Skip to main content

धनगढी न्यूज

इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

Advertisement

२७ फागुन, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइरहँदा प्रदेश अस्पतालको शवगृहमा एक किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो ।  त्यो शव थियो, गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको ।

इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

इनिसाको बलात्कारपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२३ गते के भएको थियो ?

घटनास्थल

२३ गते, शनिबार बिहान ६ बजेको थियो । इनिसा ‘ट्युसन पढ्न जान्छु’ भन्दै तयार भइरहेकी थिइन् । उनकी आमा तिला विकले ‘आज शनिबार हो, नजाऊ गुर्भाकोट घर जानुछ’ भन्दै रोक्न खोजिन् । तर, इनिसाले २ घण्टाभित्र फर्किहाल्ने भन्दै जिद्दी गरेर घरबाट निक्लिइन् ।

उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । बिहान ८ बजे फर्किसक्ने भनेर घरबाट निस्किएकी छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् । तर फोन स्वीच अफ थियो । ‘स्कुलमा पनि फोन गरेँ तर फोन उठेन । कम्प्युटर पढाउने माधव सरको फोन पनि अफ थियो,’ इनिसाकी आमा तिला भन्छिन् ।

केही समयपछि बिरानो नम्बरबाट फोन गर्दै कसैले भन्यो ‘तपाईंकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन् । छिटो लिन आइहाल्नुस् ।’ तिला सानो छोरा च्यापेर हतारिँदै शहीद पार्क पुगिन् । उनका अनुसार इनिसाको शरीर रक्ताम्मे थियो । कपाल लुछिएको, घाँस मडारिएको थियो । एकातिर जुत्ता, अर्कोतिर मोजा थियो ।

खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा थिएन । कालो ज्याकेटले छोपेको थियो । ‘कालो ज्याकेट हटाउँदै प्रहरीले छोरीको अनुहार देखायो । छातीभरि नीलडाम थिए,’ तीलाले भक्कानिँदै भनिन्, ‘छोरीको त्यो अवस्था देखेपछि मेरा शरीर काँप्न थाल्यो । आँखा तिरमिराउन थाले । म त्यहीँ बेहास भएछु । प्रहरीले छोरीलाई अस्पताल पुर्‍याएको पनि थाहा पाइनँ ।’

दुबई एयरपोर्टमा अलपत्र छन् बुवा

विछिप्त अवस्थामा इनिसाकी आमा तिला ।

इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा छन् । पछिल्लो ६ वर्ष यता दुबईको सेनामा कार्यरत उनी छुट्टिमा घर आएर एक महिना अगाडि मात्रै दुबई गएका थिए ।

छोराछोरीको सुन्दर भविष्यका लागि भन्दै इन्द्रबहादुर विदेशिए । छोराछोरी पढाउन भनेर तीला पाँच वर्षयता वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिसा पढाइमा राम्रो विद्यार्थी थिइन् । विज्ञान विषय लिएर पढिरहेकी उनी डाक्टर बन्न चाहन्थिन् । बुवा–आमाको सपना पनि छोरी डाक्टर बनेको देख्नु थियो । आँखै अगाडि फूल जसरी हुर्काएकी छोरीको गला कसले र किन निमोठ्यो ? यसको उत्तर अभिभावकसँग छैन ।

छोरीको मृत्युपछि आमा तिलाको स्वास्थ्य कमजोर बन्दै गएको छ । छोरीको मृत्युको खबरले विक्षिप्त बुवा इन्द्रबहादुर पुन: घर फर्किने प्रयासमा छन् । तर मध्यपूर्व क्षेत्रमा जारी लडाइँले दुबईको एयरपोर्ट बन्द भएकाले उनको उडान अनिश्चित भएको छ ।

‘बहिनीको मृत्युपछि माइज्यूले केही खानु भएको छैन । स्वास्थ्य निकै कमजोर बन्दै गएको छ’, चन्द्रबहादुरले भने, ‘मामा उता दुबई एअरपोर्टमा अलपत्र पर्नुभएको छ ।’

घरमा इनिसाकी आमा पनि विक्षिप्त छिन् । दुबईको एअरपोर्टमा अलपत्र बुवा इन्द्रबहादुर कहिले नेपाल आउने टुंगो छैन । चन्द्रबहादुर र उनका ४–५ जना साथीहरू न्यायको पर्खाइमा जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । ‘घर जाउँ माइज्यूको हालत हेर्ने हिम्मत छैन । प्रहरीकोमा जाउँ चित्तबुझ्दो जवाफ आउँदैन’, जिप्रका अगाडि चौरमा बसिरहेका चन्द्रबहादुरले भने, ‘यसरी धाउन थालेका आज चार दिन भयो । प्रहरीले केहीलाई पक्राउ त गरेको छ । तर घटनाको टुंगो लगाउन ढिलाइ गरिरहेको छ ।’

अनुसन्धान कसरी भइरहेको छ ?

 

मृतकको परिवारले सामूहिक बलात्कार पछि इनिसाको हत्या भएको दाबी गरेको छ । सोही अनुसार चार जनाविरुद्ध परिवारले कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

‘हामीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौँ । पक्राउ परेकाहरू सबै नाबालिग हुन् । उनीहरूको बयान सुरु भएको छैन’, डिएसपी बुढथापाले भने, ‘प्रदेश अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि हामी एउटा निष्कर्षमा पुग्छौं ।’

प्रहरीका अनुसार पुन: पोस्टमार्टम र थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगन्जबाट तीन जना विशेषज्ञको टोलीलाई सुर्खेत बोलाइएको छ । ‘घटनाको गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएका छौँ’ऽ उनले भने ।

प्रहरीका अनुसार २३ गते पक्राउ परेका १६ वर्षीय युवकले इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अरु तीन जना साथीहरूलाई बोलाएर सहयोग मागेको बयान दिएका छन् । तर मृतकको परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ । घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कार पछि नै हत्या गरेको जस्तो देखिने परिवारको दाबी छ ।

‘सामान्य शारीरिक सम्पर्क हुँदैमा कसैको ज्यान कसरी जान्छ ? यो कस्तो लजिक हो ?’ इनिसाका दाजु नाता पर्ने चन्द्रबहादुरले प्रहरीलाई नै प्रतिप्रश्न गर्दै भने, ‘शरीरमा नीलडाम छन् । कपाल लुछिएको छ । भजाइना च्यातिएको छ । तड्पाई तड्पाई मारिएको छ । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’

प्रहरीले मृतकका आफन्तहरूसँग गर्ने व्यवहार र अनुसन्धानप्रति विश्वस्त नरहेको चन्द्रबहादुरले बताए । ‘हामीले चारै जनाको नाममा जाहेरी दिएका छौँ । तर प्रहरी भने एक जनाको मात्रै गल्ती देखाउँदै अरू तीन जना निर्दोष देखाउन खोजेजस्तो गर्छ । जबकि अझै पोस्टमार्टम रिपोर्ट आउनै बाँकी छ,’ उनले भने, ‘हामीहरू न्यायको पर्खाइमा छौं ।’

जिल्लाका अधिकारवादी संघसंस्थाले यस घटनामा चासो देखाएका छन् । उनीहरुले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त घटनालाई अत्यन्त दु:खद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...