तीन महिनादेखि दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियामा तालाबन्दी हुँदा किसानको दूधको भुक्तानी रोकिएपछि सहकारी र कृषि फर्महरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष सहजीकरणका लागि ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार किसानबाट दूध सङ्कलन गर्दै आएका सहकारीहरूले सिडिओ कृष्ण प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाउँदै २०८१ माघयता रोकिएको भुक्तानी तत्काल उपलब्ध गराइदिन माग गरेका थिए । किसानलाई भुक्तानी गर्न नसक्दा आन्दोलनको स्थिति उत्पन्न भएको भन्दै उनीहरूले तत्काल पहल गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपछि सिडिओ लम्साल सरोकारवालासँगै बन्द रहेको डीडीसी कार्यालय पुगेका थिए । सडकमै बसेर भएको छलफलमा उनले कार्यालय प्रमुखलाई किसानलाई तत्काल भुक्तानी गर्ने निर्देशन दिए । आवश्यक सुरक्षा व्यवस्थाको आश्वासन दिँदै उनले तोकिएको समयसीमाभित्र रकम उपलब्ध गराउनुपर्ने स्पष्ट पारे ।
डीडीसी कार्यालय प्रमुख निरञ्जन भट्टराईले केही रकम तत्काल दिन सकिने भए पनि बाँकी भुक्तानी सहकारीसँग छलफल गरेर मात्र सम्भव हुने बताए । उनले कार्यालय बन्द भएकाले पुरानो भुक्तानी अड्किएको स्पष्ट पारे ।
गोदावरी नगरप्रमुख वीरेन्द्र भट्टले डीडीसीका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउन तयारी गरे पनि संस्थानले धनगढी सार्ने अडानका कारण समस्या चर्किएको आरोप लगाए । उनले अत्तरियामै रहने प्रतिबद्धता भए विवाद अन्त्य हुने दाबीसमेत गरे । छलफलका क्रममा नगरप्रमुख र कार्यालय प्रमुखबीच चर्काचर्कीसमेत भएको थियो ।
जेठ ८ गतेदेखि स्थानीयले तालाबन्दी गरेपछि डीडीसीको प्रशासनिक काम ठप्प भएको छ । गोदावरी नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवेदन बुझाए पनि डीडीसीले जवाफ नदिँदा समस्या लम्बिएको स्थानीय तहले जनाएको छ । लामो समयको तालाबन्दीका कारण किसानहरू भुक्तानी नपाएर मारमा परेका छन् ।धनगढी खबर बाट साभार






