
कैलालीको धनगढीस्थित एसपीए कलेजद्धारा आयोजना गरिएको ‘सेसन विथ सन्दीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सिलिङका लागि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख योगराज गौतमले सन्दीप क्षेत्री जस्तो बहुआयामिक व्यक्तित्वलाई स्वागत गर्न पाउनु तथा विद्यार्थीमाझ प्रस्तुत गराउन पाउनु आफैमा गौरवको कुरा भएको बताए ।
कार्यक्रममा वक्ता एवम् प्रस्तोताका रुपमा ख्यातिप्राप्त कमेडियन , टिभी प्रस्तोता तथा प्रेरणादायी वक्ता सन्दीप क्षेत्री रहनुभएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले उत्साहजनक रुपमा कमेडी तथा प्रेरक प्रस्तुतीमा सहभागिता जनाएका छन् । जहाँसुकै जुन विषय पढे पनि आत्मप्रेरित भई अनुशासनको पालना गरेमा सफलताको नजिक पुगिने क्षेत्रीले बताए ।

धनगढी लगायत आईबिआरडी , अत्तरिया , गुलरिया , स्याउलेबजार लगायतका क्षेत्रबाट उल्लेख्य रुपमा १५०० बढी विद्यार्थीहरु उक्त सेमिनारमा सहभागी भएका छन् । उक्त कार्यक्रममा आफ्ना विद्यार्थी पठाएर सहयोग गर्नुहुने ब्रिजकोर्ष तथा कम्प्युटर इन्स्टिच्युटलाई धन्यवाद व्यक्त गर्दै सबैप्रति आभारी रहेको क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले जनाएका छन् ।

यसैवीच , आज नेपाल राष्टिय क्रिकेट टिमकी क्रिकेट खेलाडी तथा एसपीए कलेजकी भूतपूर्व विद्यार्थी कविता कुँवरलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ । कायक्रममा बोल्दै कुँवरले आफूलाई कलेजले खेलप्रतिको अभिरुचीमा वृद्धि गर्ने एउटा वातावरण सिर्जना गरेकोले आज यो ठाउँमा रहेको बताइन् ।
साथै , सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्येबाट तीन जना भाग्यशाली विद्यार्थीलाई ७५% का दरले छात्रवृत्ति पनि घोषणा गरिएको क्याम्पसले जनाएको छ । कक्षा ११ मा सबैजसो संकाय र विषय पढाइ हुने क्याम्पसमा विभिन्न विद्यामा आर्कषक छात्रवृत्ति रहेको समेत क्याम्पसले जनाएको छ ।






