धनगढी न्यूज

सशस्त्र युद्धपछि राजनीतिमा पछाडि परेकी सकिनाको पुनरागमन, नेकपाको समानुपातिक सूचीमा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक सूचीमा नवीन अनुहार समेटेको छ।

गत पुस १४ गते बुझाएको समानुपातिक बन्दसूचीमा यसअघि जिम्मेवारी नपाएकाहरू मात्र होइनन्, सशस्त्र द्वन्द्वमा सामेल भए पनि अवसर नपाएका सीमान्त अनुहार पनि समेटिएका छन्।

तिनैमध्ये हुन् — सकिना मुस्लिम (कौशर जहाँ)।

उनी २०५८ देखि २०६३ सालसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र संघर्षताका छापामार थिइन्। त्यति बेला उनको नाम रविना खान थियो। सशस्त्र द्वन्द्वभरि उनी यही नामबाट चिनिइन्।

तत्कालीन अगुवा किरण डिसीले उनलाई माओवादी आन्दोलनमा समाहित हुन उत्प्रेरित गरेका थिए।

कपिलवस्तुमा जन्मिएकी रविना त्यति बेला किशोर वयकी मात्र थिइन्। मुस्लिम समुदायमा जन्मे–हुर्केकी उनका लागि बाह्य संसार अपरिचित थियो। राजनीतिक चेतना अंकुराइसकेको थिएन।

तथापि समाजको पिँधमा रहेका जाति समुदायले भोग्नुपरेको अमानुषिक पीडा र ताडनालाई नजिकबाट देखेकी थिइन्, भोगेकी थिइन्।

‘तिनै कुराले मलाई समाज बुझाएको हो,’ उनी अहिले सम्झिन्छिन्, ‘राजनीतिमा लाग्न उत्प्रेरणा जगाएको हो।’

तैपनि उनले सशस्त्र युद्धमा लागिहाल्ने निर्णय गरेकी थिइनन्। तर परिवर्तनको हुरी बेस्सरी चलेको बेला त्यसको धेरथोर प्रभाव उनमा पनि पर्‍यो।

उनी २०५८ मंसिर ५ गते घर छाडेर हिँडिन्। र, तत्कालीन नेकपा (माओवादी) नेतृत्वको सशस्त्र द्वन्द्वको अंग बनिन्।

‘म जनयुद्धमा सामेल भइरहँदा हाम्रो समुदायबाट त्यसरी विद्रोहमा निस्कने महिलाको संख्या नगन्य थियो,’ उनले भनिन्, ‘मुस्लिम महिलाहरूले सामाजिक बन्धन, सामाजिक सोचाइको परिधि नाघेर बिरलै सोच्न र गतिविधि गर्न पाउँछन्।’

उनले आफ्नो समुदायको सोच र चिन्तनधाराको घेरा नाघेर कठोर संघर्षको बाटो रोजिन्।

उनलाई त्यति बेला थाहा थिएन — यो बाटो कहाँ जान्छ? जीवनमा के–कस्ता कठिनाइ आइपर्छन्? ती चुनौतीका पर्खाल कसरी नाघ्ने र राजनीतिको दियो कसरी निभ्न नदिने?

आफ्नो मथिंगलमा भर्खरै धिपधिपाउँदै गरेको चेतनाको राँको बोकेर उनी मृत्युले पछ्याइरहने यात्रामा निस्किएकी थिइन्।

भूमिगत जीवन रोज्नासाथ रविना तत्कालीन माओवादीको जनमुक्ति सेनामा भर्ती भइन्।

परिवर्तन निम्त्याउने दृढ इच्छा र साहसका साथ हतियार उठाइन्।

उनी गण्डक क्षेत्रअन्तर्गत गोरखा, कास्कीका विभिन्न संघर्षमा सामेल भइन्। सिन्धुली, चितवन लगायत जिल्लामा भएका विभिन्न भिडन्तमा फ्रन्टलाइनमा बसेर संघर्ष गरिन्।

‘त्यति बेला समाजमा परिवर्तनको चाहना तीव्र थियो। बन्दुकले राज्यसत्तामा परिवर्तन ल्याउन सकिन्छ भन्ने सपना थियो,’ उनी अहिले पनि दृढ र आत्मविश्वासी सुनिन्छिन्।

तत्कालीन शाही नेपाली सेनासँग आमुन्नेसामुन्ने भिडन्त हुँदा कैयन पटक ज्यान हत्केलामा राखेर हिँडेको अनुभूति नभएको होइन। तैपनि रूपान्तरणको सपनाले उनलाई आगाको त्यो भुंग्रोतुल्य बाटामा हिँड्न प्रेरित गरिरह्यो।

२०६२–६३ को आन्दोलनपछि ‘जनयुद्ध’ शान्ति वार्तामा रूपान्तरित भयो।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि उनको राजनीतिक यात्रा पनि शान्तिपूर्ण बाटोतिर मोडियो।

तर त्यसपछिका कालखण्डमा उनी राजनीतिक लाभ र अवसरबाट छुट्दै आएकी थिइन्। उनको पार्टी नेकपा (माओवादी), एकीकृत नेकपा माओवादी, माओवादी केन्द्र, नेकपा एमालेसँगको एकतापछि नेपाल कम्युनिस्ट पार्टी हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरित हुँदा उनले राजनीतिक लाभ आर्जन गर्न सकेकी थिइन्।

२०८२ सालमा आइपुगेपछि उनको राजनीतिक यात्रामा सुखद संकेत देखिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मुस्लिम महिलातर्फ उनको नाम सुरूआती सूचीमा छ। आफ्नो राजनीतिक जीवनमा लाभको ढोका उघ्रन लागेको देखेर उनी पुलकित छिन्।

उनलाई राजनीतिमा लाग्न अभिप्रेरित गर्नेहरूले अहिले खबरदारी पनि गरिरहेका छन्। समुदायको घेराभन्दा माथि उठेर आफ्नै समुदायको बृहत्तर हितका लागि मात्र नभई देशकै उपेक्षित, उत्पीडित, पछाडि पारिएका र पिँधमा पुर्‍याइएकाहरूको अधिकारको पैरवी गरिरहेकी रविनाको नयाँ राजनीतिक यात्रा आरम्भ हुनुपर्ने उनीहरूको भनाइ छ।

‘एउटा मुस्लिम समुदायको बहादुर छोरी जसले सानै उमेरमा समाज परिवर्तनका लागि विद्रोह गरेर देश र जनताको मुक्ति यात्रामा गीत–संगीतको माध्यमबाट योगदान गरिन्। कैयन् मोर्चामा बाँच्न सफल भइन्,’ तत्कालीन माओवादीका कमान्डर मेखराजले भनेका छन्, ‘आज त्यही योगदानको कदर गरेर पार्टीले मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी, एक नम्बरमा पर्ने गरी निर्वाचन आयोगमा सूची बुझाएको छ। सुनेर खुसी लाग्यो। तपाईंलाई बधाई तथा शुभकामना छ। तर सचेत हुनू, कतै जालझेल होला!’सेतोपाटी बाट साभार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×