धनगढी न्यूज

जोगबुढा र दैजी जोड्ने सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता

डडेलधुरा: डडेलधुराको जोगबुढा र कञ्चनपुरको दैजी जोड्ने सडक खण्डको चुरेमा सडक मर्मत नहुँदा भित्री मधेशका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

जोगबुढाको अन्तिम पहाड न्वालीडाँडाबाट दैजी क्षेत्र देखिन्छ। आँखैअगाडि देखिने दैजी पुग्न अहिले त्यति सहज छैन। यस क्षेत्रको करिब चार किलोमिटर पार गर्न घन्टौँ लाग्छ भने यात्रुवाहक जिप हिलोमा फस्दा डोरीले तान्ने र पछाडिबाट धकेल्नुपर्ने अवस्था रहेको छ। चुरे पहाडको भिरालो सतहको हिलोमा फसेको गाडी तान्दै, धकेल्दै यात्रा गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ।

जोगबुढाबाट दैजीसम्मको दुरी करिब ८० किलोमिटर छ तर जोगबुढाबाट–बुडर–अत्तरिया हुँदै दैजी पुग्नु परे १३५ किमी दुरी पार गर्नु पर्दछ। करिब आधा छोटो सडक पर्ने भएकाले जोगबुढा क्षेत्रका बासिन्दा महेन्द्रनगरलगायत धनगढीको यात्रा यही सडकबाट गर्ने गर्दछन्।

सुदूरपश्चिम प्रदेशको गौरवको योजनामा पर्ने दैजी–जोगबुढा–डडेलधुरा सडक सुधारका लागि आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारले ३० करोड रुपियाँ विनियोजन गरेको थियो तर सो बजेट कार्यान्वयन नगरिँदा फिर्ता भएको छ तर सडक डिभिजन कुलपातेका कार्यालय प्रमुख रमेश भट्टराई भन्छन्, ‘कुलपाते डिभिजनले कञ्चनपुर डिभिजनलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्दा विनियोजित रकम फिर्ता भएको हो ’।

सो बजेट डडेलधुरा सडक आयोजना अन्तर्गत डोटीको कुलपातेमा रहेको सडक डिभिजन कार्यालयलाई जिम्मा दिइएको थियो तर प्रदेश सरकारले यो सडकलाई ‘प्रदेश गौरवको योजना’ घोषणा गरिसकेकाले सङ्घीय सरकारको काम गर्ने दायरा सीमित बन्यो। दैजी–गाईबाँधे–जोगबुढा–सलोन–चिकिट्टे–आइत–कीर्तिपुर–पोखरा–बेलापुर नाम दिइएको यो सडकलाई बझाङ जिल्ला भएर चीनसँग जोड्ने योजना प्रदेश सरकारको रहेको छ।

यसको दैजी–बेतकोट खण्ड कालोपत्रे भइसकेको छ। अगाडि पनि काम बढाउने योजना छ। यसै गरी जोगबुढा–गाईबाँधे सडकखण्ड कालोपत्रे भइसकेको छ भने गाईबाँधे–न्वाली खण्ड पनि कालोपत्रे हुँदै छ। दुईतिरबाट दुई वटा फरक फरक टेन्डरबाट काम हुँदै छन तर समयमा काम भने भएको छैन।   दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×