
काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरूसँग अन्तर्क्रिया गर्दै विविधताको उत्सव–डाइभर्सिटी कार्निभल कार्यक्रम सम्पन्न भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको आयोजनामा प्यानल डिस्कसन, युवाहरूबिच संवाद, वैचारिक प्रशिक्षण र साङ्गीतिक प्रस्तुतिसँगै विविधताको उत्सव मनाइएको हो ।

यस उत्सवमा चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर स्मृति हरिजनले कि नोट स्पिच दिएकी थिइन् । छलफलको सेसनमा नेपाली फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बाप्पो सुब्बा, अभिनेता नाजिर हुसेन, विश्वका आप्रवासीका नेतृत्वकर्ताको रूपमा क्रियाशील महेन्द्र पाण्डे, मुसहर समुदायबाट नेपाल सरकारको उपसचिव पदमा पुगेका सुनिल कुमार पासवान र बोल्न र सुन्न नसक्ने क्वेर मिना जोशीले दोभासेको सहायतामा प्रदीप परियारसँग उत्प्रेरक संवाद गरेका थिए ।

डा. हरिजनले चमार समुदायबाट डाक्टर बन्न पाउँदा र आफ्नो अनुभूति सुनाउन पाउँदा निकै भावुक महसुस भएको उल्लेख गरिन् । ‘छोरी भएर किन पढ्ने ?, घरको काम सिकेपछि पो राम्रो केटासँग बिहे हुन्छ’ भन्ने जस्ता सामाजिक मान्यताका बाबजुद आफू डाक्टर हुन सफल भएको उनले स्मरण गरिन् ।
‘काठमाडौँमा पढ्न आउन पनि त्यति सहज थिएन । तर, चमार, डोम, मुसहर समुदायलाई विश्वविद्यालय अनुदान आयोगले एमबीबीएसको छात्रवृत्ति दिने प्रावधानकै कारण मैले र बाबाले देखेको सपना पूरा भयो,’ उनले भनिन् ।
दलित लाइभ्स म्याटरका अध्यक्ष प्रदीप परियारले सपना सङ्घर्ष र सफलतामाथि उत्प्रेरक र विविधताको संवाद गरे । यस सेसनमा बोल्दै राष्ट्रिय फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बाप्पोले दाइहरूसँग खेलेर फुटबल सिकेको तर केटाहरूको बिचमा कट्टु लगाएर खेल्दा समाज र परिवारबाट दबाब झेल्नु परेको अनुभव सुनाइन् ।
आफूले लुकीलुकी फुटबल खेल्ने गरेको बताउँदै कठोर मेहनतले मात्र यहाँसम्म आइपुगेको पुगेको उल्लेख गरिन् । अब नेपालको लागि ‘गोल्ड मेडल’ जित्ने आफ्नो सपना रहेको र नेपाली महिला फुटबल टिम त्यसको निकै नजिक रहेको पनि बताइन् ।
आफ्नो सङ्घर्षको दिन सम्झँदै एन्जिलाले भनिन्, ‘पाँच वर्ष हुँदा ममी र ड्याडी छुट्टिनुभयो । आमाको सहायतामा मैले निरन्तर मेहनत गरेँ । सङ्घर्ष नगरी कहीँ पुगिँदैन । सङ्घर्ष गर्दै जाँदा क्याप्टेन फिल्म जस्तो नसोचेको कुरा पुरा हुँदो रहेछ ।’

हिजो सामान्य खेलाडी भए पनि अहिले आफूसँग सिङ्गो देश नै जोडिएकाले आफूमाथि जिम्मवारीबोध रहेको पनि स्वीकार गरिन् । ‘हालै ग्रिसमा ए डिभिजन लिगहरू खेलेर आएँ, यो जीवनका निकै ठुलो उपलब्धि थियो । अब हाम्रो विश्वकप खेल्ने सपना छ । सायद त्यो इच्छा पनि चाँडै पुरा हुन्छ होला,’ उनको आत्मविश्वास थियो ।
उनले समाज परिवर्तन हुनको लागि पहिला आफू परिवर्तन हुनुपर्ने सुझाइन् । उनले भनिन्, ‘आफूले आफूलाई चिनेपछि मात्र समाज परिवर्तन हुन्छ । मैले स्वर्ण जित्छु भन्नु पहिले मभित्रको मलाई चिन्नुपर्छ ।’
उपसचिव सुनिल कुमार पासवानले आफू शिक्षक हुँदै निजामतीमा आएको र त्यसपछि आफ्नो समुदायका थुप्रै मानिसहरू निजामती सेवामा प्रवेश गरेको देखेपछि आफू पनि त्यता मोडिएको बताए । सरकारी विद्यालय पढेरै गणितमा आफूले टप गरेको उल्लेख गर्दै सरकारी र बोर्डिङले मात्र पढाइमा त्यति धेरै प्रभाव नपार्ने उल्लेख गरे ।
‘मैले खुलाबाटै शिक्षक सेवा आयोगमा पनि एक नम्बरमा नाम निकालेको थिएँ, आफ्नो समुदाय प्रशासनमा पीडित भएकाले फेरि निजामतीमा पनि खुलाबाटै नाम निकाले’, उनले थपे, ‘हामी जस्ता युवा आएपछि अहिले सरकारी सेवामा मुभमेन्ट जस्तो भइरहेको छ । राज्यले कल्पना गरेको अहिले वास्तविकतामा देखिँदै छ ।’
संसारभर रङ, जात, लिङ्गको आधारमा विभेद भएकाले कसैको कुरा नसुनी एकाग्र भएर पढ्नुको विकल्प नरहेको उनको भनाई थियो । उनले अन्त्यमा भने, ‘जात जन्मबाट आएको होइन, समाजबाट आएको हो । हामीलाई धेरै ठुलो केही बन्नु छैन, मान्छे भए पुग्छ । जनावरबाट मान्छे बन्न निस्किएका थियौँ, अझै बिचैमा छौँ ।’

पाल्पाको सामान्य परिवारमा जन्मिएर आप्रवासी मजदुरी गर्दै विश्व आप्रवासीको नेतृत्वमा पुगेका महेन्द्र पाण्डेले आफूलाई साउदीमा काम गर्दा देखेका पीडाहरूले मजदुरको हकहितको लागि लड्नको लागि प्रेरणा मिलेको उल्लेख गरे । फ्रिडम फण्ड अमेरिकाको उपाध्यक्ष र ह्युमानिटी युनाइटेडको बोर्ड सदस्यसम्म पुगेका पाण्डेले सबैसँग ‘फ्रस्ट्रेट’ भए पनि आफ्नो सपना र लक्ष्यसँग कहिल्यै ‘फ्रस्टेट’ नहुन युवाहरूलाई उत्प्रेरणा दिए । ‘पढ्ने र भर्याङ बनाउने मेरो र परिवारको सपना थियो, वैदेशिक रोजगारी बाट फर्किएर संस्था स्थापना गरे यहाँसम्म पुगे’, उनले भने, ‘हामीले आफ्नो अनुहारमा होइन कि समाजको ऐनमा हेर्नुपर्छ । एक जना मात्रलाई पनि हामीले सहयोग गर्यो भने त्यसले खुसी र प्रतिफल दिन्छ । सपना सानो ठुलो हुँदैन सानो कुराहरूलाई पनि सेलिब्रेट गर्न सिक्नुपर्छ ।’
त्यस्तै कलाकार नाजिर हुसेनले मधेसको खोला छेउमा हुर्किएर आएको मानिसले यहाँसम्म पुग्नु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । मधेसी लवजकै कारण थुप्रै पटक फिल्ममा अस्वीकार भएको र सर्वस्वीकार्यको लागि आफू गोरो हुन अनेक उपायहरूसमेत अपनाएको तितो यथार्थ सुनाए ।
‘म हिन्दु आमा र मुस्लिम बाबा भएको परिवारमा हुर्किएर बहुसंस्कृतिको अभ्यास गर्न पाएँ । सुफी, कला र सिर्जनामा सानैदेखि लगाव थियो,’ उनले भने, ‘ फिल्ममा अस्वीकृत भए पनि आफूले अध्ययन गर्ने किताबहरूले मलाई त्यसका बाबजुद बलियो गरी उभिन उत्प्रेरित गरे ।’
मधेसीलाई सबैले कमेडी, गुण्डा र पानीपुरी वालाको रोल राख्ने नेपाली फिल्मको परम्परालाई आफूले केही हदसम्म तोडेको पनि उनको दाबी छ । ‘मैले गाउँमा टिभी हेर्दा एक दिन यो टिभीभित्र म नाचिरहेको हुन्छु भन्ने सपना देख्थेँ । अब मेरो उद्देश्य छ कि संसारमा चिनिने काम गरूँ,’ उनको भनाई छ ।
आफूभित्रको हुटहुटी र जुनुनलाई कहिल्यै मर्न नदिन सुझाव दिँदै ती सपनाहरूले घचघच्याइरहे मात्र अगाडि बढ्न सकिने उल्लेख गरे । ‘मधेसका मान्छेहरूले प्रेम गर्न पनि जानेको हुन्छन्, रिसाहा मात्र हुँदैनन्, नेपाली र अङ्ग्रेजी पनि बोल्छन् । लगाम लगाएको घोडाले जस्तो एउटै दृष्टिकोणबाट नहेरिदिनुहोला,’ अन्त्यमा आफ्नो तर्क राखे ।

कान नसुन्ने र बोल्न पनि नसक्ने रेन्वो डिसएबिलिटी नेपालकी उपाध्यक्ष मिना जोसिलो दोभासे सुनिता श्रेष्ठको माध्यमबाट आफ्नो कुरा रूपमा राखिन् । बिजुलीको पोल ढलेर लाग्दा आफू यस्तो अवस्थामा पुगेको बताएकी मिनाले अवसर र मौका पाए आफूहरू जस्तो पनि अगाडि बढ्न सक्ने उल्लेख गरिन् । ‘म काभ्रेमा निम्न परिवारमा जन्मिएँ, पछि काठमाडौँ आएर डीएभी स्कुलमा पढेँ । अहिले यो संस्थामा काम गरिरहेकी छु’, उनले थपिन्, ‘पछि आफू क्वेर भएको थाहा पाउँदा साथीहरू र परिवारले अस्वीकार गरेँ । मैले बल्ल बल्ल परिवारलाई मनाएँ र लड्न सिकेँ ।’
उनले अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसङ्ख्यकलाई घृणाको दृष्टिबाट नहेर्न र सधैँ सकारात्मक सोचिदिन आग्रह गरिन् । ‘मेरो सपना भनेको अपाङ्गता भएका लैङ्गिक अल्पसङ्ख्यकको लागि उदाहरणीय काम गर्नु हो’, उनले थपिन्, ‘कुनै पनि मानिसलाई भेदभाव नगर्नुस्, पढाएर पनि के काम भन्ने नसोच्नुस्, अवसर पाएपछि जसले पनि सक्छ नि ! पहिला तपाईँहरूले सिर्जना गर्नुभएको बाधाहरू हटाइदिनुस् ।’
कार्यक्रममा रोमन म्यागासेसे अवार्ड विजेता विल्सन बेजवडाले उत्पीडितविरुद्धको अभियान र सङ्घर्ष एक पटकको लागि नभई निरन्तर चल्ने र गरिरहनुपर्ने तर्क पेस गरे । त्यस्तै, लेखक सीके लालले जात व्यवस्था कर्म नभई सत्ता भएको र आत्मसम्मानको खोजीको लागि सत्तासँग सङ्घर्ष गर्नुपर्ने उल्लेख गरे । ‘विविधता भनेको रचनात्मकता र शक्ति हो त्यसैले यसलाई उत्सव रूपमा मनाऔँ,’ उनले थपे ।
कार्यक्रममा देशैभरिबाट दलित, मधेसी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्तिहरू तथा विविध यौनिक तथा लैङ्गिक पहिचान भएका करिब डेढ सय युवाहरूले सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु विषयक छुट्टाछुट्टै कार्यशालामा गहन छलफल गरी आफ्नो समस्या समाधान र सरकारले गर्ने कार्यक्रमहरूबारे निष्कर्ष निकालिएको छ । उक्त निष्कर्ष प्रधानमन्त्रीलाई भेटेर उपलब्ध गराउने संस्थाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए ।
उनले आफूहरूले मन्त्री प्रधानमन्त्रीलाई सहभागिता गराएर भन्दा पनि युवाहरूलाई प्रेरित गर्ने र जाती विभेद अन्त्यको लागि उत्प्रेरक कार्य गरिरहने उल्लेख गरे । कार्यक्रममा महिला ब्याण्ड कासा र किरण नेपालीको साङ्गीतिक समूहहरूले प्रस्तुति दिएको थियो ।रातो पाटी बाट साभार






