार गरेपछि व्यापारीहरू औलोको डरले चितवन छाडेर आफ्ना गाउँ फर्कन्थे। सबैजसो व्यापारीहरू बन्दिपुरकै थिए,’ उनले सम्झिए।

नेपाली पैसा भैरहवा लगेर भारतीय पैसासँग साटेपछि त्यतैबाट रेल चढेर भारतको नरकटियागञ्ज हुँदै नेपालको ठोरी पुग्ने चलन थियो। त्यहाँसम्म भारतीय रेल आउँथ्यो। नेपालीले नुन, तेल, लत्ताकपडा किन्ने ठूलो व्यापारिक नाका थियो ठोरी। नेपालमा उत्पादन हुने कृषिउपजदेखि वन पैदवार पनि त्यही नाका भएर निर्यात हुन्थ्यो।

पैसा साट्न भैरहवा जान नपर्नेहरू त्रिशुली नदी तरेर एक रात चितवनको जंगलमा बिताएपछि अर्को रात जंगलै जंगलको बाटो हिँडेर ठोरी पुग्थे। घना जंगलमा वन्यजन्तुबाट खतरा हुने भएकाले एक–दुई जना मात्रै जान सम्भव हुन्थेन। ८०–९० जनाको समूह बनाएर हल्ला गर्दै जान्थे। ठोरीबाट माडी हुँदै नारायणघाटसम्म गाडा चल्ने बाटो थियो। फर्किँदा गाडालाई सामान बोकाएर यो बाटो आउँथे।

चन्द्रकुमार दुई दिन हिँडेर भैरहवा पुगे। नेपाली पैसालाई भारतीयसँग साटे। अनि रेल चढेर नरकटियाजञ्ज हुँदै ठोरी पुगे।

‘त्यहाँको व्यापारिक रमझमले मलाई त्यतै बसायो। दुई वर्ष गर्मीयाममा ठोरीमै व्यापार गरेर बसेँ। माघ लागेपछि गाडाभरि कपडा र किराना सामान लिएर नारायणघाट आउँथेँ। अनि छाप्रोमा राखेर बेच्थेँ,’ उनले भने।

वैशाखपछि औलोको डरले सबै व्यापारीले नारायणघाट छाड्थे। उनी पनि बन्दिपुर फर्किन्थे। गर्मी केही समयपछि फेरि ठोरी पुग्थे। चितवनमा औलो उन्मूलन कार्यक्रम प्रभावकारी बन्यो। चन्द्रकुमारले पनि नारायणघाटमा अरूलेजस्तै छाप्रो बनाएर नियमित व्यापार गर्न थाले।

नारायणघाटमा अहिले मुख्य बजार पूर्व–पश्चिम राजमार्गको बजारलाई मानिन्छ। त्यतिखेर नारायणीको किनारमा ढड्डीको बार लगाएर बनाइएका झुप्रा पसलहरू नै बजार थियो। त्यहाँ कोही थोकको व्यापार गर्थे, कोही खुद्राको।

चन्द्रकुमार खुद्रा व्यापार गर्थे। नारायणी किनारको बजार पछि लिलाचोकमा (हाल नारायणघाट देखि मुग्लिनतर्फ जाने सडकमा पर्छ) सर्‍यो। अहिले मुख्य बजार रहेको क्षेत्र जंगल नै थियो।‍

२००८ सालमा बन्दिपुर अदालतको बैदार भएका उनले गाउँ बाहिर सरूवा भएपछि दुई वर्षमै जागिर छाडेर भिनाजुसँग कपडाको व्यापार थालेका थिए। उनी कपडा बोकेर बिक्रीका लागि गाउँ गाउँ पुग्थे। त्यतिखेरको चिनजान नारायणघाटको व्यापारमा पनि काम लाग्यो। ठोरीबाट नारायणघाट आएपछि चन्द्रकुमारको व्यापार फस्टाउन थाल्यो।

चन्द्रकुमारले २०१५ सालतिर लिलाचोकमा ७ सय रूपैयाँमा जमिन किनेका थिए।

‘त्यहाँ इँटा र काठबाट पक्की घर बनाएँ। त्यो घर टिनले छाएको थियो। त्यतिखेर बजारमा त्यस्ता घर आधा दर्जनजति मात्रै थिए,’ चन्द्रकुमारले सुनाए, ‘मैले पक्की घरबाट व्यापार थालेँ। ठोरीबाट सामानको परिमाण बढाएर ल्याउन थालेँ।’

व्यापार गरेको पैसाले उनी र दुई भाइले अन्यत्र पनि १७ बिघाजति जमिन जोडेका थिए। पछि त्यो तीन भाग लाग्यो। चन्द्रकुमारले व्यापारको कमाइले ठाउँ ठाउँमा घडेरी पनि किनेका थिए।

उनी पसलबाट त सामान बेच्थे नै, आफै गाउँ गाउँ पनि पुग्थे।

चन्द्रकुमारको छिनछिनमा नारायण–नारायण भन्ने थेगो थियो। त्यसैले ग्राहकहरू पनि उनलाई नारायण साहु भनेर बोलाउँथे। सबैले यसै भन्न थालेपछि उनको पसलको नाम पनि ‘नारायण साहुको कपडा पसल’ रहन पुग्यो।

उनको त्यो पसल अहिले पनि त्यही ठाउँमा छ। पसलको आधिकारिक नाम सुरूमा ‘श्रीराम चन्द्रकुमार’ थियो। पछि उनले ‘महेन्द्र कुमार–ज्ञानेन्द्र कुमार कपडा पसल’ भनेर दर्ता गरे। तर ग्राहक त्यो नामले चिन्दैनन्, ‘नारायण साहुकै पसल’ खोज्दै आइपुग्छन्।

‘म भरियालाई कपडा बोकाएर तनहुँका गाउँ गाउँ पुग्थेँ। बास परेको ठाउँमा मित साइनो गाँसिहाल्थेँ। २६ जना त मित बनाएँ मैले,’ चन्द्रकुमारले हाँस्दै सुनाए, ‘यो साइनोले व्यापार बिस्तारमा धेरै सघायो।’

बिस्तारै उनी नारायणघाटमा चलेको कपडा व्यापारीका रूपमा चिनिन थाले। चाडपर्वका बेलामा त निकै व्यापार हुन्थ्यो।

करिब दस वर्षदेखि यो पसल अचेल उनका माइला छोरा ज्ञानेन्द्र कुमारले सम्हालिरहेका छन्।

‘मैले हेर्न छाड्दासम्म कहिलेकाहीँ दिनकै ४०–५० हजार रूपैयाँको कपडा बिक्थ्यो। पैसाले बाकस भरिन्थ्यो। अचेल पनि व्यापार भइरहेकै छ तर पैसा देख्न मुस्किल हुन थाल्यो,’ अघिल्तिर रहेको काठको बाकस देखाउँदै चन्द्रकुमारले भने, ‘आजभोलि मोबाइलबाट फोटो खिचेपछि पैसा सिधै बैंकमा पुग्ने रहेछ। मलाई त यो पैसा जस्तै नलाग्ने!’

उनलाई अचेल पैसाको महत्त्व घटेको छ भन्ने लाग्छ। उनका पालामा ५० हजार रूपैयाँको व्यापार गर्न धेरै कपडा बेच्नुपर्थ्यो। यो रकमको कारोबार हुनु भनेको ठूलो व्यापार थियो।

उनको पसलमा काम गर्ने मान्छे नै ३ जना थिए। प्रायः मोटा कपडा बिक्री हुन्थ्यो। कछाड, लुंगी, गुन्यूको कपडा गज (करिब एक मिटर) को दुई– तीन रूपैयाँमा बिक्थ्यो।

उनका केही जमिन त कपडा किन्नेले पैसाको सट्टामा दिएका हुन्। त्यो बेला ५–६ सय रूपैयाँमा एक बिघा खेत आउँथ्यो। तर उनको ध्याउन्न खेती–किसानीमा थिएन। त्यसैले जमिन जोड्नतिर खासै मन लगाएनन् र व्यापारमै ध्यान दिए।

‘अहिले जमिनको मूल्य बढेर किन्न सक्ने अवस्था छैन। यसरी बढ्छ भन्ने थाहा पाएको भए त कति किनेर राख्थेँ होला,’ उनले भने।

चन्द्रकुमारले गाउँ गाउँ पुगेर बनाएको सम्बन्धले दोस्रो पुस्तामा पनि काम गरिरहेको छ। पहिले कपडा किन्न बाबु आउँथे अचेल छोरा, छोरी आउँछन्। पहिले पसलमा ‘नारायण साहु’ बस्थे, अचेल छोरा ज्ञानेन्द्र कुमार भेटिन्छन्।

‘धेरै पुराना ग्राहक आउनुहुन्छ। पुरानो सम्बन्धका आधारमा उधारो कारोबार पनि धेरै गरिरहेका छौं,’ ज्ञानेन्द्रले भने, ‘बुबा अचेल काम गर्न सक्नुहुन्न तर पसलमा आउनेहरू अझै पनि उहाँलाई खोजिरहन्छन्।’

ज्ञानेन्द्रर नारायणघाट बजारको व्यापार विगतको जस्तो राम्रो हुन छाडेको बताउँछन्। २०१९ सालमा लिलाचोकमै जन्मिएका उनले सहरीकरण र विकासको तुलनामा व्यापार बढ्न नसकेको बताए।

उनले थाहा पाउँदा पनि मुख्य बजार लिलाचोक नै थियो। हालको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा दुई चार–वटा पसल मात्रै थिए। बिस्तारै लिलाचोकको बजारलाई राजमार्गका पसलहरूले जित्दै गए। पुरानो सम्बन्धका आधारमा व्यापार चलिरहे पनि सोचेजस्तो नभएको उनले बताए।

‘चाडपर्वको समयमा दैनिक ५० हजार रूपैयाँजतिको व्यापार हुन्छ। नभए कुनै दिन राम्रै हुन्छ, कहिले हुँदैन। उधारो पनि राम्रै जान्छ। नगद भन्दा क्युआर मार्फत पैसाति र्ने ग्राहक बढेका छन्,’ ज्ञानेन्द्रले भने, ‘नारायण साहुको कपडा पसलको बिँडो धान्न लागिपरेको छु।’

औलोको डरले बस्ती बस्न नसकेको चितवनमा २०१३ सालमा तत्कालीन राजा महेन्द्र शाहले आफैले ट्र्याक्टर चलाएर राप्ती दुन उपत्यका विकास योजनाको उद्घाटन गरेका थिए। त्यही साल भरतपुरमा विमानस्थल बनेको थियो।

हेटौंडा–नारायणघाट सडक निर्माणको सुरूआत पनि त्यसपछि नै भयो। २०१६ सालमा यो ट्र्याक निर्माण पूरा भएको थियो। नारायणघाटदेखि ठोरीसम्म गाडा चल्ने बाटो पहिल्यै थियो।

नारायणघाटको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म ६.०८ किलोमिटर पूर्व–पश्चिम राजमार्ग अहिले ६ लेनको बनेको छ। एक अर्ब १२ करोड रूपैयाँ खर्चिएर यो सडकको निर्माण गरिएको हो। यही साल वैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडक उद्घाटन गरेका थिए।

‘हाम्रो पालामा सडक थिएन, अरू विकास केही थिएन तर व्यापार खुब राम्रो थियो। अहिले चिल्ला सडक बने, ठूला घर बने, मान्छे पनि बढेको बढ्यै छन्, तर व्यापार सन्तोषजनक छैन,’ ९० वर्षीय चन्द्रकुमारले भने, ‘साँझपख यसो हिँड्न निस्किन्छु। गाडी र मान्छेको कोलाहल मात्रै देख्छु।’

नारायणी किनारका झुप्रा पसलबाट सुरू भएको चितवनको व्यापार करिब ७० वर्षको अवधिमा लिलाचोक, पुतली बजार, सहिदचोक, पुल्चोक हुँदै कुना–कुनासम्म फैलिएको छ। थारू, चेपाङ, बोटे, दराई, कुमाल सामुदायको मात्रै बसोबास रहेको ठाउँमा बन्दिपुरका नेवार समुदायले व्यापारको सुरूआत गरेका थिए। अहिले चितवन धेरै जिल्लाबाट बसाइ सरेर आउने ठाउँ बनेको छ।

जनसंख्या बढेपनि खपत गर्ने ठूलो संख्या बिदेसिएका कारण व्यवसाय सोचेजस्तो हुन नसकेको ज्ञानेन्द्र बताउँछन्।

‘मान्छेको ध्यान तयारी कपडातिर बढी जान थालेकाले पनि कच्चा कपडाको बिक्री कम भएको होला। तर व्यापार घटेको हाम्रोमा मात्रै होइन। सबैतिरको समस्या उही सुन्छु,’ उनले भने, ‘देशमै रोजगारीको व्यवस्था गरेर बिदेसिने क्रम घटाउन सके राम्रो हुन्थ्यो।’

चन्द्रकुमारका तीन छोरामध्ये ज्ञानेन्द्र मात्रै यो व्यवसायमा छन्। ज्ञानेन्द्रका एक छोरा, एक छोरी छन्। उनीहरू दुवैको कपडा व्यवसायमा रूचि छैन।

‘यो व्यवसाय झट्ट हेर्दा सजिलै लाग्न सक्छ, तर छैन। चौबिसै घण्टा खट्नुपर्छ। जोकोही टिक्नै सक्दैन। त्यसैले होला छोराछोरीले चासो दिँदैनन्,’ उनले भने, ‘आफ्नै घर भएकाले भाडा तिर्नुपर्दैन। त्यसैले घाटामा छैन। सक्दासम्म यही गर्छु होला।’सेतो पाटी बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...