बच्चाहरुलाई ललाई फकाइ गरेर कानमा लगाएकोे सुनका मुन्द्रा लुट्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिका १ नैनादेवि टोलका स्थानीय त्रसित भएका छन्

कैलाली । बच्चाहरुलाई ललाई फकाइ गरेर कानमा लगाएकोे सुनका मुन्द्रा लुट्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिका १ नैनादेवि टोलका स्थानीय त्रसित भएका छन् ।
बच्चाहरुलाई फकाउने र आफुसँग नजिक बनाएपछि एकान्तमा लगेर कानमा लगाएको सुन लुट्ने गरेको घटना बाहिरिएको हो । लुटेराहरु घरमा नजिक आउने, होटलमा चिया खाने बाहनामा बच्चासँग नजिक हुने र बच्चालाई अम्भा, फलफूल दिने र कानमा किरा छ भनेर लगाएका सुनका मुन्द्रा लुट्ने, नयाँ शैली सार्वजनिक भएको छ ।

साना बालबालिकालाई ललाई फकाई, विभिन्न डरत्रास देखाएर कानमा लगाएका सुनको मुन्द्रा चोरी हुने गरेको मौखिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी एवं प्रवक्ता राजकुमार सिंहले जानकारी दिए। उनले चोरी गर्ने व्यक्तीको हुलिया थाहा नहुदा र सिसि टिभी क्यामरा उक्त क्षेत्रमा नभएको कारणले खोजी गर्न गाह्रो भएको बताए ।
धनगढी बजार आसपास क्षेत्रबाट बच्चाहरुसँग नजिकभएर बालबालिकाकाले लगाएको कानको मुद्रा लुटेर छाडिदिने गरेको धनगढी उपमहानगरपालिका १ नैनादेवि टोलका स्थानीय बिस्ना साउँदले बताइन् ।

उनले ३ दिन पहिले घर नजिकै आफ्नो ६ बर्षको छोरालाई कानमा किरा पसेको छ निकालि दिने भन्दै अम्भा दिएर सुनको मुन्द्रा चोरेर लगेको बताए । उनको मात्र होईन पछिल्लो समयमा धनगढी वडा नम्बर १ नैनादेवी टोलमा मात्र ७ वटा बच्चाको कानको मुन्द्रा र बाली चोरी भएको छ ।
पछिल्लो समययता धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रस्त बन्दै गएका छन् । बालबालिकालाई काखमा लिएर फकाउने, विस्कुट दिने तथा गुलियो चकलेट दिएर फकाई गर्ने गरेका छन् ।
स्थानीयहरुले कानको मुन्द्रा र सुनका बालिहरु चोरीका घटना एक पछि अर्को बढ्न थालेपछि अपहरण नै गर्छ कि भनेर डर त्रासले बच्चाहरुलाई लगाएका सुनका बालि र मुन्द्रा निकालेर राखेको स्थानीय पुष्पा धामीले बताइन् ।
बालबालिकाहरुलाई फकाउँदै सुनका मुन्द्रा चोरी भएपछि स्थानीयले प्रहरीमा खबर समेत गरेका छन् । तर समयमै चोरीबारे प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले चासो नदिएको स्थानीयको आरोप छ ।
एक हप्ताको अवधिमा एउटै टोलमा ७ जना बालबालिकाको कानको मुन्द्रा र हातमा लगाएका बालीहरु चोरी भएका हो । आठ वर्षीया रितु सापकोटाको कानमा लगाएको मुन्द्रा त्यहि शैलीमा चोरि भएको थियो ।
सुरक्षा निकायले उपमहानगरपालिकाका मुख्य स्थानमा मात्रै काम गर्ने गरेको पाइए पनि सडकका भित्री गल्लीमा भने दिनप्रतिदिन चोरीका घटना हुन थालेका र रातिको समयमा प्रहरीको गस्ती पनि निकै फितलो हुन थालेपछि दैनिकजसो चोरी बढ्न थालेको छ ।
दिन दहाडै र रातीको समयमा पनि चोरी बढेको भन्दै स्थानीयले शान्ति सुरक्षाको माग समेत गरेका छन् । धनगढी मुख्य बजारबाट र जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक किलोमिटरभन्दा कम दूरीमा रहेको वडा नं। १ नैनादेवी टोलमा नँया शैलीमा दिनदहाडै चोरीका घटना बढ्न थालेपछि स्थानीय चिन्तित भएका छन् । धनगढी खबर बाट साभार






