धनगढी न्यूज

संसद् भवनको म्याद ‘चुपचाप’ पाँचौँ पटक थपियो

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन समयमा नसकिएपछि पाँचौँ पटक म्याद थप गरिएको छ ।

मंगलबार शहरी विकास मन्त्रालयका सहसचिव दिलिप भण्डारीले आगामी पुस १६ गतेसम्मका लागि म्याद थप गरेको जानकारी दिएका छन् ।

‘सहरी विकास मन्त्रालयले यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि काम नसकिएपछि म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याइएको छ,’ उनले भने,‘ उक्त अवधिसम्म काम सम्पन्न हुने आशा छ ।’ यो  ढिलाइ हुनुमा विभिन्न कानुनी प्रक्रिया र निर्माण व्यवसायीको भूमिका रहेको उनको तर्क छ ।

‘निर्माण व्यवसायीले थप समयमा काम नगरेमा कानुनी प्रक्रिया अपनाएर कारबाही गर्नुपर्ने हुन्छ, उनले भने, ‘अबदेखि निर्माण व्यवसायीलाई कुनै पनि बहानामा छुट दिइने छैन । मन्त्रीज्यूबाट पनि एकदम क्लियर निर्देशन आइसकेको छ । अब यो अवधिभित्र सम्पन्न गरेन भने कानुनी बाटोबाट जाने बुझाइ छ ।’

मन्त्रीस्तरबाटै यस विषयमा स्पष्ट निर्देशन आइसकेको र थपिएको म्यादभित्र पनि काम सम्पन्न नभए कानुनी कारबाही अगाडि बढाइने मन्त्रालयले चेतावनी दिएको जानकारी दिए ।

यो भवन २०७६ असोज १ गते शिलान्यास भएको १५ दिनपछि अर्थात् असोज १६ गते निर्माणका लागि आईसीबी (बहुवर्षीय) मोडलमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी टुन्डी सेक जेभीसँग उक्त सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौता अनुसार २०७९ असोज १६ गते निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै पहिलोपटक उक्त ठेक्काको म्याद थपियो । ६ महिना म्याद थप गरिएपछि निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०८० वैशाख १४ गते कायम भएको थियो ।

पहिलोपटक म्याद सकिँदा निर्माण सम्पन्न नभएपछि कुनै पनि कारणविना दोस्रो पटकका लागि फेरि ६ महिना म्याद थप गरिएको थियो । यसपछि म्याद थपेर २०८० साल असोज १६ गते पुर्‍याइएको थियो । यो अवधिसम्म जम्मा ६० प्रतिशत प्रगति भएको थियो ।

तेस्रो पटक २०८० असोज २० गतेदेखि सोही वर्षको चैत १९ गतेसम्म म्याद थपिएको थियो । चौथो पटक थपिएको म्याद अनुसार २०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर सो अवधिमा सम्पन्न हुन नसकेपछि गत असारको दोस्रो साताबाट आगामी पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभागका मचाकाजी महर्जनले जानकारी दिए ।रातो पाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×