Skip to main content

धनगढी न्यूज

रवि नभएपछि डीपी र स्वर्णिम रास्वपाको ‘कमान्डर’

Advertisement

सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दा लम्बिने निश्चित भएपछि पार्टीभित्र जिम्मेवारी हेरफेरको प्रारम्भिक बहस सुरु भएको छ । लामो समययता रास्वपाका मुख्य पद ‘कार्यकारी जिम्मेवारी’का भरमा छन् ।

पछिल्लो पटक पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछानेको तर्फबाट थुना बाहिरै रहेर मुद्दा लड्न गरिएको माग सर्वोच्च अदालतले अस्वीकार गरेसँगै पार्टीभित्र नेताहरूको जिम्मेवारी हेरफेरको बहस सुरु भएको नेताहरू स्विकार्छन् ।

हाल रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारीमा डोलप्रसाद अर्याल (डीपी) छन् भने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका छन् । त्यस्तै कार्यवाहाक प्रवक्ता मनिष झा छन् । यसअघि पार्टी सभापति र संसदीय दलको नेताको हैसियतमा लामिछाने रहेका थिए । सर्वोच्चको पछिल्लो आदेशपछि रास्वपाको सभापति र दलको नेता परिवर्तन गर्नुपर्ने अवस्था आएको सो पार्टीका नेताहरूको भनाइ छ ।

सर्वोच्च अदालतले गत शुक्रबार रविबारे उच्च अदालतको आदेश सदर गरेको थियो ।

यसअघि उच्च अदालत दाङको बुटवल इजलासले २०८१ चैत्र २२ गते लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसलगत्तै लामिछानेलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसपछि लामिछाने पत्नी निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गोर्खा मिडियामार्फत् सहकारीको रकम अपचलनको आरोप लागेका सह–प्रतिवादी छविलाल जोशीसहित कुमार रम्तेल र अन्य प्रतिवादीबाट प्राप्त घटना विवरण र कागज तथा तत्काल प्राप्त प्रमाणबाट लामिछाने कसूरदार नरहेको विश्वस्त आधार नदेखिएको ठहर गरेको छ ।

‘उक्त कम्पनीमा यी प्रतिवादी रवि लामिछानेको संलग्नता कर्मचारीको हैसियतमा मात्र नभई कम्पनी सञ्चालनमा सारभूत रूपमा प्रभाव पार्ने हैसियतको देखियो’, लामिछानेका विषयमा अदालतले भनेको छ ।

लामिछानेमाथि कास्की, चितवन, काठमाडौँ र रुपन्देहीमा सहकारीको बचत अपचलनसम्बन्धी फरक फरक मुद्दा विचाराधीन छन् । त्यसअघि लामिछाने स्वर्णलक्ष्मी सहकारीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा र सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका थिए ।

‘हामी सभापति लामिछानेको पर्खाइमा थियौँ, त्यही भएर पार्टीमा जिम्मेवारी परिवर्तनको खासै चर्चा र छलफल पनि भएको थिएन’, एक नेताले भने, ‘सर्वोच्चको पछिल्लो आदेशले अव छलफल अघि बढाउनुपर्ने अवस्था आएको छ ।’

सर्वोच्चको आदेशपछि आइतबार बसेको रास्वपा केन्द्रीय कमिटीको बैठकले आदेशलाई स्विकार्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता मनिष झा आदेश स्विकार्दै आदेशमा भएका त्रुटिहरूबारे सार्वजनिक बहस गर्ने बताउँछन् ।

आइतबारको बैठकमा नेताहरूको जिम्मेवारी हेरफेरबारे खासै छलफल नभएको केन्द्रीय सदस्य समेत रहेका नेता शिशिर खनालको भनाइ छ । ‘आइतबारको बैठकमा सर्वोच्चको आदेश र गृहमन्त्रीको भिजिट भिसा प्रकरणबारे बढी छलफल भयो’, खनालले भने,‘सुमना श्रेष्ठ र अनिलकेशरीजीको राजीनामा स्वीकृत भएकोमात्र हो ।’

पार्टीका प्रमुख पद कहिलेसम्म कार्यवाहकले चलाउने ? भन्ने प्रश्नमा खनालले बिस्तारै टुङ्ग्याउँदै जाने बताए ।

तर अर्का एक जना नेताले रवि लामिछाने पछिल्लो पटक पक्राउ लगत्तै पार्टीमा नेताहरूको जिम्मेवारीबारे छलफल र चर्चा भएको बताए । ती नेताले रातोपाटीसँग भने, ‘आदेश आउनेवित्तिकै जिम्मेवारी हेरफेरको निर्णय गर्न उचित हुँदैन त्यसैले केही दिनपछि बैठक बसेर निर्णय हुन्छ ।’ नेताहरूको जिम्मेवारी लामिछानेसँगको सल्लाहमै गरिने पनि उनको भनाइ छ । ‘लगभग निश्चित जस्तै छ । त्यो भनेको पार्टीको कार्यबहाक सभापति उपाध्यक्ष डीपीजी हुनुहुन्छ उहाँले पार्टी चलाउने र दलको नेताको जिम्मेवारी अर्का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेजीले पाउने अवस्था छ’, ती नेताको भनाइ छ । रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ छन् । श्रेष्ठले पनि आफू दलको नेता हुने चाहना राखेका छन् । तर वाग्ले नेता हुने भएपछि श्रेष्ठको चाहना पूरा नहुने देखिएको सो पार्टीका सांसदहरुको भनाइ छ । त्यस्तै कार्यवाहक महामन्त्री र कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका बुर्लाकोटी र झालाई पनि महाधिवेशनसम्म सोही जिम्मेवारीमा निरन्तरता दिने रास्वपाको तयारी रहेको बुझिएको छ ।

कार्यबहाक प्रवक्ता झा नेताहरूको जिम्मेवारी हेरफेरबारे आफूले चार तरिकाले हेरेको बताउँछन् । ‘अहिले नै पार्टीभित्र कार्यकारी पदबारे चर्चा भइसकेको छैन’, झाले भने, ‘यसलाई मैले चार तहमा हेर्छु ।’ झाका अनुसार प्रस्ताव, सिफारिस, निष्कर्ष र त्यसपछि हुने निर्णय प्रमुख विषय हुन् । उनले प्रस्तावका रूपमा यी विषय प्रस्तावित नभइसकेको उनको दाबी छ । फागुनमा हुने महाधिवेशनअघि सबै कार्यकारीबाटै काम चलाउने हो त ? भन्ने प्रश्नमा झाले भने, ‘त्यो निष्कर्षमा पनि नपुगौँ । त्यसमा हामीले छलफल गर्न बाँकी छ ।’ अहिले पार्टीको ध्यान सर्वोच्चको आदेश र गृहमन्त्रीको भिजिट भिसाको अनियमिततामा केन्द्रित रहेको कार्यवाहक झाको भनाइ छ ।

लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको यही असारमा ३ वर्ष पुग्दैछ । यसअघि सो पार्टीले पहिलो महाधिवेशन ८२ वैशाखमा गर्ने तय गरेपनि लामिछाने पक्राउपछि मिति परिवर्तन गर्दै आगामी फागुन ७, ८ र ९ गते गर्ने निर्णय गरिसकेको छ ।

  • पार्टीमा रविको स्थान के हुन्छ ? 

रवि लामिछानेको क्रेजकै कारण रास्वपा गठन भएको छोटो समयमै २१ सिट सहित संसदमा चौथो स्थान बनाउन सफल भएको प्राय सबै नेताहरूको बुझाइ छ । तर उनको मुद्दा लम्बिँदै गएपछि पार्टीमा उनलाई सभापतिकै हैसियत राखिरहने वा के गर्ने भन्ने अगामी बैठकमा छलफल हुने नेताहरूको भनाइ छ । ‘छलफल त हुन सक्ला तर कानुनले नरोक्दासम्म आगामी महाधिवेशनसम्म उहाँ सभापतिकै पदमा हुनुहुन्छ’, एक नेताले भने, ‘त्यसपछिको अवस्था फरक हो । किनभने उहाँमाथिको अन्याय र अत्याचारबारे पार्टीले आगामी दिनमा पनि मुद्दा बनाउनैपर्नेछ ।’ कार्यवाहक प्रवक्ता झा सभापति लामिछाने दोषी ठहर नभएको अवस्थामा लामिछाने सभापतिकै हैसियतमा रहने बताउँछन् । विगतमा अन्य पार्टीका सभापति पनि थुनामा रहेका बेला सभापति कायमै रहँदै निर्वाचित समेत भएको  नजिर रहेको झाको दाबी छ । रतोपती बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...