सन् २०१४ को जुन २८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो। नेपालले आइसिसी टी-२० विश्वकप २०१४ मा उत्कृष्ट प्रदर्शन गरेपछि टी-२० मान्यता दिइएको थियो।

यद्यपि नेपालले टी-२० मान्यता पाउनुअघि नै टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको थियो। किनभने आइसिसीले सन् २०१४ को टी-२० विश्वकपका सबै खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गरेको थियो।

सो विश्वकपमा हङकङविरूद्ध खेलेको पहिलो खेल नेपलको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। बंगलादेशमा भएको सो खेलमा नेपाल ८० रनले विजयी भएको थियो। तर, सन् २०१६ को टी-२० विश्वकपमा छनोट हुन असफल भएपछि नेपालले जुलाई २०१५ मा यो मान्यता गुमाउन पुग्यो।आइसिसीले सन् २०१९ को जनावरीदेखि आफ्ना सबै सदस्य राष्ट्रबीचको खेल टी-२० खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गर्यो। त्यसपछि नेपालले खेलेका सबै खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाए।
सन् २०१४ देखि हालसम्म नेपालले एक सय वटा टी-२० खेल खेलिसकेको छ। नेपालले सोमबार स्कटल्यान्डको ग्लास्गोमा नेदरल्यान्ड्ससँग खेलेर आफ्नो १००औं अन्तर्राष्ट्रिय टी-२० खेल खेलेको हो।आफ्नो सयौं टी-२० खेल नेपालका लागि अविस्मरणीय सावित भयो।

नेदरल्यान्ड्सविरूद्धको खेलमा तीन पटकसम्म सुपर ओभर खेलियो। यो पनि अर्को रेकर्ड हो।पुरुषको व्यावसायिक क्रिकेट (टी-२० वा लिस्ट ए) मा पहिलो पटक खेल तेस्रो सुपर ओभरमा पुगेको हो। यद्यपि यो अविस्मरणीय र कीर्तिमानी खेल नेपालको पक्षमा भने आउन सकेन। नेपालले तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित हुन पुग्यो। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड बीचको यो त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको नजिता आफ्नो पक्षमा आउन नसके पनि नेपाली टोली र समर्थकले यो खेललाई कहिल्यै बिर्सने छैनन्।सेतोपती बाट साभार









