धनगढी न्यूज

प्रलेसको ७२औँ स्थापना दिवस सम्पन्न

काठमाडौँ । ‘विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तथा नेपालको बाम आन्दोलन पनि टुट फुटको अवस्थाबाट अगाडि बढिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ, एकताको दिशामा क्रियाशील भइरहनु गौरवको कुरा भएको’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीले बताउनुभयो । सङ्घको ७२औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कारको उद्घाटन मन्तव्यमा वहाँले सो धारणा राख्नुभएको हो । 

आश्विन ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको स्थापना दिवसमा मन्त्री किराँतीले, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन नभएकाले पटक–पटक असफल भएको’ बताउनुभयो– ‘नेपाली समाज भनेको माटो र विचार भनेको जरा हो, त्यसैले नेपाली माटोमा आधारित समाजवाद आवश्यक छ ।’ 

समाजवादी संस्कृतिको अभ्यासको आवश्यकतामाथि जोड दिँदै मन्त्री किराँतीले, ‘समुन्द्रपारिको समाजवादको मात्र वकालत गर्नुभन्दा आफ्नै देश तथा परिवेश अनुसार समाजवादी संस्कृतिको अभ्यास गरिनुपर्ने’ बताउनुभयो– ‘परम्परागत संस्कृतिलाई ऊर्जा तथा विकास तथा त्यसको पुनर्गठित गर्नु पनि समाजवादी अभ्यास हो ।’ 

विभिन्न प्रतिष्ठानहरूको गठन गरेर विकृति बढ्दै गएको बताउँदै मन्त्री किराँतीले ‘नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञिक थलो भए पनि त्यहाँ कुनै उत्साह र उमङ्ग नभएको त्यसैले उनीहरू धन्यवादको पात्र नभएको’ बताउनुभयो ।  

स्थापना दिवसको अवसरमा विभिन्न चार विधामा प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसरी सम्मानित हुनेहरूमा रु.२५,१०० राशिसहित प्रलेस श्यामप्रसाद स्मृति पुरस्कारबाट कुन्ता शर्मा, रु.२०,१०० राशिसहित प्रलेस प्रतिभा पुरस्कारबाट नरेश भण्डारी, रु.१०,१०० राशिसहित प्रलेस बाल साहित्य पुरस्कारबाट प्रा.डा. कपिल लामिछाने र रु.१०,१०० राशिसहित प्रलेस युवा पुरस्कारबाट गुरुप्रसाद कुमाल ‘बुलबुल’लाई सम्मानित गरिएको थियो । सोही अवसरमा अन्तरवार्ता विशेषाङ्क, प्रलेस २८ समेत प्रमुख अतिथि मन्त्री किराँतीबाट विमोचित गरिएको थियो । 

सङ्घका अध्यक्ष डा.मधुसूदन अधिकारीको अध्यक्षता, उप–महासचिव बालमुकुलन्द कार्कीको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा उपाध्यक्ष नमुना शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । 

स्थापना दिवसको अवसरमा उपाध्यक्ष समीर सिंहले स्रष्टा परिचय र सचिवालय सदस्य डा.कौशीला रिसालले विमोचित विशेषाङ्कको परिचय राख्नुभएको थियो । 

कार्यक्रममा पुरस्कार छनोट प्रक्रियाबारे पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा.जीवेन्द्रदेव गिरी तथा शुभकामना मन्तव्य पूर्व अध्यक्ष मातृका पोखरेलले राख्नुभएको थियो । 

कार्यक्रममा जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी तथा रक्तिम सांस्कृतिक अभियानका इन्चार्ज रामप्रकाश पुरीको समेत आतिथ्य थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×