Skip to main content

धनगढी न्यूज

के दल र उम्मेदवारका प्रतिनिधिलाई झुक्याएर मतपेटिका साट्न सम्भव हुन्छ ?

Advertisement

२० फागुन, काठमाडौं । निर्वाचनका क्रममा कतिपय दलका नेता एवं उम्मेद्वारहरूले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् ।

विगतका निर्वाचनमा बारम्बार प्रकट हुने यस्ता अभिव्यक्ति यसपटक पनि रोकिएन । यसपाली त नेपाली सेनाले नै मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ओसार्ने हल्ला चलेपछि कतिपय उम्मेद्वारहरूले ‘आफ्ना कार्यकर्ताहरूले आँखा झिम्म नगरी चनाखोपन अपनाउने र खबरदारी गर्ने’ प्रतिक्रिया दिए ।

निर्वाचनको निष्पक्षता र स्वच्छतामा नै प्रश्न उठ्ने गरी हुने यसखालका टिका टिप्पणीबारे हामीले निर्वाचन आयोगका अधिकारीहरूलाई सोधेका छौं । मतदान हुनु अघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाइने भन्दै उनीहरूले मतपेटिका साटिन सम्भव नै नभएको बताए ।

निर्वाचन आयोगका अधिकारीहरू मतपेटिका साटिन्छ कि भनेर शंका गर्नुपूर्व मतपेटिका, त्यसको सुरक्षा र मतदान शुरू गर्नुअघिको कार्यविधी जान्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार, विभिन्न चरणमा अपनाइने सुरक्षा प्रोटोकलका कारण मतपेटिका साटिनु त टाढाको कुरा, उस्तै मतपत्र बनाउन समेत सम्भव हुँदैन ।

मतपत्रमा सुरक्षा फिचर

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मतदान केन्द्रमा तोकिएको संख्यामा मात्रै मतपेटिका र मतपत्र पुग्ने भएकाले नक्कली काम गर्ने मौकै नहुने बताउँछन् । उनका अनुसार, मतदान केन्द्रहरूमा तोकिएको संख्यामा मात्रै मतपत्र जान्छ ।

अर्कोतर्फ मतपत्रमा सुरक्षा संयन्त्र र कोड समावेश गरिएको हुन्छ ।

‘वास्तविक मतपत्र सुरक्षा घेराभित्र छपाई हुन्छ । आयोगमा रहेका कर्मचारी र निर्वाचन अधिकृतहरूले समेत मतपत्र कस्तो छ भन्ने हेर्न पाएका हुँदैनन्’ उनी भन्छन्, ‘मतदान अधिकृतकोमा पुगेपछि मतदान गर्ने बेलामा मात्रै मत रहेको पोको खुल्छ । चलखेलको मौकै रहँदैन ।’

निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूलाई मात्रै मतपत्रको सुरक्षा कोड पठाउँछ, त्यसका आधारमा निर्वाचन अधिकृतहरूले मतपत्र सक्कली हो कि नक्कली सहजै थाहा पाउँछन् । तर मतपत्र छाप्नेदेखि मतगणना गर्ने ठाउँसम्म सिलसिलेवार रुपमा मिलेमतो गर्दा समेत बाहिरी ब्यक्तिले उस्तै खालको नक्कली मतपत्र छाप्न सक्दैन ।

मतपेटिकामा हुन्छ, सिल 

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार, मतपेटिकामा दुईथरी बिर्को हुन्छ । एउटा ठूलो विर्को पुरै खोल्न मिल्छ । बिर्कोमा नै अर्को सानो प्वाल हुन्छ, जहाँबाट मतदाताले छाप लगाएको मत खसाउन मिल्छ, तर त्यहाँबाट मत निकाल्न नमिल्ने गरी बनाइएको हुन्छ ।

मुख्य बिर्कोमा चारवटा सिल लगाउन मिल्छ । मतपत्र घुसार्ने सानो प्वालको बिर्कोमा पनि अर्को सिल लगाउन मिल्छ ।

शुरूको मतदान गर्नुअघि सम्भव भएसम्म सबै दलका प्रतिनिधिहरूलाई साथमा राखेर मतदान अधिकृतले रित्तो मतपेटिका घोप्टो पार्छन, ताकी मतपेटिकामा पहिले केही राखेको भए खसोस् र रित्तो भएको सुनिश्चित होस । त्यसपछि बिर्को लगाइन्छ र बिर्कोमा चारवटा सिल लगाइन्छ ।

निर्वाचन आयोगले मतपेटिकामा लगाउने सिल प्लाष्टिकको हुन्छ । सिल लगाएर तानेपछि त्यो कसिन्छ, तर फुस्काउन मिल्दैन । सिल तोड्नका लागि कैचीले सिलको बाहिरको भाग काट्नुपर्छ ।

हरेक सिलमा नदोहोरिने सिरियल नम्बर हुन्छ । कुनैपनि सिलको सिरियल नम्बर दोहोरिदैन । दलका प्रतिनिधिले सिल लगाएपछि मुचुल्कामा हस्ताक्षर गर्नुपर्छ । त्यसक्रममा सिलको सिरियल नम्बर पनि मुचुल्कामा लेखिन्छ । उनीहरूले चाहेमा मुचुल्काको फोटो खिचेर लैजान पाउँछन् ।

बिहान ७ बजेदेखि मतदान हुदा मतपेटिकाको मुख्य बिर्को सिलबन्दी गरिएको हुन्छ र माथिबाट पट्याएको मतपत्र खसाल्ने प्वाल मात्रै खुला हुन्छ, त्यहाँबाट मतपत्र निकाल्न मिल्दैन ।

साथमै रहन्छन्, उम्मेदवारका प्रतिनिधिहरू

बेलुकी ५ बजे मतदान सकिएपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधीहरूलाई बोलाउँछन् । उनीहरूको प्रत्यक्ष उपस्थितीमा मतपेटिकाको बिर्कोमा रहेको मत खसाल्ने प्वालमा पनि अर्को सानो बिर्को लगाएर सिलबन्दी गर्छन । पुरै सिलबन्दी भएको मतपेटिका सुरक्षाकर्मीको घेराभित्र रहने मतदान अधिकृतको जिम्मामा रहन्छ ।

दलका नेताहरूले मतदान हुने ठाउँदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लैजाँदा धाँधली हुने, मतपेटिका साटिने आशंका गर्दै अभिव्यक्ति दिएका हुन्छन् ।

मतदान अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा लगेर सिलबन्दी भएको मतपेटिका र मुचुल्का बुझाउँछन् । निर्वाचन आयोगले सम्भव भएसम्म दलका प्रतिनिधीहरूलाई पनि मतपेटिकाका साथमा लैजाने व्यवस्था मिलाउनु भनेको हुन्छ ।

व्यहारिक रुपमा सम्भव नहुने र धेरै उम्मेद्वार भएका ठाउँमा दलका प्रतिनिधीहरू मतपेटिका बोलेका सवारीसाधनसँगै अर्को सवारीसाधनमा बसेर आउने व्यवस्था हुन्छ ।

दुर्गममा हेलिकप्टरबाट मतपेटिका ओसार्दा समेत आयोगले दलका प्रतिनिधीहरूलाई सम्भव भएसम्म साथमा लैजान निर्देशन दिएको हुन्छ । मतदान अधिकृतले बुझाएका मतपेटिकाहरूलाई निर्वाचन अधिकृतले एकैठाउँमा संकलन र भण्डारण गरेर राखेका हुन्छन् ।

ती मतपेटिका रातभर राख्नुपरेमा कोठाका सबै झ्याल र प्वालहरू बन्द गरिन्छ अनि ढोका लगाएर सिलबन्दी गर्ने चलन हुन्छ । त्यसमा पनि विश्वास नगर्ने पक्षको प्रतिनिधीलाई ढोकाबाहिर सुरक्षाकर्मीको छेवैमा बस्ने वा सुत्ने व्यवस्था गरिदिने अभ्यास छ ।

सबैतिरबाट मतपेटिका संकलन भएपछिमात्रै मतगणनाको काम शुरु हुन्छ । मतपेटिकाको बिर्कोको सिल तोडनुअघि शुरूको मुचुल्कामा लेखेको नम्बर र सिलमा रहेको सिरियल नम्बर रुजु गरिन्छ । त्यसपछि दलका प्रतिनिधीहरूको रोहवरमा मतपेटिकाबाट मतपत्र निकालेर गणनाको शुरु हुन्छ ।

सैनिकहरूले सुरक्षा मात्रै दिन्छन्, मतपेटिका बोक्दैनन्

यसपाली कतिपयले मतदान स्थलबाट मतगणनास्थलसम्म मतपेटिका ओसार्ने काममा नेपाली सेना परिचालन हुने भनी सन्देश प्रवाह गरे ।

कार्यबाहक प्रमुख निर्वाचन आयुक्तदेखि गृहमन्त्रीसम्मले अनलाइनखबरसँगको प्रतिक्रियामा मतपेटिका ढुवानीका बेला सुरक्षाको बाहिरी घेरामा नेपाली सेना रहने भएपछि मतपेटिका ओसार्ने काममा नै संलग्न नहुने स्पष्ट पारेका छन् ।

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार, मतपेटिका सुरक्षित गर्ने प्रयोजनका लागि नेपाल प्रहरीका सुरक्षाकर्मीहरू रहन्छन् ।

‘मतपेटिका बन्द गर्ने क्रममा नेपाली प्रहरीका सुरक्षाकर्मीहरू उपस्थित हुन्छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी त्यहाँ रहदैनन्’ उनी भन्छन्, ‘मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने क्रममा तीन तहमा सुरक्षाकर्मीहरूले घेरेर सुरक्षा दिनुपर्नेहुन्छ । मतपेटिका र नेपाली सेनाको कुनै सम्बन्ध नै हुदैन ।’

गृहमन्त्री ओमप्रकाश अर्याल पनि मतपेटिका राखिएको गाडीमा मतदान अधिकृत, नेपाल प्रहरी र उम्मेद्वारका प्रतिनिधिहरू मात्रै रहने बताउँछन् । उनका अनुसार, त्यो गाडीमा एकभन्दा बढी उम्मेदवारका प्रतिनिधिहरू रहने भएकाले धाँधली वा चलखेलको शंका गर्नुपर्ने अवस्था नै रहँदैन । उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘मतपेटिका बोकेको यो गाडीलाई सशस्त्र प्रहरी बलको गाडीले स्कटिङ गर्ला । त्यतिले नपुगेर नेपाली सेनाले पनि स्कटिङ गर्ला । सुरक्षा त दिनुपर्‍यो, हैन र ?’

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी मतपत्र छपाईदेखि मतपेटिकामा हुने सिलबन्दी अनि उम्मेदवारहरूका प्रतिनिधिहरूको उपस्थितीले गर्दा चलखेल र धाँधलीको सम्भावना नै नहुने बताउँछन् ।

‘मतपत्र बाहिर छापिन सम्भव नै छैन । कसरी नक्कली मतपत्रबाट मतदान हुने ? दलका प्रतिनिधिहरूको उपस्थितीमा कहाँबाट सिलबन्दी भएको मतपेटिका सार्ने ?’ कार्यबाहक प्रमुख आयुक्त भण्डारी भन्छन्, ‘जुन प्रश्न गर्नुभयो, नेपालका निर्वाचनहरूमा पहिले पनि बारम्बार चल्ने हल्लाहरू हुन् । यिनमा शुन्य प्रतिशत पनि सत्यतता छैन ।’अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...