Skip to main content

धनगढी न्यूज

इरान-इजरायल युद्ध : नेपाली भान्सादेखि अर्थतन्त्रसम्म फैलिएको परनिर्भरता

Advertisement

विश्व राजनीतिमा सन् २०२६ मार्च महिना एउटा यस्तो अनपेक्षित र विष्फोटक अध्याय बनेर सुरु भएको छ जसले स्थापित विश्व व्यवस्थाको साखलाई मात्र चुनौती दिएको छैन, बरु दशकौंदेखिको शक्ति सन्तुलन नै भत्काइदिने संकेत गरेको छ । १ मार्चका दिन इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सहित उच्च नेतृत्वको सैन्य प्रहारमा मृत्यु भएसँगै मध्यपूर्वको राजनीति एकाएक विष्फोटक बनेको छ ।

यो लडाइँ केवल तेहरान र तेलअभिभको टकराव मात्र नभई यसको पर्दा पछाडि अमेरिकी पेट्रोडलरको वर्चस्व जोगाउने रणनीति र त्यसलाई कडा चुनौती दिइरहेको इरान–चीन–रुस गठबन्धनबीचको भीषण शक्ति संघर्ष लुकेको छ । महाशक्ति राष्ट्रहरूको यही सामरिक दाउपेचको राप यतिबेला मध्यपूर्वको भूगोल नाघेर सिधै नेपालीको घरदैलो र भान्सासम्म आइपुग्ने जोखिम बढेको छ । आज मार्च ४ सम्म आइपुग्दा खाडीका तेल बन्दरगाहहरूमा भइरहेका ड्रोन प्रहारले विश्व बजार त्रसित मात्र छैन, बरु खाडीमा पसिना बगाइरहेका झन्डै २० लाख नेपालीको सुरक्षा र रेमिट्यान्सको भविष्यमाथि पनि संकटको भुमरी मडारिएको छ ।

हवाई उडान ठप्प हुँदा भोलि २१ फागुनको निर्वाचनका लागि घर फर्किन लागेका हजारौं नेपाली श्रमिक बीचबाटोमै अलपत्र पर्ने स्थिति बनेको छ । यो अन्योलले नेपालको म्याक्रो–इकोनोमिक स्थायित्वमा ठूलो धक्का पुऱ्याउँदै हाम्रो आयातमुखी बजार र समग्र आर्थिक अस्तित्व नै  जोखिममा धकेल्ने आशंका बढेको देखिन्छ ।

द्वन्द्वको पृष्ठभूमि : मित्रतादेखि अस्तित्वको लडाइँसम्म

इरान र इजरायलबीच वर्तमान शत्रुताको जरा सन् १९७९ को इस्लामिक क्रान्तिमा जोडिएको छ, त्यसअघि यी दुई देश घनिष्ठ रणनीतिक साझेदार थिए । क्रान्तिपछि सत्तामा आएको धार्मिक नेतृत्वले अमेरिकालाई ‘ठूलो सैतान’ र इजरायललाई ‘सानो सैतान’ को संज्ञा दिँदै कूटनीतिक सम्बन्ध तोड्यो । इरानले इजरायलको अस्तित्वलाई नै चुनौती दिँदै प्यालेस्टिनी मुद्दालाई आफ्नो एजेन्डा बनायो भने इजरायलले इरानी परमाणु कार्यक्रम र हमास–हिजबुल्लाह जस्ता समूहलाई आफ्नो ‘रेड लाइन’ मान्दै आएको छ । सन् २०१८ मा अमेरिका परमाणु सम्झौताबाट बाहिरिएपछि तेहरान र वासिङ्टनबीचको अविश्वास थप चुलियो । फलतः, दशकौंदेखि प्रोक्सी युद्धमा सीमित यी शक्ति अहिले प्रत्यक्ष सैन्य मुठभेडको यस्तो बिन्दुमा आइपुगेका छन्, जसले विश्वकै शक्ति सन्तुलनलाई पुनर्संरचना गर्ने संकेत गरेको छ ।

वैश्विक रणनीतिक दाउपेच र शक्ति संघर्षको प्रयोगशाला

ह्वाइट हाउसले यसलाई इरानी जनताका लागि स्वतन्त्रताको अवसर दाबी गरे पनि वास्तविकतामा यो पेट्रोडलरको साम्राज्य जोगाउने अमेरिकी दाउपेच र त्यसलाई चुनौती दिने इरान–चीन–रुस गठबन्धनबीचको एउटा भीषण रणनीतिक संघर्षको थलो साबित हुन सक्छ । यो युद्धको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही बेइजिङ र मस्कोका रणनीतिक कोठाहरूमा समेत प्रष्ट देखिन थालेको छ । संसार यतिबेला एउटा यस्तो ध्रुवीकरणको मोडमा उभिएको छ, जहाँ कूटनीतिक संवादभन्दा सैन्य प्रविधिको भाषा हावी हुँदै गएको देखिन्छ ।

हर्मुज जलसन्धिको नाकाबन्दी र विश्व बजारमा उत्पन्न परकम्प

वैश्विक शक्ति संघर्षको सबैभन्दा संवेदनशील केन्द्रबिन्दु यतिबेला हर्मुज जलसन्धि बनेको छ, जहाँबाट सुरु हुने अवरोधले विश्वव्यापी आपूर्ति प्रणालीको जग नै हल्लाइदिने निश्चित छ । इरान, ओमान र यूएईको बीचमा अवस्थित यो ३३ किलोमिटर चौडाइको साँघुरो समुद्रीमार्ग विश्व अर्थतन्त्रको मेरुदण्ड र लाइफलाइन दुवै हो । संसारमा खपत हुने कुल कच्चा तेलको झन्डै २५ प्रतिशत र तरल प्राकृतिक ग्यासको एक तिहाइ हिस्सा यही बाटो भएर अन्तर्राष्ट्रिय बजार पुग्ने गर्छ ।

इरानले यो मार्गबाट एक थोपा तेल पनि बाहिर जान नदिने चेतावनी दिएसँगै अन्तर्राष्ट्रिय ढुवानी बजारमा अभूतपूर्व अस्थिरता देखिएको छ । लन्डन स्टक एक्स्चेन्ज ग्रुपका अनुसार मध्यपूर्वी आकाश र समुद्रीमार्ग असुरक्षित हुँदा सुपरट्यांकरको भाडा दर एकै सातामा इतिहासकै उच्च बिन्दु ४ लाख २३ हजार डलर पुगेको छ । ढुवानी लागत यसरी बढ्नुको सिधा अर्थ हो अब विश्वभरि उपलब्ध हुने हरेक वस्तुको मूल्यमा इन्धन र ढुवानीको भार थपिने छ । यो भौगोलिक संवेदनशीलताले गर्दा हर्मुज जलसन्धि अहिले नक्सामा कोरिएको गल्छीमात्र नभई  युद्धको सबैभन्दा ठूलो रणनीतिक अस्त्र र नेपालजस्ता आयातमुखी देशका लागि आर्थिक संकट प्रस्थानबिन्दु बनेको छ ।

भूराजनीतिक स्वार्थ र महाशक्तिहरूको रणनीतिक दाउपेच

हर्मुज जलसन्धिको यो सामरिक तनाव केवल तेल आपूर्तिमा मात्र सीमित छैन, यसको भित्री तहमा महाशक्ति राष्ट्रहरूको गहिरो भूराजनीतिक र आर्थिक स्वार्थ लुकेको देखिन्छ । ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अघि सारिएको ‘ऊर्जा प्रभुत्व’ को आक्रामक रणनीति यसको एउटा मुख्य कडी हुन सक्छ । इजरायललाई अमेरिकाले दिँदै आएको सैन्य र कूटनीतिक समर्थनका पछाडि रणनीतिक मित्रतासँगै पेट्रोडलरको विश्वव्यापी साम्राज्य जोगाउने स्वार्थ समेत जोडिएको देखिन्छ । विश्वभरिको तेल व्यापार डलरमा हुने भएकाले नै अमेरिकी मुद्राले विश्वको रिजर्भ करेन्सीको हैसियत पाएको छ । यदि इरानले चीन वा रुससँग मिलेर यो एकाधिकारलाई चुनौती दिए त्यसले अमेरिकी आर्थिक वर्चस्वमा गम्भीर धक्का पुऱ्याउन सक्छ ।

 

यहीँनेर चीन र रुसको सामरिक स्वार्थ पनि उत्तिकै गहिरो छ । चीनका लागि इरान ऊर्जा आपूर्तिको स्रोतमात्र नभई उसको बेल्ट एन् रोड इनिसिएटिभको महत्त्वपूर्ण खण्डसमेत हो ।अर्कातर्फ रुसका लागि मध्यपूर्वको यो अस्थिरता युक्रेन युद्धबाट विश्वको ध्यान अन्यत्र मोड्ने र पश्चिमाहरूको सैन्य संसाधन विभाजित गर्ने एउटा अवसर बन्न सक्छ । इरानले रुसलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहयोग र बदलामा रुसले दिने अत्याधुनिक रक्षा प्रणालीले एउटा नयाँ पश्चिमा विरोधी ध्रुवीकरणलाई प्रश्रय दिइरहेको छ । महाशक्ति राष्ट्रहरूबीचको यो रणनीतिक प्रतिस्पर्धाले विश्वलाई नै एउटा जटिल मोडमा पुऱ्याएको छ, जसको परकम्प नेपालको अर्थतन्त्रमा समेत बिस्तारै महसुस हुन थालेको छ ।

नेपालको ऊर्जा सुरक्षा र रेमिट्यान्समा आधारित अर्थतन्त्रमाथिको जोखिम

मध्यपूर्वको यो भूराजनीतिक अस्थिरताले नेपालको परनिर्भर अर्थतन्त्रका दुइटा अत्यन्तै संवेदनशील पक्ष इन्धन आपूर्ति र रेमिट्यान्स प्रवाहमा गम्भीर चुनौती थपिदिएको छ ।

नेपालको इन्धन सुरक्षाको अवस्था कति कमजोर छ भन्ने कुरा वर्तमान संकटले स्पष्ट पारिदिएको छ । हामी आफ्नो ऊर्जा आवश्यकताका लागि पूर्णतः आयातमा निर्भर रहँदै आएका छौं । हाम्रो इन्धनको मुख्य स्रोत इन्डियन आयल कर्पोरेसन हो, तर भारत आफैं आफ्नो ८५ प्रतिशत कच्चा तेल मध्यपूर्वबाटै आयात गर्दछ । हर्मुज जलसन्धिको नाकाबन्दीले भारतमै संकट पैदा गर्ने हुनाले नेपालमा इन्धन आपूर्ति ठप्प हुने जोखिम अझ बढी देखिन्छ ।

 

विकसित देशले ९० देखि १ सय दिनको इन्धन भण्डारण क्षमता कायम राख्दा र छिमेकी राष्ट्रले समेत दीर्घकालीन मौज्दात सुनिश्चित गर्दा नेपालको पेट्रोल र डिजेलको भण्डारण क्षमता करिब १३ दिन र हवाई इन्धन क्षमता करिब १० दिनमात्र हुनु राष्ट्रिय सुरक्षाका दृष्टिले चुनौतीपूर्ण देखिन्छ । यदि खाडी मुलुकबाट हुने आपूर्ति शृङ्खलामा अवरोध आए नेपालको यातायात, निर्माण र औद्योगिक क्षेत्र केही साताभित्रै ठप्प हुन सक्ने जोखिम रहन्छ । दशकौंदेखि चर्चामा रहेका इन्धन भण्डारण गृहहरूको निर्माणमा भएको ढिलाइले गर्दा अहिले आमउपभोक्ताले मूल्यवृद्धि र अभाव सामना गर्नुपर्ने अवस्था आउनु एउटा विडम्बना हो । यसले अब पेट्रोलियम पदार्थको विकल्पमा आन्तरिक जलविद्युत्‌ खपतलाई प्राथमिकताका साथ बढाउनुको विकल्प छैन भन्ने सत्य पुनः पुष्टि गरेको छ ।

ऊर्जा सुरक्षा जस्तै, नेपालको अर्थतन्त्रको अर्को मुख्य खम्बा मानिने वैदेशिक रोजगारी र त्यसबाट प्राप्त हुने रेमिट्यान्स पनि यतिबेला मध्यपूर्वको तनावका कारण जोखिममा पर्न सक्ने देखिएको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब एक तिहाइ हिस्सा ओगट्ने रेमिट्यान्सको मुख्य स्रोत कतार, साउदी अरब र यूएईजस्ता देश हुन् । तथ्यांक अनुसार कुवेत, बहराइन र ओमानमा मात्रै करिब १९ लाख नेपाली कार्यरत छन् । परिस्थितिको गम्भीरता हेर्दै नेपाल सरकारले १ मार्च २०२६ देखि लागु हुने गरी इरान, इजरायल र जोखिमपूर्ण खाडी क्षेत्रका लागि नयाँ श्रम स्वीकृति दिन अस्थायी रोक लगाइसकेको छ, जसले गर्दा निकट भविष्यमा रेमिट्यान्सको मुख्य स्रोत नै प्रभावित हुने डर पैदा भएको छ ।

मार्च २०२६ को यो रणनीतिक धक्काले नेपाली श्रमिकहरू कार्यरत निर्माण र सेवा क्षेत्र प्रभावित तुल्याउन सक्ने प्रबल सम्भावना छ । यदि मासिक रूपमा भित्रिने रेमिट्यान्समा उल्लेख्य गिरावट आयो भने बैंकहरूमा लगानीयोग्य रकम अभाव भई ब्याजदर बढ्न सक्ने र त्यसले समग्र व्यापार–व्यवसायमा नकारात्मक असर पुऱ्याउन सक्छ । परिस्थिति अझ जटिल बनेर ठूलो संख्यामा श्रमिक स्वदेश फर्कनुपर्ने अवस्था आए उनीहरूको व्यवस्थापन र वित्तीय सन्तुलन कायम राख्नु राज्यका लागि एउटा कठिन परीक्षा साबित हुन सक्छ । रेमिट्यान्स प्रवाहमा आउने न्यूनताले शोधनान्तर स्थिति र वैदेशिक मुद्रा सञ्चितिमा समेत दबाब सिर्जना गरी मध्यम वर्गको क्रयशक्ति घटाउने र गरिबी निवारणका प्रयासलाई ओझेलमा पार्ने खतरा देखिन्छ ।

म्याक्रो–इकोनोमिक सूचकमा देखिने चुनौती र मुद्रास्फीति दबाब

ऊर्जा र रेमिट्यान्समा देखिने यो अनिश्चिततासँगै नेपालको आन्तरिक अर्थतन्त्रका अन्य म्याक्रो–इकोनोमिक सूचकमा समेत यसको नकारात्मक असर देखिन सक्ने सम्भावना उत्तिकै बलियो छ । नेपाल एउटा आयातमुखी मुलुक भएकाले खाद्यान्नदेखि औद्योगिक कच्चापदार्थसम्मका वस्तुका लागि हामी वाह्य बजारमै निर्भर छौं । मध्यपूर्वको तनावले अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य र ढुवानी लागत वृद्धि हुनासाथ नेपालको आपूर्ति शृङ्खला प्रत्यक्ष प्रभावित हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा अहिले नै ढुवानी खर्चमा ५० प्रतिशतसम्म वृद्धि भइसकेको छ। यसैबीच गोल्डम्यान स्याक्स र जेपी मोर्गनजस्ता बहुराष्ट्रिय बैंकहरूले कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ५० देखि १ सय ८० अमेरिकी डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन्, जसले नेपालको आयातित महँगी अझ भयावह बनाउने निश्चित छ । इन्धन मूल्यवृद्धिका कारण तराईबाट पहाडी जिल्लासम्म खाद्यान्न ढुवानी गर्दा लागतमा उल्लेख्य वृद्धि भई हाल एकल अंकमा रहेको मुद्रास्फीति पुनः दोहोरो अंकमा पुग्न सक्ने जोखिम रहन्छ । यस्तो आयातित मुद्रास्फीतिले न्यून आय भएका वर्गको क्रयशक्तिमा ह्रास ल्याई सामाजिक र आर्थिक असन्तोषको वातावरण समेत सिर्जना गर्न सक्छ ।

यसैगरी नेपाललाई बाँकी विश्वसँग जोड्ने प्रमुख हवाईमार्ग मानिने दोहा, दुबई र इस्तानबुलका उडान प्रभावित हुनु नेपालको पर्यटन उद्योगका लागि चुनौतीपूर्ण साबित हुन सक्छ । सरकारले पर्यटन दशकको लक्ष्य राखे पनि मध्यपूर्वी आकाशको सुरक्षा संवेदनशीलता र महँगिएको हवाई इन्धनले पर्यटक आगमनमा प्रतिकूल असर पार्न सक्ने देखिन्छ । कतार एयरवेज र फ्लाई दुबईजस्ता प्रमुख वायुसेवा कम्पनीले उडान कटौती वा मार्ग परिवर्तन गर्दा नेपालको अन्तर्राष्ट्रिय सम्पर्कमात्र कमजोर हुने छैन, बरु पर्यटनमा आधारित रोजगारी र विदेशी मुद्रा आर्जनमा समेत कमी आउन सक्छ ।

कूटनीतिक सक्रियता र आत्मनिर्भर अर्थतन्त्रको अपरिहार्यता

यी म्याक्रो–इकोनोमिक जोखिम न्यूनीकरण गर्न नेपालले अब आफ्नो असंलग्न परराष्ट्र नीति र आन्तरिक आर्थिक रणनीतिमा परिवर्तन गर्नु अपरिहार्य देखिएको छ ।

वर्तमानको यो जटिल परिस्थितिमा नेपालको कूटनीतिक क्षमताको कडा परीक्षण हुने देखिन्छ । एकातिर शक्ति राष्ट्रहरूको रणनीतिक दबाब र अर्कातिर मध्यपूर्वमा रहेका करिब २० लाख नेपाली श्रमिकको सुरक्षाबीच नेपालले अत्यन्तै सन्तुलित कदम चाल्नुपर्ने हुन्छ । परराष्ट्र मन्त्रालयले क्राइसिस सेलमार्फत सम्बन्धित देशसँग निरन्तर संवादको पहल गर्नुका साथै क्षेत्रीय ऊर्जा सुरक्षा र आपूर्ति शृङ्खलाका लागि छिमेकी राष्ट्रहरूसँग समेत साझा रणनीति बनाउनु अहिलेको मुख्य दायित्व हो ।

आर्थिक दृष्टिकोणले यो सङ्कटले नेपाललाई आत्मनिर्भरताको वास्तविक अर्थ बुझाएको छ । ऊर्जामा आत्मनिर्भर हुनु भनेको अब पेट्रोलियम खानीको खोजी गर्नुमात्र होइन, बरु इन्धनको परनिर्भरतालाई स्वदेशी जलविद्युत्‌ले विस्थापन गर्नु हो भन्ने यथार्थ स्पष्ट भएको छ । अबको राष्ट्रिय नीति स्पष्ट ऊर्जा र कृषि क्षेत्रमा केन्द्रित हुनुपर्ने देखिन्छ, जहाँ विद्युतीय सवारी र इन्डक्सन चुलो प्रयोगलाई विलासिताको वस्तु नभई राष्ट्रिय सुरक्षाको एउटा अभिन्न अंगका रूपमा लिइनु आवश्यक छ ।

आसन्न निर्वाचनपछि बन्ने नेतृत्वले विगतका तदर्थवादी शैली र अल्पकालीन स्वार्थभन्दा माथि उठेर आयातित इन्धन र खाद्यान्नको बोझ घटाउने ठोस कार्ययोजना ल्याउनुपर्ने छ। वाह्य क्षेत्रको सङ्कटले हाम्रो आर्थिक अस्तित्व र राष्ट्रिय सार्वभौमिकतालाई नै प्रभावित पार्न सक्ने जोखिम रहेकाले, डलर र पेट्रोलियम पदार्थको परनिर्भरताबाट क्रमशः मुक्त हुँदै जानु नै नेपालको दीर्घकालीन सुरक्षाको निर्विकल्प मार्ग हुन सक्छ ।

आत्मनिर्भरताका लागि चुनावी संकल्प

मध्यपूर्वको सामरिक तनाव र वैश्विक ध्रुवीकरणले नेपालको परनिर्भर अर्थतन्त्रका कमजोरी सतहमा ल्याइदिएको छ । द्वन्द्व जति लम्बिने छ, नेपाली अर्थतन्त्रमा म्याक्रो–इकोनोमिक जोखिम त्यति नै बढ्दै जानेछन् । हामी यतिबेला राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा छौं, जुन केवल सत्ता परिवर्तन नभई प्रशासनिक र कूटनीतिक कमजोरीहरू चिर्दै परनिर्भरताको जालो तोड्ने ऐतिहासिक अवसर हो ।

त्यसैले यसपालि मतदान गर्दा हामी अत्यन्तै सचेत र विवेकशील हुन जरुरी छ । राष्ट्र आत्मनिर्भर बनाउने स्पष्ट दृष्टिकोण भएका र देश निर्माणमा समर्पित योग्य उम्मेदवार छनोट गर्नु नै आजको मुख्य आवश्यकता हो । अबको शासनको बागडोर यस्ता सबल र दूरदर्शी व्यक्तिहरूको हातमा सुम्पिनुपर्छ, जसले रेमिट्यान्स र विदेशी सहयोगको लाइफ सपोर्टमा चलेको अर्थतन्त्र विस्थापन गरी उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको नीतिगत क्रान्ति ल्याउन सकून् ।

अबको निर्विकल्प बाटो स्वदेशी जलविद्युत्‌ मार्फत भान्सा र यातायातको विद्युतीकरण गर्ने र आन्तरिक उत्पादनले बजार धान्ने साहसी नीति लागु गर्नु नै हो । यदि अबको नेतृत्वले पनि विगतकै ढिलासुस्ती र तदर्थवाद निरन्तरता दियो भने भविष्यमा यसको मूल्य अकल्पनीय हुन सक्छ ।

तसर्थ, निर्वाचन पूर्वसन्ध्याको यो घडी केवल मत बदल्नेमात्र होइन, आफ्नो विवेक र देशको भविष्य बदल्ने अवसर हो । भविष्यप्रति आशावादी एक जिम्मेवार नागरिकका नाताले स्वावलम्बी राष्ट्र निर्माणका लागि स्पष्ट भिजन र ल्याकत भएको प्रतिनिधि रोज्नु नै आजको निर्वाचनमा देशको अनिवार्य आवश्यकता र समयको माग हो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...