काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् । 
शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले जनेजी आन्दोलनको समेत जग नभएको बताए । अहिलेको परिवर्तनलाई राजतन्त्रसँग तुलना गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे ।
‘त्यसवेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’, ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद तोकेको भन्दै आपत्ति प्रकट गरे । नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दै छ सरकार भनेर ओलीले प्रश्न गरे ।
‘अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउन्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका’ उनले आगो लगाएको, तोडफोड गरेको, र आतङ्क मच्चाएको भरमा सरकार बनाइएकाले यसको कुनै वैधानिकता नरहेको टिप्पणी गरे ।
उनले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो भनेर जेनजीलाई प्रश्न गरे । ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ?’ओलीले प्रश्न गर्दै भने, ‘डिस्कर्डमा भोटिङ पनि गर्या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्यो अमेरिकाको जस्तो ?’ ।रातोपाटी बाट साभार






