Skip to main content

धनगढी न्यूज

जहाँ घरको आँगनमै बनाइन्छ चिहान

Advertisement

 

स्कुल पढ्दा हामीले धेरै पटक प्रशान्त महासागरको नाम सुनेका थियौँ। पाठ्यपुस्तकमा, हाजिर जबाफमा र कथा–कविता–निबन्धका भावनात्मक उपमाहरूमा — प्रशान्त महासागर बारम्बार दोहोरिन्थ्यो।

‘संसारकै सबैभन्दा विशाल र गहिरो महासागर कुन हो?’

हामी तत्काल उत्तर दिन्थ्यौं — प्रशान्त महासागर!

कविता, कथाहरूमा कतिपटक पात्रलाई प्रशान्त महासागरसँग तुलना गरेको छु।

‘ऊ प्रशान्त महासागरजस्तै शान्त, विशाल र गहिरो स्वभावको।’

कहिल्यै नदेखिए पनि, कहिल्यै नछोए पनि त्यो विशाल जलराशी, मेरो कल्पनामा मेटाफोर बनेर बारम्बार आइरहन्थ्यो।

मनमनै सोच्थेँ — ‘कहिल्यै भेट होला त त्यो मेटाफोरसँग, कहिले छुला मैले त्यो महासागरलाई?’

र अन्ततः त्यो कल्पनाले जीवनको आकार लियो – अस्ट्रेलिया आएको केही समयपछि, मैले पहिलोपटक आफ्ना आँखाले प्रशान्त महासागर देखेँ – छुने मौका पाएँ, महसुस गरेँ।

त्यो अनुभूति अझ प्रगाढ बन्यो, जब म केही हप्ता अगाडि सामोआ देश पुगेँ। सामोआको टापुमा उभिएर जसरी म त्यहाँका हरेक व्यक्तिसँग परिचित हुँदै गइरहेकी थिएँ, त्यसैगरी मनभित्र एउटा अनुभूति बलियो हुँदै गइरहेको थियो कि शान्तता, हृदयता, विशालता र गहिराइ केवल जलमा मात्र हुँदैन रहेछ, त्यो त मानव सम्बन्धमा पनि उतिकै मौलाउँदो रहेछ।

त्यहाँका मानिसहरूको व्यवहारले त्यसलाई पुष्टि गरिरहेको थियो। उनीहरूको सरलता, पारिवारिक निष्ठा, न्यानो मुस्कान, नम्रता र स्वागत भावले मलाई छोयो।

उनीहरूले कानमा हरबखत सुइँरिने फूलजस्तै उनीहरूको हृदय पनि कोमल र सुन्दर थियो। उनीहरूको जीवनयापन देखेर त्यो क्षण महसुस भयो – खुसी महल, पैसा वा विलासी सुविधामा होइन, खुसी त पारिवारिक आत्मीयता, आतिथ्यता र साना साना कुराहरूमा भेटिन्छ। हामी त केवल खुसी हुन जान्नुपर्ने रहेछ र सामोआका मान्छेहरू साँच्चिकै खुसी हुन जान्ने मानिसहरूजस्तो लाग्यो।

 

प्रशान्त महासागरका टापुहरूलाई तीन प्रमुख भू–समूहमा वर्गीकृत गरिएको छ। मेलानेसिया, माइक्रोनेसिया र पोलिनेसिया। र, सामोआ पोलिनेसिया समूहमा पर्छ।

जुलाईको दोस्रो हप्ता धेरै कामकाजी व्यस्तताबीच, मन केही समय आफ्नै लागि निकाल्न खोजिरहेको थियो। त्यही बहानामा म सामोआ पुगेँ।

म जुन देश पुगे पनि मलाई नेपाली भेट्न मन लाग्छ। त्यो अन्जान आइल्याण्ड देशमा पुग्दा पनि मनभित्र चाहना थियो— कम्तीमा केही नेपाली भेटियोस्, झुकिएर भए पनि एउटा मन्दिर भेटियोस्।

केही महिना अगाडि म इन्डोनेसियाको बाली पुगेको थिएँ। त्यहाँका अनुभवहरू अझै ताजै थिए। त्यही भएर मनमा कौतुहल थियो— ‘के बाली र सामोआबीच केही समानता होला? के भिन्नता होला?’

त्यही भएर पनि सामोआ जानुभन्दा अगाडि मेलवर्नको नेपाली समुदायमा त्यहाँ बसेर आएका वा घुमेर आएका मान्छेसँग भेट्न मन थियो। उहाँहरूबाट केही ट्राभल्स् टिप्स लिन चाहन्थेँ। खोज्दा भगवान बरू भेटिन्थ्यो होला तर सामोआ पुगेर आएको नेपाली मेल्वर्नमा कति पहल गर्दा पनि भेट्न सकिनँ। तर सामोआ नजिकैको अर्को देश टोङ्गामा केही वर्ष बिताउनुभएका इन्जिनियर सुरेश पोख्रेल दाइलाई भने सम्पर्क गरेँ।

दाइले पनि रिसर्च गरेर जानकारी दिनुभयो—’त्यहाँ डा. मनोज शर्मा भन्ने एक नेपाली आँखाको डाक्टर हुनुहुन्छ।’

दाइले हामी दुवैलाई ह्वाट्सअप ग्रुपमा परिचय गराउनुभयो। तर दुर्भाग्यवश, म सामोआ जान लागेको समयमा उहाँ नेपाल फर्किंदै हुनुहुँदो रहेछ।
त्यसपछि फेरि अर्को जानकारी पाएँ— त्यहाँ एक जना नेपालीले सामोअन केटीसँग विवाह गरेर बसेकी छन् रे। उहाँको बारेमा जान्न मन लाग्यो, अनि भेटेर केही कुराहरू पनि गर्न मन लाग्यो । तर, धेरै प्रयास गर्दा पनि उहाँको बारेमा विस्तृत जानकारी पाउन सकिएन।

यही क्रममा फिजीमा रहेका शेखर श्रेष्ठसँग सम्पर्क भयो। उहाँले मलाई सुझाव दिनुभयो— बीबीसीका प्यासिफिक आइल्याण्ड क्षेत्र हेर्ने पत्रकार दिपक भट्टराईसँग सम्पर्क गर्न। केही दिनपछि दिपकजीसँग पनि मेरो संवाद भयो, तर उहाँले पनि त्यो व्यक्तिका बारेमा त्यति धेरै जानकारी नभएको बताउनुभयो। त्यसपछि मनमा प्रश्न उब्जियो— ‘के सामोआमा जम्मा दुई जना मात्र नेपाली छन् त?’

सामोआमा मेरो नेपाली खोज्ने अभियान निरन्तर नै थियो। विस्तारै त्यहाँको स्थानीयहरूसँग पनि नेपालीहरूको बारेमा सोध्न थालेँ। त्यहाँका स्थानीयसँग कुरा गर्दा थाहा पाएँ धेरैले मलाई भारतीय पर्यटक भनी अनुमान लगाएका रहेछन्।

म नेपाली हुँ भन्दा धेरैले सोधे—’नेपाल कहाँ पर्छ?’

त्यहाँ गएपछि थाहा पाएँ धेरैले त ‘नेपाल’ नाम नै सुनेका थिएनन्। थोरैले मात्रै भने—’माउण्ट एभरेस्ट भएको देश हो?

माउण्ट एभरेस्टबारे उनीहरूले किताबमा पढेका रहेछन् अनि कतिले मलाई हिउँको थुप्रोबाट आएको नागरिकको रूपमा बुझेँ। कतिले त नेपाली र भारतीय एउटै होइन र? भनेर सोधेँ। कतिलाई होइन भनेर नेपाल चिनाएँ त कतिलाई जबाफ होइन मुस्कान मात्रै दिएँ।

प्रशान्त महासागरको मुटु आइल्याण्ड सामोआमा नेपाली भेट्ने मेरो इच्छा अधुरो नै रह्यो तर मैले त्यहाँ नेपालीपन चाहिँ भेटेँ। बारीभरी केरा, कर्कला, घण्टी र पार्वती फूलहरू फुलेका देख्दा, अनि बिहानै कुखुरी काँ को आवाज सुन्दा नेपालमा नै छु जस्तो अनुभव भयो।

नेपालमा जस्तै त्यहाँ पनि अतिथि देव भवःको भाव भेटियो। हरेक घर अगाडि एउटा हाम्रो पाटी पौवाजस्तो ठूलो खुला हावायुक्त संरचना देखेँ। यो संरचना सामोअन संस्कृतिका लागि अत्यन्त महत्वपूर्ण रहेको पाएँ। यो संरचनालाई उनीहरूको भाषामा फाले भन्दो रहेछ। यो हरेक घरको अगाडिको भागमा अवस्थित हुन्छ र गाउँका महत्त्वपूर्ण विषयहरू छलफल गर्न प्रयोग गरिँदो रहेछ। जस्तै पाहुनाहरूलाई स्वागत गर्न, केही चाडपर्वहरू मनाउन, गाउँको विकासको बारेमा छलफल गर्न वा कोष सङ्कलन गर्न प्रयोग गरिँदो रहेछ। यो संरचना मलाई साँच्चै नै रोचक लाग्यो।

अर्को निकै चाखलाग्दो पक्ष मलाई घर अगाडिको चिहानस्थल लाग्यो। उनीहरू आफ्ना परिवारका सदस्यहरूलाई घरको अगाडिको आँगनमै गाड्ने गर्दो रहेछ। त्यहाँ धेरै घरहरूको अगाडि सिमेन्टको चिहान देख्न सकिन्छ।

चिहान जतिसुकै अग्लो हुन्छ, त्यहाँ गाडिएको व्यक्ति उति नै महत्त्वपूर्ण रहेको उनीहरूको मान्यता छ। त्यहाँको परम्पराअनुसार, घरमै गाडिएका आफन्तहरूले बाँकी परिवारको सुरक्षा गर्छन् भन्ने विश्वास गरिन्छ। यो परम्पराको कारणले पनि सामोआका मानिसहरू आफ्नो घर बेच्दैनन्।

City's-church-1753534060.jpg
बाली घुम्न जाँदा हरेक पाइला पाइलामा मठमन्दिर देखिएजस्तै, सामोआको हरेक मोडमा चर्चहरू देख्न सकिन्छ। त्यहाँका मानिसहरू क्रिश्चियन धर्ममा गहिरो आस्था राखेको पाइयो। उनीहरूको लागि चर्चहरू केवल धार्मिक स्थल होइनन्, सामाजिक, सांस्कृतिक र सामुदायिक एकताको केन्द्र पनि रहेको देखियो।

अपिया पछि हामी डुङ्गाबाट सवाई गयौँ। सामोआको दोस्रो ठूलो टापु सवाई प्रकृतिको काखमा लुकिएको स्वर्गजस्तै लाग्यो। शान्त, हरियाली, समुद्रको निरन्तर लय, र आकाश र समुद्रको भेट भएको क्षितिज। त्यो टापुमा समयले पनि मानौं अलिक ढिलो बग्छ।

हामी बसेको गाउँ थियो — साटाउआ। सानो तर आत्मीय गाउँ, जहाँ हरेक अनुहारमा मुस्कान पाइन्थ्यो, हावा नम्र लाग्थ्यो, र समुद्रको छालले रातभर गीत गाउने गथ्र्यो।

त्यो गाउँमा, त्यो टापुमा…जहाँ न त मैले नेपाली भेटेँ, न त कुनै मठ–मन्दिर।

तर म भेटिएँ ‘टुवा’सँग। उसको पूरा नाम थियो  Anitelea Tautua Eneliko Tulia

तर सबैले उसलाई मायाले टुवा भन्थे। त्यो सानो गाउँमा, अपरिचित अनुहारहरूको भिडमा, म उनलाई भेटेर कसैगरी ‘आफ्नो’ भेटिएको अनुभूति गरेँ। म नेपाली खोज्दै थिएँ, तर भेटिए मानवता, आत्मीयता र सम्बन्धको नयाँ परिभाषा। टुवा मेरो सामोआ यात्राको एउटा मिठो मोड बन्यो।

शब्दभन्दा परको त्यो भेट। सायद संयोग थिएन, मनको तान थियो। टुवा मनले नखोजेको तर पाएको एउटा मित्र थियो। सवाई र साटाउआ मलाई सिकायो पनि कसैलाई ‘आफ्नो’ बन्न समय लाग्दैन, मन मिलेपछि देश, धर्म र भाषा एउटा सन्दर्भ मात्र रहन्छन्।

टुवा हाम्रो बसेको घरको छिमेकी थियो। त्यो सानो गाउँमा, साटाउआको शान्त परिवेशमा, टुवाको उपस्थितिले हाम्रो बसाइँलाई अझ न्यानो बनायो।

हाम्रो संस्कार अनुसार, जब छिमेकीमा पाहुना आउँछन्, भान्सामा सघाउनु, खाना पुर्‍याउनु, र हेरचाह गर्नु हाम्रो दायित्व ठानिन्छ। र त्यो संस्कृति सामोआमा पनि रहेछ। हामी बसेको घर टुवाका काका हजुरबुबाको थियो। म अपियाबाट उसको काकाकाकी र उहाँहरूको छोराबुहारी नातिहरूसँग त्यहाँ गएको थिएँ। हामी सबै त्यहाँ पाहुना थियौँ र हाम्रो स्वागत गर्ने, पकाउने खुवाउने, घुमाउने जिम्मा टुवाको पनि भागमा परेको थियो। उसले त्यो जिम्मेवारी कर्तव्य होइन, मनको अपनत्व बनाएर निभायो। टुवाको बोलीमा मिठास थियो, व्यवहारमा सरलता, र हिँडाइमा आत्मीयताको चाल थियो।

ऊ प्रशान्त महासागरजस्तै शान्त थियो। मलाई देख्नेबित्तिकै लजाएर मुसुक्क हाँस्यो।

मैले उसलाई सोधेँ, ‘तिम्रोे नाम के हो?’

‘टटुवा,’ उसले छोटो उत्तर दियो।

मैले म तिमीलाई टटुवा होइन टुवा भन्छु है भनेँ। उसले हाँस्दै हुन्छ भन्यो।

उसले पनि मेरो नाम सोध्यो।

मैले निरु भनेँ।

तर उसले मलाई ‘नि’ मात्रै भनेर सम्बोधन गर्‍यो।

त्यसपछि ऊ मेरो लागि टुवा भयो अनि म उसको लागि नि।

त्यही बेला सामोआमा मेरो आत्मीय साथी बनेकी आके’ मेरो कानमा सरसरी फुसफुसाउँदै भनिन्,

‘तिमीलाई गे थाहा छ। ऊ गे हो नि।’

एक्कासि यस्तो कुरा आउँदा मैले रियाक्सन दिइनँ। आकेलाई लागेछ मैले बुझिनँ अनि उनले मलाई विस्तारमा भनिन्। ऊ न महिला हो न पुरूष ऊ गे हो।

टुवाको अनुहारतिर फर्किएँ।

उसले मेरो अनुहारमा एकटकले हेर्‍यो अनि खिस्स हाँस्यो। तर योपल्ट त्यो मुस्कानमा लाज होइन, गर्व थियो। आत्मविश्वास थियो— आफ्नो पहिचानप्रति निर्विक भाव। मलाई उसको आत्मविश्वास मन पर्‍यो। म पनि ऊ प्रति गर्व महसुस गरेँ।

त्यही क्षण मेरो दृष्टि उसको पहिरनतिर तानियो— एकदमै सुन्दर तरिकाले महिलाहरूले लगाउने म्याक्सी शैलीको टिसर्ट लगाएको थियो टुवाले। खाना पस्कँदै गर्दा याद गरेँ लामो, बाक्लो, सुन्दर र सर्लक्क परेको नङ थियो उसको रातो नङ पालिसले त्यो सुन्दर नङलाई झन् सुन्दर र गाढा बनाएको थियो। उसको नङ मलाई लोभलाग्दो लाग्यो र भेने ‘आइ लाइक योर्स नेल्स्।’ ऊ अवाक् भयो।

त्यसपछि आकेले तुरून्तै सामोअन भाषामा भन्यो – ‘उसलाई तिम्रो नङ मन पर्यो रे।’

टुवाले आफ्नो नङ हेर्दै मुस्कुरायो। त्यो मुस्कान फेरि गहिरो थियो – आत्मीयताको।

उसले मुस्कानले मात्रै प्रतिक्रिया दिएर किचनतिर गयो।

साँझपख, टुवा, आके र म गफिँदै थियौँ।

टुवा अलि मेरो नजिक सर्‍यो—जस्तै सानी बहिनीजस्तै कहिलेकाहीँ काँधमा टाँसिएर बस्न आउँछे नि हो त्यस्तै ऊ टाँसिएर बस्यो। एक किसिमको अपनत्व र सहजता थियो। यही मौकामा मैले टुवालाई सोधेँ –’टुवा, तिमीलाई आफू अरूभन्दा फरक छु भन्ने कहिलेदेखि थाहा भयो?’

उसले मेरो प्रश्न बुझेन। उसले आकेतिर हेर्‍यो। आकेले उसको भाषामा त्यही कुरा सोधिन्। अनि टुवाले उत्तर दियो –

‘कक्षा ३ मा हुँदा थाहा भएको।’

‘अनि… आमाबुबा र घरपरिवारले कहिले थाहा पाए?’

मैले चुप लागिरहेकी टुवालाई फेरि सोधेँ।

टुवा एकछिन चुप बस्यो, सोचमग्न भयो र सुस्त भन्यो। ‘मैले भन्नु नै परेन,नि’, ‘विस्तारै मेरो व्यवहारबाट नै थाहा पाउनु भयो। अनि म मात्रै होइन, हाम्रो परिवारमा म भन्दा पहिला एउटा दाइ पनि गे हुनुहुन्छ अनि म पछि एक जना भाइ पनि।’

‘वाउ!’ मेरो मुखबाट यही शब्द निस्कियो।

‘टुवा तिमी कति नम्बर हौ?’

‘१० औँ नम्बर।’

‘कतिजना दाजुभाइ दिदीबहिनी छन्?’

‘१३ जना। त्यसमध्ये ६ जना महिला, ४ जना पुरूष र ३ जना गे।’

अनि टुवा सबैको नाम लिँदै गयो, औंला भाँच्दै गयो र आठौँमा पुगेपछि गे भन्यो, दशौँमा पुगेपछि आफूलाई देखाएर गे भन्यो अनि १२ औँ औँला भाँचेर फेरि गे भन्यो।

Tuwa's-family-1753534110.jpg
टुवाको परिवार साथमा

टुवा मुस्कुरायो। त्यो मुस्कान भित्र गर्व थियो—जसरी पुरूषहरू आफू पुरूष भएकोमा गर्व गर्छन्, महिलाहरू आफू महिला भएकोमा नाच्छन्, त्यसरी नै टुवा आफू गे भएकोमा खुलेर मुस्कुराउँछ।

‘टुवा, तिमीलाई एलजिबिटिक्यूको बारेमा थाहा छ?’

‘छैन… मलाई त गे भन्ने मात्र थाहा छ,’ उसले हातले मुख छोपेर भन्यो।

त्यसपछि हामी सबै खुलेर हाँस्यौँ—कुनै बनावटबिना, आत्मीय र न्यानो हाँसो।

‘के कुराले खुसी बनाउँछ तिमीलाई, टुवा?’

‘आमाको हाँसो र आवाजले।’

मैले नसोचेको उत्तर थियो त्यो।

‘अनि… के कुराले दुःखी बनाउँछ?’

‘जब साथीहरूले मेरो भावना बुझ्दैनन्, तब।’

तर, आकेले भनिन्, ‘ऊ गाउँको प्रिय पात्र हो। सबैले माया गर्छन् उसलाई।’

‘भविष्यमा के बन्न चाहन्छौ?’

‘टिचर!’ टुवाको आवाज दृढ थियो।

प्राइमेरी स्कुलमा ऊ स्वयंसेवक शिक्षकको रूपमा पढाउँछ।

‘तलब पनि दिन्छन् त?’

‘दिन्छ… महिनाको साढे दुई सय थालासम्म।’

***

हामी कुरा गर्दै थियौं, रात छिपिँदै थियो। बाहिर कुकुर भुकिरहेको थियो, सिलिङ्गको पंखाको आवाज घन्किँदै थियो। त्यो क्षण मलाई कताकता नेपालमै छु जस्तो लाग्यो।

‘टुवा तिमीलाई कपाल बाटिदिन आउँछ?’ मैले सोधेँ।

ऊ नजिक आयो र भन्यो, ‘आउँछ बाटिदिऊँ?’

मैले काइँयो दिएँ। कपाल बाँटदै गर्दा उसले भन्यो, ‘मेरो पनि यस्तै लामो कपाल थियो कुनै बेला।’

Tuwa-making-hair--1753533696.jpg
आकेले उसलाई सोध्यो, ‘लामो कपाल तिमीलाई कस्तो सुहाएको थियो, किन काटेको टुवा?’

‘तिमीलाई थाहा छ हाम्रो धर्मको नियम?’ टुवा फ्याट्ट बोल्यो।

मलाई अझ जान्न मन लाग्यो र आकेलाई सोधेँ-कस्तो नियम छ र?

‘गेहरूले जे जस्तो कपडा लगाए पनि हुन्छ, श्रृङ्गार गरे पनि हुन्छ। तर चर्चले उनीहरू लगायत कुनै पनि केटा मान्छेलाई लामो कपाल राख्न दिँदैन। त्यसो गरेमा धर्मको विरोधी भइन्छ।’ उनीहरूको आस्थाको कुरामा मैले कटाक्ष गरिनँ र उपयुक्त पनि ठानिनँ।

टुवा कसिलो गरी मेरो दुइटा चुल्ठी कपाल बाटिरहेको थियो।

मैले टुवालाई सोधेँ, ‘तिमीलाई आफ्नो शरीरको कुनै अंग परिवर्तन गर्ने मौका पायो भने गर्छौ?’

टुवा मेरो प्रश्नको मतलब नबुझेर आकेलाई हेर्‍यो।

आकेले स्पष्टसँग बुझायो। टुवाले निर्धक्कसँग भन्यो, ‘नाइँ, मलाई शरीरको कुनै अंग परिवर्तन गर्नु छैन। म जस्तो छु त्यस्तैमा खुसी छु। तर कहिलेकाहीँ लाग्छ किन म सम्पूर्ण रूपमा महिला भएर जन्मिएन हुँला? काश मेरो पनि महिलाहरूजस्तै छाती भएको भए, महिनावारी हुन्थे भने कति सुन्दर हुन्थ्यो होला। तर पनि चित्त बुझाउँछु भावना भए पनि त भगवानले दिएका छन्, त्यसैले मैले भगवानबाट जे जति पाएको छु त्यतिमै खुसी छु।’

टुवाको अहिलेसम्मको बुलन्द आवाज लाग्यो मलाई।

रात निकै भइसकेको थियो।

टुवा ‘भोलि भेटौंला,’ भनेर घर लाग्यो।

म रातभरि सोचिरहेँ— कति खुसी छ टुवा, कति शान्त छ टुवा, प्रशान्त महासागरजस्तै शान्त।

भोलिपल्ट साँझ मलाई टुवाको घर जान मन लाग्यो। विशेषगरी टुवाको आमालाई भेट्ने इच्छा थियो।

आके र म टुवाको घरतर्फ लाग्यौं।

आकेले भने, ‘टुवाका तीनवटा घर छन्।’

म मनमनै सोच्दै थिएँ—

‘त्यस तीन घरमध्ये एउटामा टुवाको कोठा होला। कोठाको झ्यालसँगै एउटा सानो खाट टाँसिएको होला। झ्यालबाट आएको घामको किरणको सहाराले ऐना हेरेर लपक्क रातो लिपिस्टिक लगाउँला। कोठा टुवाका श्रृङ्गारिक सामानहरूले भरिएको होला।’

तर जब म टुवाको घर पुगेँ, अझै म उसको घर खोजिरहेको थिएँ।

मैले सोधेँ, ‘खै टुवाको घर?

आकेले भन्यो – यो हो टुवाको घर?’

त्यसपछि मलाई एउटा खुला ठाउँ देखाइयो—ओपन स्पेस जहाँ धेरै खम्बाहरूले बनेको एउटा पाटीपौवाजस्तै संरचना थियो।

आकेले भनिन्, ‘यता धेरैको घर यस्तै खुला स्पेस हुन्छ।’

Tuwa's-house--1753534232.jpg
टुवाको घर।

भुइँमा गुन्द्रीको ताँती थियो, गुन्द्रीमाथि पातला तन्नाहरू ओछ्याइएको थियो। त्यो ओछ्यानमा सानादेखि ठूला करिब १५–२० जना नाच्ने, गाउने, हाँस्ने, गफिने भइरहेको थियो। उनीहरू सबै एउटै परिवारका थिए—कोही टुवाका दिदीबहिनी, कोही दाजुभाइ, त कोही तिनीहरूको सन्तानहरू।

मेरो मनमा याद जाग्यो — मैले यस्तै रमाइलो, पारिवारिक एकताको दृश्य कि त तीजको दरखाने दिन, पूजाआजा, चाडपर्व वा बिहेको बेला मात्र देखेको थिएँ, तर यहाँ त यो रमाइलो हरेक दिन थियो। म त्यहाँ पुग्ने बित्तिकै हल्लाखल्लाको माहोल शान्त भयो। कोही बोल्न आए त कोही लुक्न गए।

त्यो साँझ मैले पूरा समय उनीहरूसँग बिताएँ।

टुवाको आमासँग भेट भयो। म उहाँहरूसँग नाँचेँ, हाँस्यौं, र सँगै गफ गर्यौं।

टुवाको आमाले हरेक सन्तानको बारेमा गर्वका साथ कुरा गर्नुभयो।

‘मेरो सन्तान, मेरो गहना हुन्,’ उहाँले सबै सन्तानलाई देखाएर भन्नुभयो। केही वर्ष अगाडि ब्रेन ह्यामरेज भएर टुवाको बुबा वित्नुभएको रहेछ। त्यहाँ उप्रान्त आमा बुबा दुवैको माया दिएर हुर्काएकी आमालाई त्यहाँ सोध्दा सबैले  ‘हाम्री महान् आमा’ भनिरहेका थिए।

मैले आमालाई टुवाको बारेमा सोधेँ।

उहाँ गर्वले भन्नुभयो, ‘टुवा हाम्रो बाँच्ने सहारा हो, हामी सबैको प्रिय हो’

कुराको सिलसिला मिलाउँदै विस्तारै टुवाको आमालाई सोधें, तीन सन्तान गे भएको थाहा पाउँदा कस्तो महसुस भयो?

उहाँको अनुहारमा न त कुनै पश्चाताप थियो, न ग्लानि।

उहाँ गर्वले भन्नुभयो,’मलाई खासै फरक परेन। यी तीनै मेरा होनहार सन्तान हुन्। उनीहरू सबै परिवारको लागि मेहनत गर्छन्, भाइबहिनीहरूलाई माया गर्छन्। मलाई अरू के चाहियो र?’

उहाँले त्यो दिन साँच्चिकै सुखको हाँसो हाँस्नुभयो, जुन हाँसोले मेरो मन भित्र गहिरो छाप छोड्यो। त्यो हाँसोमा केवल खुसी मात्र थिएन, गर्व र आत्मीयताको एउटा मिठो झल्को थियो। लाग्यो, ‘यो नै त साँच्चिकै खुसी हो।’

आके भन्दैथिइन् – दिनभरि उनीहरू आआफ्नो काममा व्यस्त भए पनि हरेक दिन सुत्नुअघि उनीहरू गीत सुनेर, संगीतमा नाचेर निदाउँछन्।
र त्यो साँझ पनि मेरो सामुने बालबालिकाहरू हाँस्दै नाच्दै थिए। यत्तिकैमा खुसीसाथ कोही पुलुक्क निदाए, कोही निदाउन खोज्दै थिए त कोही अझै गफ गर्दै अँगालो हाल्दै रमाइरहेका थिए।

Tuwa's-nephew-sleeping--(1)-1753533890.jpg
टुवाका भतिजा

त्यो खुला ठाउँमा छत र खम्बा बाहेक अरू केही थिएन। न ढोका थियो त न झ्याल। ओढ्न र सुत्नको लागि न त मलमलको ओछ्यान थियो, लगाउन न त नयाँ महँगो कपडा थिए, खानामा न त विभिन्न व्यञ्जन थिए, तर पनि उनीहरू अत्यन्तै खुसी थिए।

उनीहरूको अनुहारमा दु:खका रेखा थिएनन्, केवल खुसीका रेखाहरू।

केही नभए पनि उनीहरूसँग त्यो क्षणमा सबै कुरा थियो — मनको शान्ति र अथाह खुसी।

त्यो दिनले मलाई सिकायो, संसारमा सबैभन्दा ठूलो सम्पत्ति यही हो।

***

केही दिनको बसाइपछि हामी अपिया फर्कियौं। टुवा पनि हामीसँगै अपिया आयो। एक रात टुवालाई एक्लै बाहिर खम्बा समातेर टोलाइरहेको देखेँ।

At-airport-with-Akhe-and-Tuwa-1753534339.jpg
आके र टुवाको साथमा।

म नजिक गएर सोधेँ, ‘के भयो टुवा?’

उसले आँखा रसाएर भन्यो, ‘घरको याद आयो, नि। भाइबहिनीहरू सायद अहिले सुत्न खोजिरहेका छन् होला। उनीहरूको धेरै सम्झना आयो, अनि अझ बढी आमाको। आमा दौडधुप गर्दै हुनुहुन्छ होला।’

मेरो पनि आमालाई सम्झिएर आँखा भिज्यो।

टुवासँग मोबाइल थिएन। मैले आफ्नो मोबाइल दिएर भनेँ, ‘आमाको याद आयो भने ल फोन गर न।’

उसले भने, ‘आमासँग फोन पनि छैन।’

मैले फेरि सोधेँ, ‘अब कसरी कुरा गर्ने?’

ठिकै छ हामी दुवै मनमनै कुरा गरिरहेका छौं नि, आमा त्यहाँबाट मलाई सम्झिरहेकी छिन्, र म यहाँबाट आमालाई। इति भनेर ऊ मुस्कुरायो अनि आँखाको आँसु पनि विलायो।

‘थाहा छ नि, जब म घर छोडेर बाहिर अन्तै रात बिताएको बेला, आमाको आवाज, आमाको हाँसो र आमाले मेरो नाम लिएर बोलाएको मात्रै याद आउँछ। त्यहि भएर मलाई बाहिर रात बिताउन मन लाग्दैन। उसको यो कुराले मेरो मन छोयो।

पहिलो पटक मलेखु छोडेर काठमाडौँ आएको बेला मलाई पनि त्यस्तै भएको थियो। त्यो रात आमाको एकदमै याद आएको थियो। टुवाले मेरो याद पनि ताजा गरिदियो।

राति सुत्नुअघि मैले घरमा फोन गरेँ र आमालाई भनेँ — ‘आमा, संसारमा सबै आमा र सन्तानको माया एउटै हुँदो रहेछ। जति सन्तान होस् आमाले सबैलाई बराबर माया गर्दोरहेछ।’

‘थाहा पाइस् त आमाको माया कस्तो हुँदो रहेछ ?’ आमाले डाइलग दिनुभयो।

‘अँ सन्तानको माया पनि थाहा पाएँ आमा।’ हामी दुवै हाँस्यौं। टुवा र टुवाको आमा एकअर्कासँग हाँसेको जस्तै।

सामोआमा गएर मैले बुझें — साँचो खुसी सधैं सुविधामा होइन, सम्बन्धमा लुकेको हुन्छ।

टुवा जस्तै लाखौं बालबालिकाहरूका, युवाहरूका कथा छन्, जसमा अभावको कथा छ तर आत्माको सम्पत्तिको गाथा पनि छ। सावाइ र त्यहाँका मानिसहरूले मलाई जीवनको अर्थ फेरि सिकाए।

हामी बाँचेका छौं — भन्नलाई मात्र होइन, एक–अर्कालाई महसुस गर्न, सम्झन, र आत्मीयता बाँड्नलाई पनि हो। त्यही आत्मीयता, जसले टुवालाई आमासँग जोडेको थियो, मलाई टुवासँग।

अझ पनि झलझली सम्झना आइरहेको छ, टुवाको निर्दोषपन, ती बालबालिकाहरूको निर्दोष हाँसो, न त मोबाइल नेटवर्क तर मनको एक–अर्कासँगको जडान अत्यन्त गहिरो थियो।

र त्यसै क्षण मैले महसुस गरेँ— घर टाढा हुँदा पनि आत्मीयता नजिकै हुँदो रहेछ।

र संसार साँच्चिकै विशाल भए पनि, साँचो माया जताततै एउटै हुँदो रहेछ। त्यही भएर पनि मलाई संसार घुम्न मन लाग्छ, नयाँ मान्छे भेट्न मन लाग्छ, त्यहाँको रितिरिवाज संस्कृतिमा भिज्न मन लाग्छ अनि पो संसारको माया लाग्छ।सेतो पाटी बाट साभार

 

vianet Below Content Banner 2
classic teach banner 4

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...