Skip to main content

धनगढी न्यूज

ओलीलाई ‘गुइँठा’ नै भारी

Advertisement

विराटनगर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि आफू निर्वाचन लड्दै आएको झापा–५ सफा सुग्घर रहेको र त्यहाँ महोत्तरी, धनुषाजस्तो गुइँठा बाल्ने अवस्था नभएको बताएका थिए । ओलीका ती अभिव्यक्ति उनी आफैँलाई भारी पर्ने देखिएको छ ।

ओलीले केही समय अगाडि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफ्नो क्षेत्रमा गुइँठा बाल्ने अवस्था नभएको आशय व्यक्त गरेका थिए । ‘दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ । यो महोत्तरी–धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एड्भान्स छ,’ उनले आफ्ना प्रतिस्पर्धी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति इङ्गित गर्दै भनेका थिए, ‘सफा–सुग्घर बेग्लै छ । उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा… उहाँले खै यहाँ गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ, मलाई थाहा छैन । यो ठाउँ त धेरै एड्भान्स छ नि…। उहाँले यहाँबाट सिक्नु पर्छ, यहाँ केही गर्नेभन्दा पनि । सिकेको त काठमाडौँमै देखिन्छ नि… ।’

ओलीको त्यही बोलीले उनकै निर्वाचन क्षेत्र अन्तर्गत गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकाका आदिवासी ताजपुरिया, राजवंशी लगायतका समुदाय असन्तुष्ट बनेको पाइयो । त्यहाँका स्थानीयले त बालेन्द्र शाहकी पत्नी सविना काफ्लेलाई गुइँठा उपहार नै दिए । ‘यो हाम्रो परम्परा हो । कसैले हाम्रो गुइँठाको लागि गुनासो गर्नुभएको छ । त्यसैले हामीले बालेन शाहकी श्रीमतीलाई यो उपहार दिन खोजेका हौँ,’ गुइँठा उपहार दिँदै गर्दा एक महिलाले भनिन् ।

गौरीगञ्जका एमाले समर्थक डिल्ली ढुंगाना पनि केपी शर्मा ओलीले गुइँठाको विषयमा बोलेको विषयले असर गरेको बताउँछन् । ‘नबोल्नु पर्ने कुरा बोल्नुभयो । हामी पनि गुइँठा बाल्न थालेका छौंँ । बाल्दै आएकाहरू त रिसाउने भइगए नि,’ ढुंगानाले भने ।

गौरादह–८ का कालिप्रसाद ताजपुरियाले गुइँठा ऊर्जाका लागिमात्रै नभएर पूजा पाठमा धूप बाल्न पनि प्रयोग गरिने बताए । ‘कात्तिकदेखि गुइँठा बनाउन सुरु हुन्छ । यो वैशाखको अन्तिमसम्म बनाएको बनायै हुन्छ । पानी पर्न थाल्यो भने बल्ल गोबरलाई मलखाडीमा थुपार्ने हो,’ उनले भने, ‘पूजापाठको लागि धूप बाल्नलाई गुइँठाको आगो भए झन् राम्रो । जुनसुकै पूजापाठमा, मरे–मराउमा पनि, बिहे–शादीमा पनि, सत्यनारायणको पूजा लाउँदा पनि यसको आगो अनि धूप चाहिन्छ ।’

ताजपुरियालाई आफूहरूको परम्परा र संस्कृतिसँग सम्बन्धित विषयमा अपमानजनक ढङ्गले ओलीले दिएका अभिव्यक्ति मन परेको छैन ।

 

गौरादह १, २, ३, ७ र ८ नम्बर वडा तथा गौरीगञ्जका प्रायः सबै वडामा पुग्दा त्यहाँ गुइँठा बनाएर सुकाइरहेको प्रशस्तै देख्न सकिन्छ । गुइँठा गाई, गोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ । यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ । स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो मानिँदैन । आगो छिटो नसल्कने, आगो सल्के पनि धुवाँ बढी फाल्नेलगायतका कारणले यसले स्वास्थ्यमा गम्भीर असर पार्छ । जसकारण श्वासप्रश्वास, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने जोखिम बढ्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...