
यो ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालको कुरा हो । कतिलाई लाग्न सक्छ- एकै फिल्मबाट पो उनी रातारात स्टार भएका हुन् कि ? होइन, यसको पछाडि थिएटरमा बिताएका १७ वर्षको संघर्षको कथा छ । साथै, कैयौं फिल्ममा सहायक पात्रको रुपमा काम गरेको अनुभव छ ।
घरपरिवारदेखि छरछिमेकीसम्मले आफूलाई थिएटरमा लाग्दा ‘उडाएको’ तितो अनुभव पनि छ विजयसँग ।

‘बुवा बैंकमा जागिरे हुनुहुन्थ्यो, तर म थिएटरमा लागेपछि घरबाट पैसा लिन छोडेँ । दसैँमा घर जाँदा साथीको बाइकमा जान्थेँ, उसैले पैसा दिन्थ्यो, अर्को साथीले कपडा किनिदिन्थ्यो,’ रातोपाटीसँग विजय खुले, ‘बुवाले त्यो साथीसँग एउटा औंठी मागेर लगा न, त्यसले त कमाइरहेको छ भन्नुहुन्थ्यो । समाजले पनि हाम्रो हिरो राजेश हमाल भनेर उडाउँथ्यो ।‘ तर कलाकारिता यात्रामा लाग्दा यी कुराले उनी कहिल्यै विचलित भएनन् ।
थिएटरमा धेरै नाटक गरिसकेपछि उनलाई फिल्ममा ‘ब्रेक’ मिल्यो । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’मा उनले दयाहाङ राईको साथी बनेर गरेको अभिनयपछि उनी ‘नोटिस्ड’ भए । यस फिल्मपछि उनको अभिनयको प्रशंसा र चर्चा निकै भयो ।
सहायक भूमिकामा आफ्नो अभिनयको जादुले दर्शकलाई बाँध्न सफल भइरहेका बेला ‘पूर्णबहादुरको सारङ्गी’मा शीर्ष भूमिका गर्ने मौका पायो । त्यसपछि उनको जीवनमा नसोचेको कुरा भइदियो । ठिकठिकै गर्ला भनेर सोचेको फिल्मले नेपाली बक्स अफिसमा ५० करोड हाराहारीमा कमाइ गर्यो ।
‘ती संघर्षका दिन र साथीभाइको मायाले नै आज म यहाँ छु । मेरा ती साथीहरू आज विजय बराल मेरो साथी हो भन्दा गर्व गर्छन्, मेरो लागि त्योभन्दा ठूलो उपलब्धि के हुनसक्छ र’ विजय भन्छन् ।

विजयले ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मनमा अमिट छाप पनि छोडे । यससँगै उनलाई चुनौती पनि थपियो, त्यो भन्दा राम्रो काम गर्नुपर्ने । दर्शकहरु उनको अघिल्लो फिल्मको व्यग्र प्रतीक्षामा देखिन्छन् । प्रतीक्षाको घडी आगामी शुक्रबार अर्थात् भदौ ६ मा सकिँदैछ । त्यो मितिमा उनको शीर्ष भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे’ प्रदर्शन हुँदैछ ।
विजयको मन बेचैन छ यतिबेला । ‘पूर्णबहादुरको सारङ्गी’ले बनाएको उचाइलाई कायम राख्न सकिएला कि तल झरिएला भन्ने कुरा मनमा खेलिरहेका छन् । यो फिल्म उनका लागि केवल अर्को प्रोजेक्ट होइन, आफ्नो करिअरलाई नयाँ दिशा दिने अग्निपरीक्षा पनि हो । जसलाई सफल बनाउन उनी हिजोआज प्रचारप्रसारको दौडधुपमा व्यस्त छन् ।
‘म एक किसिमले भाग्यमानी कलाकार पनि हो । मलाई राम्रा मिडियाकर्मी दाजु-दिदी र साथीहरुले पहिलेदेखि नै साथ दिँदै आउनुभएको छ,’ उनी भन्छन्, ‘अहिले पनि उहाँहरुकै साथले अगाडि बढिरहेको छु ।‘
त्यसो त प्रचारले मात्र फिल्म चल्दैन भन्ने उनलाई थाहा छ । दर्शकले आफूबाट राख्ने अपेक्षा पूरा गर्न सक्नुपर्छ भन्नेमा उनी सचेत छन् । त्यसैले टिमसँग बसेर कसरी अझै राम्रो गर्न सकिन्छ भनेर आइडिया सेयर गरिरहेका छन् ।
‘मेरो चाहना फिल्मले धेरै कमाओस् भन्ने मात्र होइन, हेर्ने दर्शकको चित्त नदुखोस् र एउटा राम्रो फिल्म हेरेँ भन्ने महसुस होस् भन्ने हो,’ उनी भन्छन् । फिल्ममा उनी ‘सीताराम’ भन्ने पात्रको भूमिकामा छन्, जसले सपना देख्छ र त्यो सपनासँगै हिँड्दै गर्दा विभिन्न सम्बन्धहरू भेट्छ ।
‘यो चरित्र मेरो वास्तविक जीवनसँग पनि केही हदसम्म मिल्छ,’ पात्रबारे विजय सुनाउँछन्, ‘म पनि सपना देखेर काठमाडौँ आएको मान्छे र ब्राह्मण समुदायकै भएकाले चरित्रमा घुलमिल हुन सजिलो भयो ।’

- उल्टो चरित्र
‘पूर्णबहादुरको सारङ्गी’ भन्दा यसमा उनको भूमिका ठीक उल्टो छ । अर्थात् ‘पूर्णबहादुरको सारङ्गी’मा उनले बुबाको भूमिका निभाए भने यसमा छोराको भूमिकामा छन् ।
‘एउटा सफल फिल्मपछि कलाकारलाई उस्तै खालको भूमिकाको अफर बढी आउँछ, तर मैले फरक भूमिका पाएँ,’ विजय भन्छन्, ‘यो फिल्ममा सम्बन्धका विभिन्न पत्रहरू छन्, जसरी जनैमा ६ वटा धागाका पत्र हुन्छन् । सम्बन्धका ६ पत्रले कहिले हँसाउँछ, कहिले रुवाउँछ त कहिले पुराना दिनहरूको याद दिलाउँछ ।’
यो फिल्म मुख्य भूमिकामा विजयको दोस्रो फिल्म हो । ‘प्रमुख पात्र भएपछि फिल्म चलाउनुपर्छ भन्ने जिम्मेवारी, तीन करोडको लगानीजस्ता कुराले कहिलेकाहीँ भार महसुस गराउँछ । तर मैले चरित्रमा केन्द्रित भएर आफ्नो काम इमान्दारीपूर्वक गरेको छु,’ उनी भन्छन् ।
- मनमा डर पनि
‘पूर्णबहादुरको सारङ्गी’पछि विजयलाई आफ्नो फिल्म लिन निर्माता-निर्देशकको लाइन छ । दैनिक २-४ वटा नयाँ फिल्मको कथा उनले सुनेकै हुन्छन् ।
अहिले उनलाई कुन फिल्म छान्ने भन्ने ठुलो सकस छ । कारण, स्क्रिप्ट पढ्न समय लाग्छ, तर सबै निर्मातालाई छिटो निर्णय चाहिएको हुन्छ ।

‘म एउटै समयमा विभिन्न काममा व्यस्त हुन्छु । जस्तै- मण्डला थिएटरको काम, अरू फिल्मको डबिङ वा रिलिज, अनि मेरो व्यक्तिगत जीवन,’ विजय भन्छन्, ‘त्यसैले सबै स्क्रिप्ट पढेर छिट्टै जवाफ दिन गाह्रो हुन्छ । कथाको सार सुनेर, त्यसले मन छोयो भने मात्रै अगाडि बढ्ने गरेको छु ।’
फिल्मको अफर धेरै आउँदा खुसी छन् उनी । किनकि जीवनमा उनले चाहेकै यही थियो । तर कहिलेकाहीँ उनलाई डर पनि लाग्छ- धेरै फिल्म खेल्दा दर्शकलाई एकैनासको लाग्ने त होइन ? अर्को कुरा कामलाई न्याय दिन सकुँला कि नसकुँला भन्नेमा पनि छ । यो दबाबका बीच पनि खुसी छन् उनी । ‘प्रमुख वा सहायक जुनसुकै भूमिका होस्, तर त्यो विशेष होस्,’ उनी चाहन्छन् ।
नेपाली फिल्म क्षेत्रमा फिल्म चल्यो भने आफू जस लिने र चलेन भने कलाकारलाई दोष दिने निर्माता-निर्देशक बग्रेल्ती छन् । यो कुराले भने उनलाई डर लागिरहन्छ ।
‘पूर्णबहादुरको सारङ्गी त झोकमा चलेको थियो भन्ने कुरा आउन सक्छ,’ उनी आफैँलाई ‘कन्भिस’ गराउँदै भन्छन्, ‘सहजै समाधान निकालें, समाज यही हो, र म यसलाई सहज रूपमा स्वीकार्न तयार छु । किनभने मैले थिएटरमा यही सन्तुलन सिक्नकै लागि त यत्रो अभ्यास गरेको हुँ ।’
पछिल्लो समय कलाकारले लिने पारिश्रमिकको चर्चा निकै हुने गरेको छ । विजय यस कुरालाई गोप्य हुनुपर्ने सोच राख्छन् । कलाकारको चर्चा पारिश्रमिकले होइन, उसको कलाले हुनुपर्ने उनी मान्यता राख्छन् । ‘हामी व्यवसायी होइनौँ । मसँग धेरै पैसा हुँदो हो त म कला क्षेत्रमा किन हुन्थेँ र ? कलाले मलाई नाम दियो, अब बल्ल दाम दिन थालेको छ,’ उनी भन्छन्, ‘मैले १७ वर्षको संघर्षपछि बल्ल पैसा कमाउन थालेको हुँ। त्यसैले म आफ्नो काम एक्सन र कटबिचमा देखाउन चाहन्छु, पारिश्रमिकको चर्चामा होइन ।’रातो पाटी बाट साभार






