Skip to main content

धनगढी न्यूज

आश्रय लिएकै घरमा खस्यो पहिरो, ६ जनाको मृत्युले गाउँ नै शोकमा

Advertisement

२२ साउन, पोखरा । बागलुङको बडीगाड गाउँपालिका–१० मा सुरक्षित भनेर शरण लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् ।

पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालले जानकारी दिए ।

त्यस्तै जोगबहादुरकी नातिनी ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । घरमाथिबाट पहिरो खस्दा ५ जनाको घटनास्थलमै र घरधनी जोगबहादुरको उपचारका लागि काठमाडौं पठाउने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहानैदेखिको झरीले बडीगाडका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो भने आरुपाटाको खहरे खोलाले आसपासका घरलाई पनि तान्न सक्ने त्रास गाउँलेमा बढेको थियो । बाढी आएका कारण खोला तरेर बुर्तिबाङ बजार जानेहरु पनि रोकिएका थिए ।

वडा नम्बर १० कै निगलपानी गाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि तर्ने स्थिति नदेखिएपछि अलि सुरक्षित घर ठानेर आरुपाटाका जोगबहादुर बुढाको घरमा ओत लागेर बसेका थिए । खोलाको आडमै रहेका छिमेकी पनि सुरक्षित ठानेर त्यही घरमा बस्न पुगेका थिए ।

बुर्तिबाङ हिँडेका र छिमेकीसमेत गरेका जोगबहादुरको घर र गोठमासमेत गरेर करिब २० जनाले शरण लिइरहेका थिए । बिहान सवा ११ बजेको हुँदो हो, सुरक्षित भनेर ओत लागेको त्यही घरमा पहिरो खस्यो र एकाएक बबण्डर मच्चायो ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालका अनुसार पहिरो परेर ९ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ ।

जोगबहादुरका छोरा तेजेन्द्रले दौडिएर ज्यान बचाए । अर्का छोरा ज्ञानेन्द्र छिमेकीको घरमा पहिरोले क्षति पुर्‍याएपछि उद्धारका लागि गएका थिए । त्यही बेला खसेको पहिरोमा आफ्नै परिवार, छिमेकी र ओत लाग्न बसेकाहरु परेपछि, उनी आफैं भावविह्वल हुँदै उद्धारमा खटिएका छन् ।

जोगबहादुरकी श्रीमती सामान्य घाइते छिन् भने बुहारी सामान्य घाइते बने पनि छोरी गुमाउँदा थामिन सकेकी छैनन् ।

‘खोला बढेर तर्न सक्ने अवस्था नहुँदा जोगबहादुरकै घरमा ओत लागेका थिए भने छिमेकी पनि सुरक्षित ठानेर त्यही घरमा बस्न पुगेका थिए तर त्यही घरमा पहिरो खस्दा हृदय रुवाउने घटना घट्न पुग्यो’, वडा सदस्यसमेत रहेका स्थानीय राजेन्द्र बुढाले अनलाइनखबरसँग भने, ‘पहिरोले ५ जनालाई निल्यो, बेपत्ता ४ जना पनि के हुन् पत्तो छैन, सिंगो गाउँ नै शोकमा डुबेको छ ।’

राजेन्द्रका अनुसार सल्लेना खोला आसपासमा आरुपाटा, बाख्रे, सल्लेना, पात्ले नाम गरेका ससाना बस्तीहरु छन् भने क्वालजिङ नाम गरेको गाउँ पनि जोखिममा छ । ती गाउँमा साना साना केही खोलाहरु छन् र तीमध्ये सल्लेना एउटा हो ।

स्थानीय बोमबहादुर बुढाका अनुसार छिमेकीमात्र नभएर बुर्तिबाङ जाने भनेर हिँडेका मानिसहरु पनि त्यहीँ घरमा बसेका थिए । एसइई दिन र काम विशेषले निगलपानी भन्ने ठाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि पहिरोमा परेका छन् ।

बेपत्ता ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक छिमेकका थिए, जो सुरक्षित ठानेर जोगबहादुरको घरमा ओत लाग्न पुगेका थिए । आरुषकी आमा सीता थापा गम्भीर घाइते छिन् भने बुबा कुलबहादुर दौडिएर बाँचेका छन् ।

‘छेउको सल्लेना खहरे खोला तर्न सक्ने अवस्था थिएन । हिँउदमा खासै पानी नहुने तर बर्खामा बढ्ने खोला हो यो । भौगोलिक बनावट भीरपाखा नै थियो । माथिबाट एउटा ठूलो ढिस्को खसेर घरै पुर्‍यो’, वडा सचिवसमेत रहेका बोमबहादुरले भने, ‘ज्यान गुमाउने ७० वर्षीया मोतीदेवी माथिको गाउँ निगलपानीबाट झरेकी थिइन् । जो सुरक्षित ठानेर सोही घरमा शरण लिएकी थिइन् ।’

पहिरो खस्दा २६ वर्षीय ओमप्रसाद पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् ।

रीमा पुन एसइईको पुरक परीक्षा दिने तयारीका लागि आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार जाँदै गर्दा सो घरमा खोला तर्न नसकेर रोकिएकी थिइन् ।

आरुपाटाभन्दा माथिल्लो गाउँकी संगीता बुढा पहिरोकै डरले जोगबहादुरको घरमा बस्न गएकी थिइन्, उनी बुर्तिबाङ बजार जाने तयारीमा थिइन् । सुमित्रा विक, शशीराम विक पनि निगलपानी लोरखर्क भन्ने ठाउँबाट बुर्तिबाङ बजार जाने क्रममा रोकिएकी थिइन् ।

घाइतेलाई उपचारका लागि बुर्तिबाङ लैजाने तयारी भइरहेको तर मौसमका कारण समस्या परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता तथा डीएसपी विजय यादवले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडौं लैजानका लागि हेलिकप्टर मगाएको तर बागलुङ बजारमा रोकिएको बताए ।

अर्को घटनामा दुई जनाको मृत्यु

बडिगाड गाउँपालिका– ९ मा पहिरोले पुरिएर भीम बिठे मावि कक्षा ५ मा अध्ययनरत १४ वर्षीय बालक विधान परियारको मृत्यु भएको छ ।

यसैगरी वडा नम्बर ९ मै खहरे खोलामा पहिरोले २ जना दाइभाइलाई पुरेको छ । जसमा दाइलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने भाइ २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...