नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि परिवर्तित सन्दर्भमा हुन लागेको यो महाधिवेशन विशेष महत्त्वको पनि छ।
एमालेले गत भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर नीति तय गरिसकेको छ। आगामी महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुनेछ। विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा तेहेरिन सजिलो हुने गरी नीति (विधान) तय गरेको छ।
भदौ २३ र २४ को आन्दोलनपछि एमालेभित्रको शक्ति सन्तुलनमा फेरबदल आइसकेको छ। विगतमा ओलीकै समूहमा रहेकाहरू उनीसँग प्रतिस्पर्धा गर्ने ‘मुड’ मा पुगेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नै अध्यक्ष ओलीलाई चुनौती दिने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई समर्थन गर्ने सम्भावना बढेर गएको छ। यही सन्दर्भमा एमालेभित्र ध्रुवीकरण बढेको छ।
भदौ २२ गते हामी जे निष्कर्षमा पुगेका थियौं, त्यो निष्कर्षको म आलोचनात्मक समर्थक मात्र हो। त्यसअघि हाम्रो पार्टीको लिखित विधानमा नेतृत्वमा दुई कार्यकाल अवधि र ७० वर्षको उमेर हद थियो। त्यही गोदावरी अधिवेशनमा पनि मैले दुई मिनेट बोल्ने समय पाएको थिएँ। त्यति बेला बोल्दा मैले त्यो प्रावधान कायम राख्नुपर्छ भनेर बोलेको थिएँ। त्यसमा बहुमत भएन। त्यो पारित हुन सकेन। संस्थागत हिसाबले संस्था नै यो प्रावधानको विपक्षमा लाग्छ भने त त्यो पारित गर्न सकिँदैन। तर मैले मेरो मत चाहिँ त्यहाँ सुरक्षित राखेको थिएँ।
यहाँ म के भन्न चाहन्छु भने, भदौ २२ गते विधान महाधिवेशनले जे निष्कर्ष निकालेको थियो, त्यसले आम पार्टी कार्यकर्ता, देश र जनताको भावनालाई समेट्न सकेको थिएन। त्यो कुरा भदौ २३ र २४ को आन्दोलनले बताइदियो
तर अध्यक्ष ओली कहाँ मान्न तयार हुनुहुन्छ त? उहाँले त नीतिमा केही फेरबदल हुँदैन। नीतिमा छलफल गर्न पनि भ्याइँदैन। त्यसैले मैले जे बोल्छु त्यही नीति हो। मैले निर्देशनात्मक मन्तव्य दिएपछि महाधिवेशन नै सकिन्छ भन्नुभएको छ त?
हाम्रो नेपाली राजनीतिमा जे भएको छ र कम्युनिस्ट आन्दोलनभित्र जस्तो जस्तो कुरा हुँदै आएको छ, त्यो कुरालाई र हाम्रो अध्यक्षले भन्नुभएको कुरालाई नेपाली समाजले खण्डन गर्छ।
महाधिवेशन भनेको नेतृत्व छान्ने अनि नीति, विधि, पद्धति, विचार सिद्धान्तमा एकदम धेरै घनिभूत छलफल गर्ने समय हो। हाम्रा पार्टी कार्यकर्ताहरूले के कुरा गरेको सुन्छु भने नीति, नेतृत्व महाधिवेशनको हलभित्र छान्ने हो। उहाँहरूको बुझाइ मिलेन।
महाधिवेशनको हल भनेको; जुन स्थानमा हामीले ती सबै विधि, प्रक्रियाहरू पूरा गर्छौं, चुनाव गर्छौं, नोमिनेसन गर्छौं, अध्यक्ष मण्डलको घोषणा गर्छौं, त्यसका लागि विभिन्न कार्यविधि छुट्याउँछौं, त्यसलाई नै हाम्रा कार्यकर्ताले महाधिवेशन भनेर बुझ्नु भएजस्तो मलाई लाग्छ।
अहिले हामीसँग एक महिना पुग-नपुग समय छ। त्यसो हुँदा अहिले विराटनगर, झापा, सुर्खेत, महेन्द्रनगर, धनगढी, पोखरा जहाँ पनि नेकपा एमालेको विधि, विधान, पद्धति, नेतृत्वमाथि सबैखाले बहसमाथि छलफल गर्नुपर्ने समय हो।
पार्टी अध्यक्षले के भन्नुभयो भन्ने कुरा मात्र महत्त्वपूर्ण कुरा हो र? कि पार्टी भित्रका सबै मान्छेले के भन्छन् भन्ने महत्त्वपूर्ण हो? अथवा पार्टी बाहिरका आमजनताले के भन्छन् भन्ने महत्त्वपूर्ण हो? हामीले भनेका कुरा समाजमा लागू भए कि भएनन्? आज मान्छे जे भन्दै छन्, कमरेड ओलीले भनेका कुरा र मान्छेहरूले भनेको कुरा मेल खायो कि खाएन? मेल खाएन भने हाम्रो नेतृत्व असफल भयो, असान्दर्भिक भयो।
म अझै जोड दिएर भन्छु – जनताको कुरासँग हाम्रो पार्टी नेतृत्वको कुरा मेल खाएको छैन। त्यसो भएर हाम्रो पार्टी नेतृत्व र हामी असान्दर्भिक भएका छौं। हामी आगामी दिनमा जस्तो छलफल गर्छौं, जस्तो काम गर्छौं, त्यसले हाम्रो सान्दर्भिकतालाई यो समाजमा पुष्टि गर्नुपर्छ भन्ने लाइनमा छु।
पाँचौं महाधिवेशनपछि जब महाधिवेशनको मिति घोषणा हुन्थ्यो, एमालेमा छलफल चल्थ्यो, अहिले कहाँ बोल्न पाइन्छ त? बहस जीवित छ त?
म नवौं महाधिवेशनलाई स्मरण गर्न चाहन्छु। त्यतिबेला देशभरि; पोखरा, धनगढी, बुटवल, विराटनगर, झापा सबैतिर जो-जो कमरेडहरू नेतृत्व लिन, आफ्नो विचार स्थापित गर्न लाग्नुभएको थियो, त्यो समूहहरूको घनिभूत छलफल बहस भएको थियो। पार्टीभित्र कुनैखाले विवाद थिएन। त्यहाँ कार्यक्रम भएछ है भनेर पोजेटिभ रूपमा लिने कुरा गरिन्थ्यो।
तर नवौं महाधिवेशनपछाडि नेतृत्वको विषयमा छलफल गर्नु, नीतिका विषयमा छलफल गर्नु, विचारका विषयमा बहस गर्नु भनेको पार्टीको संस्थापनविरोधी काम हो भनेजसरी परिभाषित गरियो। त्यस्तो भाष्य बनाउन खोजियो। त्यस कारण एकदम संकटमा फस्यौं जस्तो मलाई लाग्छ।
यो महाधिवेशनले एमालेको यो संकट मोचन गर्ने वा यहाँले भन्नुभएजस्तो नीति र नेतृत्वमा छलफल गर्दा पार्टीको संस्थापनविरूद्ध लागेको भाष्य बन्ने अवस्थालाई यो महाधिवेशनले खण्डित गर्छ?
खण्डित नै गर्छ भनेर म एकदम शतप्रतिशत भन्न सक्दिनँ तर प्रयत्न चाहिँ भएको छ र प्रयत्न हुनेवाला छ। त्यो चाहिँ म भन्न सक्छु।
भनेको यो महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ?
यो महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ। हामीले आजसम्म जे जस्तो खालको अभ्यास गर्यौं, त्यसले पार्टीभित्र र बाहिर हामीलाई सही दिशामा पुर्याएन। बलियो बनाउने दिशातर्फ लगेन भनेर छलफलहरू भइरहेकै बुझेको छु। म पनि कहीँ कहीँ बहसमा भाग लिइरहेको छु।
-1763462736-1763526019.jpg)
मैले सुनेसम्म यहाँहरू दस्तावेजमा पनि काम गरिरहनुभएको छ, भनेपछि विचारसहित समूह मैदानमा उतार्नुहुन्छ?
टिम किन उत्रिन्छ भने, हाम्रा अभ्यासहरूले मूल नेतृत्व भनेको अध्यक्ष मात्रै हो जस्तो पुष्टि गरेको छ। हामीकहाँ समन्वय केन्द्रदेखि काम गर्दै आउनुभएका ईश्वर पोखरेल हुनुहुन्छ, कमरेड ओलीकै समकक्षीहरू धेरै जना हुनुहुन्छ। उहाँहरू पनि नेतृत्व हो। कुनै एक जना मात्रै मूल नेतृत्व हुने होइन नि। यो त सामूहिक होला नि!
तर हामीले आज जे प्रणाली अपनाएका छौं, हाम्रो संविधानले जे भनेको छ, हामी जस्तो अभ्यास गरेर जनताका बीचमा जान्छौं, हामीले अभ्यास गर्ने शासकीय शैली जे हो भनेका छौं, त्यसले सामूहिकताकै माग गर्छ। एक जनाको मात्र भर गर्दैन। विश्वास गर्दैन। हाम्रो पार्टीको विधि, पद्धति पनि त्यही हो।
अहिले हाम्रो पार्टीमा ‘सिंगल म्यान शो’ चलिरहेको छ। त्यसपछि हामी असफलतातिर गयौं भन्ने मलाई लाग्छ। वस्तुगत हुँदा हामी भयंकर असफल भयौं भन्ने मलाई लाग्छ। हाम्रो नेतृत्वले हामी असफल भयौं भन्न नसकेको, नचाहेको देखिन्छ। हाम्रो परिस्थिति जे हो, त्यो भनेर अगाडि बढ्यौं भने मात्र समस्या समाधान गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
भनेको यो महाधिवेशन दसौंको पुनरावृत्ति होइन, त्यस्तो हुन दिनुहुन्न?
एउटा सामान्य केन्द्रीय सदस्यको हैसियतले भन्दा हाम्रो महाधिवेशनलाई हामीले जति समृद्ध बनाउन सक्छौं, जति त्यो बृहत् आन्तरिक लोकतन्त्रको अभ्यास गर्न सक्छौं, जति धेरै हामीले विभिन्न विचारलाई फल्न फुल्न दिन्छौं, पार्टी उति बलियो हुन्छ।
दसौं महाधिवेशनको प्रवृति सहेर आउनुभएका नेताहरू आज कुन मूल्य चुकाइरहनुभएको छ, थाहा छ नि त! अनि दसौंको जो नेता हुनुहुन्थ्यो, अहिले पनि नेतृत्वमा त्यही नेताहरू हुनुहुन्छ। उहाँहरूले पार्टीभित्र आफ्नो स्थान मात्र गुमाउनु भएन, यो सबैका कारण बाहिर आमजनता, आम रूपमा देशले गुमाएको मूल्यको पनि त कुरा छ नि! त्यस कारण पनि यो महाधिवेशन दसौंको पुनरावृति चाहिँ हुँदैन जस्तो मलाई लाग्छ।
तपाईंको नजरमा नेपालको राजनीतिमा भदौ २३ को परिघटना किन भयो?
एकदम भुइँ मान्छे भएर कुरा गर्नुभयो भने भदौ २३ चाहिँ मलाई स्वाभाविक लाग्छ। मलाई थाहा छ नि त, हाम्रो प्रणाली कस्तो हुँदै गयो? टिकट कुन वर्गको मान्छेले पायो? त्यो सांसद बनेर के गर्यो? गाउँपालिका अध्यक्ष बनेर के गर्यो? मेयर बनेर के गर्यो? वडा अध्यक्ष हुनै पनि आज कति पापड बेल्नुपर्छ।
ठुल्ठूला आयोजना, राष्ट्रिय गौरवका परियोजनाहरूको कुरा गर्नुभयो भने नेपालमा गेम चेन्ज गर्ने, तपाईं–हाम्रो आर्थिक उन्नति गर्ने कुनै एउटा प्रोजेक्ट सञ्चालन भइरहेको छ? तपाईं हामीले कहीँ प्रगति विवरण पाएका छौं? शिक्षा ऐन १० वर्षमा पनि आएको छैन। अनि हाम्रो स्वास्थ्यको हालत कस्तो छ भनेर हेर्न त वीर अस्पताल गए हुन्छ। यसो भन्दा आलोचना मात्र गरेको भन्छन् होला मान्छेहरूले। तर एउटा कुनै पनि पहुँच नभएको, कोही पनि मान्छे नचिनेको सामान्य व्यक्ति काठमाडौं आएर क्यान्सर रोगको उपचार गर्न सक्छ?
यस्तो अवस्थामा हामी भदौ २३ मा पुग्नु एकदम स्वभाविक हो। भदौ २३ गते जुन उमेर समूहका केटाकेटी भ्रष्टाचारविरूद्ध नारा लगाउँदै सडकमा आए, त्यो मेरो सपना थियो। एक दिन यो देशका सम्पूर्ण नागरिक भ्रष्टाचारविरुद्ध सडकमा आऊन् भन्ने जस्तो मलाई विगत १५ वर्षदेखि लागिरहेको थियो। र, उनीहरू आए।
त्यो दिन म पनि बानेश्वरसम्म आन्दोलन हेर्न गएको थिएँ। हामीले पनि कति आन्दोलनमा भाग लियौं। हाम्रो हालत के थियो? हामी कस्तो तिर्खा लाग्दा लाग्दै हिँड्थ्यौं! हाम्रो जुत्ता कस्तो थियो? मतलब हाम्रो रहनसहन कस्तो थियो मलाई थाहा छ नि! मैले त्यो आन्दोलनमा राम्रा जुत्ता लगाएका मानिसहरू देखेँ। पानी बाँडिरहेको देखेँ। आन्दोलनको स्वरूप नितान्त भिन्न थियो।
भ्रष्टाचारविरुद्ध नारा लगाउन सडकमा आएका केटाकेटीको संरक्षण गर्ने जिम्मा पनि त राज्यको हो नि। उनीहरूलाई संसद भवनसम्म जान रोक्ने, हुलदंगा नियन्त्रण गर्ने विभिन्न विधि अपनाउने कुरामा राज्य चुकेको देखिन्छ। भदौ २३ गते दुःस्वप्न भयो। भदौ २४ गते अर्को दुःस्वप्न भयो मुलुकका लागि।
यसको नैतिक जिम्मा लिनुपर्दैन कसै न कसैले? यी सबैको नैतिक जिम्मा तत्कालीन कार्यकारीले लिने होला नि! तत्कालीन सरकारले लिने होला नि!
तपाईं सरकारमा भएको जस्तो म एउटा नागरिक, म एउटा दलको सामान्य सदस्यका हिसाबले पनि कति नैतिक जिम्मा लिनुपर्छ, हो म त्यो लिन्छु। तर तत्कालीन प्रधानमन्त्रीले यसको जिम्मा लिनु पर्दैन?सेतोपाटी बाट साभार