धनगढी न्यूज

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

कञ्चनपुरः  साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन्। धानका गाँजा हरिया भएका छन्। खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन। “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरीले भने,“भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनि बताउँछन्। वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ ।

थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ। यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ।  साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै हुन्छ। खाने लायक भेंम्टीको खोजी। भेंम्टीको तरकारी निकै स्वादिलो हुने भएकाले वन क्षेत्रबाट नखोजी घरै नफर्कने भोंसुवा चौधरीले बताए। “हामीलाई थाहा हुन्छ”  किसान चौधरीले भने,“कुन च्याउ(भेंम्टी) विषालु हो र कुन खान मिल्ने, खान मिल्ने च्याउ मात्रै टिप्छौं ।” पूर्खौ देखि खान योग्य र अयोग्य च्याउको पहिचान गर्न थारुलाई आउने गरेको उनले बताए।

उनका अनुसार साउन महिनाको भेंम्टी सानो टुप्पो भएको, लामो जरासहितको हुन्छ। भदौ असोजतिर टाउको ठूलो, जरा अझ लामो। “कहिलेकाहीँ त एक हातसम्म लामो जरा भएको च्याउ पनि भेटिन्छ” चौधरीले भने। कात्तिकमा चाहिँ भेंम्टी सानो प्रजातीको हुन्छ, यसलाई ‘कटकी’ भनिन्छ। वर्षातमा पाइने भेंम्टी एकै ठाउमा धेरै पाइन्छ। “वनका सबै ठाउमा भेंम्टी पाईदैन” ६८ वर्षीय परदेशी डगौराले भने, “कुन कुन ठाउमा भेंम्टी पाईन्छ, कुन बेला पाईन्छ, त्यो कुरा बुढापाकाहरुलाई र उनिहरको संगत गर्नेहरुलाई मात्रै थाहा हुन्छ,।” “यो वर्ष जुन ठाउमा भेंम्टी पाईयो, अर्को वर्ष पनि त्यही ठाउमा भेंम्टी पाईन्छ, ठाउ चिन्न सक्नु परयो, विशेष गरी भेंम्टी औसी र पूर्णिमाका दिन उर्मिने गरेको बुढापाकाहरुबाट सुनेको छु” उनले भने। उनका अनुसार भेंम्टी च्याउको तरकारी खाने व्यक्तिलाई पेट सम्बन्धी रोगहरु र उच्चरक्तचापबाट छुटकारा पाईन्छ। विशेष गरी यो च्याउ विशेष गरी धमिराले बनाएका पुराना माटोको ढिस्को नजिक पाईन्छन।

थारु समुदायको परम्परा अनुसार, भेंम्टी केवल वनबाट टिप्ने वस्तु मात्र होइन, यो त चाडपर्वका बेला पाहुनालाई पस्कीने विशेष परिकार पनि हो ।

दशैं, अष्टम्की जस्ता पर्वहरूमा पाहुनाहरुका लागि भेंम्टीको सुकुटी र माछा मिसाएर बनाइने स्वादिलो परिकारका दाल, भात, र मासु संगै पस्कीने गरिन्छ ।“भेंम्टी थोरै मात्रामा खाए औषधि, धेरै खाए रोग,” अनुभवी थारुहरू भन्नुहुन्छ, “धेरै भेंम्टीको तरकारी खाए यसले पखाला लगाउछ, सन्तुलन मिलाएर खाएमा यसले पेटमा हुने अपचलाई ठिक गर्दछ।”

सही भेंम्टी छुट्याउने कला थारु समुदायमा पीढी दर पीढी सर्दै आएको छ । थारु समुदायका बुढापाकाहरुका अनुसार खाने च्याउ गहिरो जरा भएको, समूहमा उम्रिएको, टिप्दा सजिलै नटुट्ने हुन्छ। “नखाने च्याउ सानो जरा भएको टुट्ने बित्तिकै टुक्रिने, र अलिक फरक रंगको हुन्छ, देख्ने बित्तिकै थारु आँखाले चिनिहाल्छ” चौधरी भन्नुहुन्छ ।च्याउमा प्रोटिन, खनिज र भिटामिन हुन्छ । बोसोको मात्रा निकै न्यून हुने भएकाले पचाउनका लागि सहज हुने उहाँको भनाई रहेको छ।  “थारु समुदायले प्राचिन काल देखिनै च्याउलाई तरकारीका रुपमा पकाएर खान थालेका हुन” उहाँले भन्नुभयो, “अहिले पनि जारी राखेका छन, वन क्षेत्र संरक्षण गरिदा भने सहज रुपमा च्याउ टिप्न पाइने गरेको भने छैन, वन छिर्न झन्झट हुन थालेपछि नयाँ पिढीले भेंम्टी टिप्न छाडदै गएका छन।”दिनेश खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×