
२१ कात्तिक, काभ्रेपलाञ्चोक। काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बटम थिचेर सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ शुभारम्भ गरेका छन्।
पहिलो चरणमा यातायात व्यवस्था विभागले दिएको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जानकारी दिए।
उनका अनुसार केन्द्रमा सुरुमा दैनिक ५ सय प्रति सवारीचालक अनुमतिपत्र छापिनेछ।
‘केन्द्रले सबै प्रक्रिया पूरा गरेर ढिलोमा ६ महिनामा १२ लाख सवारीचालक अनुमतिपत्र उपलब्ध हुनेगरी छपाइ सुरु भएको छ,’ मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले भने, ‘बजेट उपलब्ध भयो भने आवश्यकअनुसार थप लाइसेन्स छाप्न सक्छौं।’
कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्त:शुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिषा स्टिकर छपाइ गर्न सकिनेछ। सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै तीन अर्ब रुपैयाँ लगानी भएको छ।
गत ९ जेठमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच छाप्न बाँकी सवारीचालक अनुमतिपत्र छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो।
जेठमा एमओयू भए पनि दुवै संस्थाको प्राविधिक मूल्यांकनपछि एक साताअघि मात्र कार्यान्वयन पत्रमा हस्ताक्षर भएको थियो। ‘६ महिना अघिदेखि नै तयारीमा थियौं। एक साताअघि कार्यान्वयनमा जाने निर्णय भयो। शुक्रबारबाट सवारीचालक अनुमतिपत्र छाप्ने काम सुरु हुन्छ,’ केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले भने।
पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छपाइको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ। मुद्रण केन्द्रमा छपाइ गर्दा यातायात व्यवस्था विभागले पहिले छापेको भन्दा १ सय रुपैयाँ सस्तो पर्नेछ।
विभागले केन्द्रलाई छाप्नुपर्ने सवारीचालक अनुमतिपत्रको नमूना उपलब्ध गराएपछि काम भइरहेको छ।
कठिनाइ बाबजुद लाइसेन्स छपाइ सुरु भयो: मन्त्री खरेल
सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको बताए।
वर्षौंदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ सुरू गरिएको मन्त्रीको भनाइ छ।
‘वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरू यत्तिकै थन्किएका थिए। मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए। ठाउँ नै खण्डहर जस्तो भएको थियो। धुलो टकटक्याएर छपाइको काम थालेका हौं,’ उनले भने।
उनकाअनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन।
‘अहिले हामीले निकै मेहनत गरेर सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरेका छौं,’ सञ्चारमन्त्री खरेलले भने, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ। चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाइ सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ।’
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिँदा रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो।
सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए। उनले नीतिगत समस्या, बेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाईसेन्स छपाइ सुरु गरिएको उल्लेख गरे।
‘सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो। केन्द्रको बेथिति, कानुनी अफ्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोतसाधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्छ छपाइ सुरु गरिएको हो,’ खरेलले भने, ‘अब क्रमश: अन्य विभिन्न छपाइ पनि केन्द्रबाटै छाप्छौं। यसबाट मुलुकको पैसा बाहिर जान रोक्निछ। राष्ट्रिय सुरक्षाका हिसावले पनि महत्वपूर्ण र राम्रो सुरुवात हो। यसलाई निरन्तरता दिनुपर्छ।’
सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोतसाधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए।
कार्यक्रममा सञ्चार सूचना तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले लाइसेन्स छपाइको सुरुवातको महत्वपूर्ण दिन भएको बताइन्। यो छपाइको कामले केन्द्रको लागि लाखौं मिटरको यात्रा सुरु भएको उनको भनाइ थियो।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले लाइसेन्स छपाइको काम सुरुवात हुनु सुहद भन्दै निरन्तरताको लागि अनुरोध गरे।
यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले दैनिक ३–४ सय सेवाग्राही लाइसेन्स माग्न आउने गरेको बताए। ‘धेरै गाली खाइरहेको बेला ख़ुसी मिलेको छ, यो अवसरमा सहयोग गर्ने सबैलाई धन्यवाद,’ तिवारीले भने, ‘अहिले २८ लाख लाइसेन्स छपाइको आवश्यकता हो। धेरै सेवाग्राहीहरू लाइसेन्स माग्दै विभाग आउनुहुन्छ तर दिन सकिरहेको थिएन। लाइसेन्स छाप्नुपर्ने दायित्व प्रदेशको थियो तर छाप्न सकेनन्। संघीय सरकारबाटै सुरू भयो, ख़ुसी लाग्यो।’
५० करोडको छपाइ मेशिन अलपत्र
सवारीचालक अनुमतिपत्र छपाइ सुरु भए पनि अन्य छपाइको मेशिन केन्द्रको भवनअघि अलपत्र अवस्थामा छ। यो मेशिनले कागजमा आधारित पासपोर्टको बुकलेट, नागरिकता, लालपुर्जा, अन्तशुल्क लगायतको छपाइ गर्ने केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए।

५० करोड मूल्य पर्ने यति महत्वपूर्ण मेसिन दुई वर्षदेखि कन्टेनरभित्र पालले छोपेर राखिएको छ। यो मेसिन राख्न आवश्यक भवन निर्माण कार्य चलिरहेको छ। अबको ६ महिनाभित्र भवन निर्माण सम्पन्न हुने र मेसिने सारिने ढुंगानाले बताए। अनुगमनका क्रममा मन्त्री खरेलले मेशिनको सुरक्षाको लागि निर्देशन दिए।अन्लाईन खबर बाट साभार






