Skip to main content

धनगढी न्यूज

नेकपाबाट राष्ट्रिय सभामा उम्मेदवारी दिन नपाएका घिमिरेलाई प्रश्न- किन बेलैमा आइपुग्नुभएन?

Advertisement

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम तय  थियो।

नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको अन्य क्लस्टरबाट उम्मेदवार बनाउने निर्णय गरेका संखुवासभाका नेता हेमराज घिमिरे निर्धारित समयभित्र विराटनगर आइपुग्न सकेनन्।

उनको मनोनयन दर्ता हुन नसकेपछि कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापाको एकल उम्मेदवारी परेको छ। यससँगै कोशी प्रदेशबाट अन्य क्लस्टरमा थापा निर्विरोध निर्वाचित हुने पक्का भएको छ।

राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गर्न बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तोकिएको थियो।

उक्त अवधिभित्र सो क्लस्टरमा थापाको मात्रै मनोनयन दर्ता भएको कोशी प्रदेश निर्वाचन कार्यालय प्रमुख चोलराज दंगालले जानकारी दिए।

उक्त क्लस्टरमा नेकपाले संखुवासभाका हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो। तर उनी संखुवासभाबाट समयमै हिँड्न नसक्दा मनोनयन दर्ता हुन सकेन। घिमिरे पूर्वएकीकृत समाजवादीका नेता हुन्।

उनी किन बेलैमा मनोनयन दर्ता गर्न आइपुग्न सकेनन्?  यसबारे सेतोपाटीले उनीसँग गरेको कुराकानीको सम्पादित अंश:

 अहिले कहाँ हुनुहुन्छ तपाईं? 

नमस्ते। म अहिले इटहरीमा छु।

अनि नेकपाले तपाईंलाई  राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो। तपाईंको उम्मेदवारी किन दर्ता हुन सकेन? 

केन्द्रबाट निर्णयको खबर निकै ढिलो आयो। म त्यसबेला संखुवासभाको खाँदबारीमै थिएँ। खबर आउँदा करिब साढे ११ बजिसकेको थियो।

बिहान तपाईंलाई तयारी गर्नुस् भनेर पहिलो पटक कसले खबर गरेको थियो? 

बिहान हाम्रो पार्टीतर्फबाट नेकपा एसकी प्रदेश अध्यक्ष सरिता खड्काले खबर गर्नुभएको थियो।

उहाँबाट कतिबेला के खबर आएको थियो त? 

मेरो राष्ट्रियसभाको टिकट आएको भन्ने अपुष्ट खबर उहाँहरूले पाउनुभएको रहेछ। त्यही खबर आएको भन्दै मलाई जानकारी दिनुभयो।

यो कति बेलाको कुरा हो? 

उहाँले करिब साढे १०  बजेतिर मलाई फोन गर्नुभयो। मैले  ‘ल, म निस्किन्छु’ भनेँ। फोन गर्दै–गर्दै म घरबाट निस्किसकेको थिएँ। उहाँसँग  ११ बजे मात्रै राम्रोसँग कुराकानी हुन पायो। तपाईंको निर्णय भयो भन्नुभयो।

त्यसपछि तुरून्त हिँड्नुभयो कि के गर्नुभयो? 

हो, खबर पाउनेबित्तिकै दौडिएँ। गाडी रिजर्भ गरेर निस्किएँ, तर तीन बजेसम्म विराटनगर आइपुग्न सकिनँ।

तीन बजे कहाँसम्म आइपुग्नुभएको थियो? 

तीन बज्दा धरान मात्रै आइपुगेको थिएँ।

अनि वारेसमार्फत मनोनयन दर्ता गर्न नमिल्ने रहेछ? 

सबै कागजात वारेसमार्फत पठाएको थिएँ, तर निर्वाचन कार्यालयले उम्मेदवार स्वयं उपस्थित हुनैपर्ने नियम रहेको बताएछ।

पार्टी केन्द्रले किन ढिलो निर्णय गर्‍यो जस्तो लाग्छ? 

हिजोसम्म निर्णय हुन सकेको थिएन। आज बिहान मात्रै टुंगिएको हो। १७ दलबीच सहमति मिलाउनु परेकाले निर्णय ढिलो भयो।

यसले तपाईंको एउटा अवसर गुम्यो भन्ने लाग्दैन?

अवसर त गुम्यो नै। राम्रो प्रतिस्पर्धा हुने देखिन्थ्यो। तर अब जे भयो भयो।

तपाईं अहिले पार्टीको कुन जिम्मेवारीमा हुनुहुन्छ?

म पार्टीको केन्द्रीय सदस्य हुँ।

यसअघि जनप्रतिनिधि बन्नुभएको अनुभव पनि छ? 

छ। पञ्चायतकालमै जनपक्षीय सभापति थिएँ। त्यसपछि गाउँ पञ्चायतको वडा अध्यक्ष भएँ। २०४९ र २०५४ मा वडा अध्यक्ष र २०५४ मा जिविसको उपसभापति पनि भएँ।

म दोस्रो संविधान सभाको उम्मेदवार थिएँ। म तारामान गुरूङसँग १३२ मतले पराजित भएको हुँ।

अहिले तपाईंको उमेर कति भयो? 

करिब ५९ वर्ष भयो।

अब विराटनगर आउनुहुन्छ कि फर्किनुहुन्छ? 

म अहिले विराटनगरतर्फ नै आउँदै छु।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...