Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै

Advertisement

धनगढीः सुदूरपश्चिमका पहाडी सात जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ। मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोगको संक्रमण हुने गर्छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको दर प्रत्येक वर्ष बढिरहेको जनाएको छ। स्क्रब टाइफसका बिरामी तराईका कैलाली, कञ्चनपुरबाहेकका सात पहाडी जिल्लामा बढिरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। पहाडी जिल्लामा यो संक्रमण आर्थिक वर्ष ०८०/८१ भन्दा गत आव (०८१/८२) मा १ हजार ४९८ जनाले वृद्धि भएको उनले बताए।

बैतडी, दार्चुला, बझाङ, अछाम, डडेलधुरा, बाजुरा र डोटीमा आव ०८०/८१ मा २ हजार ५६३ जना र गत आवमा ४ हजार ६१ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको निर्देशनालयको तथ्यांक छ। कैलाली, कञ्चनपुरमा भने स्क्रब टाइफसका बिरामीको संख्या घट्दो दरमा छ। यी दुई जिल्लामा आव ०८०/८१ को भन्दा गत आर्थिक वर्ष (०८१/८२) मा २९५ जना बिरामी घटेको छ।

यी दुई जिल्लामा आर्थिक वर्ष ०८०/८१ मा १ हजार १८३ जना र गत वर्ष घटेर ८ सय ८८ जना मात्र रोग देखिएको तथ्यांक छ। पहाडी सबै जिल्लामा प्रत्येक वर्ष स्क्रब टाइफसका बिरामी बढ्दै गइरहेको तथ्यांक छ। दुई वर्षमा पहाडी जिल्ला डडेलधुरा र अछाममा सबैभन्दा बढी व्यक्तिमा यो संक्रमण देखिएको छ। ऋार्थिक वर्ष ०८०/८१ मा डडेलधुरामा ६१५ जना र अछाममा ४४६ जना रहेकोमा यो संख्यामा गत आवमा वृद्धि भएर डडेलधुरामा १ हजार ३३९ जना र अछाममा १ हजार ८९ जनामा संक्रमण भेटिएको निर्देशनलायले दिएको तथ्यांकमा उल्लेख छ ।

यो संख्या अरू जिल्लाको तुलनामा धेरै हो। यस्तै २०८०/८१ मा दार्चुलामा २७७ जना, बझाङमा ३४३ जना, बैतडीमा २३१ जना, डोटीमा ६१२ जना र बाजुरामा ३९ जनामा संक्रमण देखिएको हो। गत वर्ष दार्चुलमा २१५ जना र बैतडीमा १३६ जनामा संक्रमण देखिएको छ । यी दुई जिल्लामा गत आवमा केही मात्रमा घटेको देखिन्छ भने अरू जिल्लामा बढेको छ। बझाङमा ३६७ जना, बाजुरामा ५६ जना र डोटीमा ८५९ जनामा संक्रमण देखिएको थियो। यो तथ्यांकले तराईकोभन्दा पहाडी जिल्लामा स्क्रब टाइफस संक्रमणको दर बढेको प्रमाणित गर्दछ।

यो रोगको समयमै उपचार गर्नसके मृत्यु हुने सम्भावना धेरै कम हुने स्वास्थ्यकर्मी बताउँछन्। सामान्यतः लक्षण टाइफाइडको जस्तो देखिए पनि स्क्रब टाइफसको समयमा उपचार हुन नसके यसले मानिसको ज्यान पनि लिन सक्ने जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताए। ‘यसले मिर्गौला, मस्तिष्क, फोक्सो, कलेजोमा संक्रमण हुने हुँदा समयमै उपचार नगरे बिरामीलाई बचाउन पनि गाह्रो हुन्छ,’ डा. विकले भने।

टोकेको ठाउँमा संक्रमण भएपछि शरीरका विभिन्न भागमा बिमिरा देखिने, ज्वरो आउने, शरीरका विभिन्न भाग दुख्नेलगायतका लक्षणहरू देखिने गरेको डा.विकले बताए। ज्वरोलाई सामान्य रुपमा नलिन उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले झाडी, खेतबारी, वनजंगलमा काम गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्ने, झाडी अथवा चौरमा बस्दा केही ओछ्याएर बस्नुपर्ने बताए । व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्नु तथा मुसा किर्ना नियन्त्रण गरे यस रोगबाट बच्न सकिने स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...