धनगढी न्यूज

सु.प. एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढीस्थित सु.प. एकेडेमीले शैक्षिक सत्र २०८२ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  नयाँ विद्यार्थीहरुलाई नयाँ माहोलमा घुलमिल गराउनुका साथै उनीहरुले पढिरहेको विधा  तथा  भविष्यका सम्भावनाबारे अवगत गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले जनाउनुभयो ।

कार्यक्रमको सभाध्यक्षता सु.प.एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ओझाले विगतबाट नै सु.प. एकेडेमीले शिक्षा , खेलकुद तथा सामाजिक क्षेत्रमा हरेक किसिमले योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।  अभिमुखीकरण कार्यक्रममा एसपिए कलेजका पूर्व विद्यार्थी तथा विभिन्न क्षेत्रमा संलग्न सफल पेशाकर्मी तथा उद्यमीहरुलाई वक्ताको रुपमा आमन्त्रण समेत गरिएको थियो ।

कार्यक्रममा वक्ताको रुपमा एसोसियन अफ टुर एण्ड ट्राभल सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंह , सेती प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. रमेश जोशी , सिए हेमराज जोशी , नेपाल टेलिकमका नेटवर्क इन्जिनियर तिलक धामी , कृषि विकास र्बैकका बिजनेस अफिसर चक्र कुञ्जेडा , सु.प.क्याम्पसका सह प्राध्यापक बुधराम चौधरी तथा सु.प. क्याम्पस बिएचएम कार्यक्रमका विभागिय प्रमुख रविन्द्र परियार रहनुभएको थियो ।  कार्यक्रममा बोल्दै वक्ताहरुले भर्खरै विद्यालय तहबाट कक्षा ११ मा आउनुभएका नव आगन्तुक विद्यार्थीहरुलाई आफ्नो शैक्षिक यात्रा अनि त्यसबाट मिलेको सफलता , उनीहरुको अबको कार्यदिशा , अपनाउनुपर्ने अनुशासन तथा विभिन्न क्षेत्रका सम्भावनाबारे प्रकाश पार्नुभएको थियो ।

विद्यार्थी तथा निजका अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती पनि रहेका थिए । यस अभिमुखीकरण कार्यक्रमबाट उपस्थित विद्यार्थी तथा अभिभावकले नयाँ वातावरणमा आफूलाई सामेल गर्दै नानीबाबुहरुको भविष्यप्रति सजग भई  शैक्षिक यात्रामा अगाडि बढ्ने विश्वास रहेको एकेडेमीका सह-प्रधानाध्यापक रघुनाथ जोशीले जनाउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×