दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

कञ्चनपुरः कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। पछिल्लो समय उन्नत नश्लका गाई र भँैसीको व्यावसायिक पालन हुन थालेपछि जिल्ला दूधमा आत्मनिर्भर भएको हो।

उहाँका अनुसार कञ्चनपुरमा एक लाख ४८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। यसमा भैँसीको ४३ हजार पाँच सय पाँच मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने गाईको ५४ हजार आठ सय १७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ।

जिल्लामा वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता भए पनि १३४ लिटर दूध उत्पादन हुने गरेको सूचना अधिकारी पाण्डेयले बताए। जिल्लामा दुई हजार तीन सय २७ मेट्रिक टन बाख्राको मासु उत्पादन हुने गरेको छ भने भँैसी÷राँगाको  चार हजार ९९७ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ। ब्रोइलर कुखुराको मासु एक हजार २०८ मेट्रिक टन र स्थानीय कुखुराको मासु ७७ मेट्रिक टन उत्पादन हुने गरेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

जिल्लामा २७० हेक्टरमा निर्मित माछा पोखरीबाट एक हजार ३५७ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ भने १७२ हेक्टरमा रहेको प्राकृतिक पोखरीबाट ४१७ मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्याङ्क छ। यहाँ वार्षिक प्रतिव्यक्ति १४ किलो मासु आवश्यक रहेकामा १४ दशमलव पाँच किलो उत्पादन हुने गरेको छ।

“कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ। दोधारा चाँदनीमा हुने उत्पादन छिमेकी देश भारतका सहरमा निर्यात हुने गरेको छ भने अन्य ठाउँको कैलालीमा निर्यात हुने गरेको छ”, सूचना अधिकारी पाण्डेयले भने, “पछिल्लो समय किसानले व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध र मासु उत्पादन बढेको हो।”

सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यवसायिक रूपमा पशुपालन गर्न थालेका र घाँसखेतीसमेत बढ्न थालेपछि यसमा सहज भएको जनाइएको छ। दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको दुग्ध विकास संस्थान (डिडिसी) ले खरिद गर्ने गरेको छ।

श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिए। “भारतका व्यापारीहरू दूध खरिदका लागि यही आउने गरेका छन्। हामीमध्ये केहीले महेन्द्रनगर बजारका डेरीमा लग्ने गरेका छन्”, उनले भने, “गाईभैँसी पालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रूपमा पशुपालनमा लागेका छन्।”

संयोजक पुनले ४१ जनाको समूह बनाएर हाल भैँसीपालन भइरहेको बताए। “पहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ७० लाख अनुदान पायौँ, त्यसले भैँसीपालनमा सहज भयो”, उनले भने, “हाम्रो समूहका अन्य ११ जनाले बाख्रापालनसमेत गरिरहेका छन्।”

व्यावसायिक कृषिको विकास गर्ने लक्ष्यअनुसार  चालु आर्थिक वर्षमा यहाँको कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ। लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि प्रत्येक पालिकाका लागि ४० लाख बजेट विनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ। दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *