
३ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मुख्यमन्त्री कार्कीले सोमबार राति करिब १ घण्टा भेटघाट गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले पूर्वराष्टपति भण्डारीलाई भेटेको विषय गोप्य राख्न खोजिएको छ । यद्यपि, कार्कीको सचिवालयले भेटघाट अनौपचारिक भएको बताएको छ ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए ।

बिग होटलमा सामूहिक भेटपछि मन्त्रीहरू निस्किएका थिए । मुख्यमन्त्रीले भने करिब १ घण्टा वान टु वान छलफल गरेका थिए ।
प्रदेशका मुख्यमन्त्री र मन्त्रीले सुटुक्क भेटे पनि कार्यकर्तालाई भने पूर्वराष्ट्रपतिलाई नभेट्न नेकपा एमालेले उर्दी नै जारी गरेको छ ।
सोमबार विराटनगर आएकी भण्डारीले मंगलबार दिउँसो १२ बजेदेखि १ घण्टा पार्टी कार्यालय पाञ्चालिकमा कार्यकर्ता भेटघाट गर्ने सेड्युल छ । तर नेकपा एमाले विराटनगर इञ्चार्ज पर्शुराम बस्नेतले कुनै कार्यक्रम नभएको दाबी गर्दै त्यहाँ नजान कार्यकर्तालाई उर्दी जारी गरेका छन् ।
‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज मंगलबार दिउँसो १२ बजे नेकपा एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ,’ उनले लेखेका छन् ।
उनले थपेका छन्, ‘नेकपा एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन । साथै, जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झुटो प्रचार प्रसारप्रति नझुक्किनु हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमालेले सदस्यता नदिने निर्णय गरिसकेको छ । भण्डारीका विषयमा छलफल बहस नगर्न पनि मातहतका कमिटीलाई निर्देशन दिइएको थियो ।
निर्देशनविपरीत भेटघाट कार्यक्रम राखेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले पूर्वराष्ट्रपतिलाई भेट्न नजान भनेको हो । तर विराटनगर महानगरको नेतृत्वमा विद्या भण्डारी समूहको बहुमत छ ।
बहुमत पक्षले भेटघाट कार्यक्रम आयोजना गरेपछि केपी शर्मा ओली पक्षधर नेताहरूले स्थानीय नेता तथा कार्यकर्तालाई फोन गरेर पार्टी कार्यालय नजान उर्दी जारी गरेको भण्डारी पक्षका नेताहरूले बताएका छन् ।अन्लाईन खबर बाट साभार