Skip to main content

धनगढी न्यूज

कर्णालीमा विज्ञको सुझावभन्दा भिन्न तरिकाले हुँदैछ प्रशासनिक पुनर्संरचना

Advertisement

सुर्खेत । कर्णाली प्रदेशमा प्रशासनिक पुनर्संरचनाको महत्त्वपूर्ण कार्य प्रारम्भ भएको छ । विज्ञ टोलीले आफ्नो अध्ययन प्रतिवेदन बुझाएको चार महिनापश्चात् यसको कार्यान्वयन प्रक्रिया अगाडि बढेको हो ।

मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको प्रशासनिक संरचनालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ गत वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए । उक्त समितिमा कर्णालीकै पूर्वप्रमुखसचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए ।

समितिले गत असार १५ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सार्वजनिक भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, प्रतिपक्षी दल माओवादीदेखि कर्मचारीतन्त्रले समेत विरोध जनाएका थिए । यसै कारण मुख्यमन्त्री कँडेलले थप अध्ययन गरेर कार्यान्वयन गर्ने उद्देश्यसहित असारमै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा ‘कार्यान्वयन तथा सहजीकरण समिति’ गठन गरे । उक्त समितिले चरणबद्ध रूपमा काम गरिरहेको छ । जसअन्तर्गत पहिलो चरणमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय घटाइएको छ ।

कार्यान्वयन समितिले विज्ञ टोलीको प्रतिवेदनमाथि थप छलफल गरी कानुन मन्त्रालय घटाउने प्रतिवेदन बुझाएपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने निर्णय गरेको छ ।

विज्ञ टोलीले ८ वटा मन्त्रालयलाई घटाएर ६ मा झार्न सुझाव दिएको छ । तत्कालका लागि मन्त्रालयको संरचनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई खारेज गरी यसबाट हुने सबै कार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हस्तान्तरण गर्ने र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाम्न सुझाव दिइएको छ ।

साथै, पुनर्संरचना गरेर कुल दरबन्दी (स्थायी र करार) २५२५ मा नबढ्ने गरी ६ मन्त्रालयमा सीमित गर्न विज्ञ टोलीले सुझाव दिएको छ । कार्यान्वयन समितिले भने विज्ञ टोलीको सुझावभन्दा फरक तरिकाले काम गरिरहेको छ ।

उसो त, जलस्रोत तथा ऊर्जा मन्त्रालय सुरुमा अस्तित्वमा थिएन । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भागबन्डा मिलाउन र आफ्नो सत्ता टिकाउनकै लागि भौतिक मन्त्रालयलाई फुटाएर जलस्रोत मन्त्रालय स्थापना गरेका थिए । त्यसअघि कर्णालीमा ७ वटामात्रै मन्त्रालय थिए ।

०७९ को निर्वाचन पश्चात् माओवादी—एमालेबिच गठबन्धन हुँदा पुनः जलस्रोत मन्त्रालयलाई भौतिकमै गाम्ने निर्णय भएको थियो, तर त्यसपछि गठबन्धन बदलिएसँगै नेपाली कांग्रेसको अडानका बिच भौतिक मन्त्रालयबाट जलस्रोतलाई अलग्याइएको थियो । अहिले कांग्रेस–एमालेको गठबन्धन सरकार छ । उक्त मन्त्रालय नेपाली कांग्रेसकै विजया बुढाले सम्हाल्दै आएकी छन् । जसका कारण मुख्यमन्त्री कँडेलले जलस्रोत मन्त्रालय कायम राख्दै आफैँले सम्हाल्दै आएको कानुन मन्त्रालयलाई मात्रै घटाएका छन् ।

मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता विनोदकुमार शाहले आन्तरिक मामिला तथा कानुन मन्त्रालय हटाउँदा एक जना मन्त्री, एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती गरिएको जानकारी गराए ।

स्रोत भन्छ, ‘खासमा कानुन मन्त्रालयभन्दा जलस्रोत मन्त्रालयलाई खारेज गर्नुपर्ने हो । यो नाममात्रको मन्त्रालय हो, त्यहाँ खासै कामै छैन । सिँचाइ योजना, तटबन्धन जस्ता योजनामात्रै हुन्छन् । ती कार्य त भौतिक मन्त्रालयबाटै भइहाल्छ । ऊर्जा सम्बन्धी कुनै काम हुन सकेका छैनन् ।’

तर, जलस्रोत मन्त्रालयलाई कायम राखेर कानुन मन्त्रालय घटाइनुका पछाडि सत्ता गठबन्धनबिच कुरा नै नमिल्नु प्रमुख कारण रहेको स्रोत बताउँछ ।

सोमबार बिहान मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता विनोदकुमार शाहले आन्तरिक मामिला तथा कानुन मन्त्रालय हटाउँदा एक जना मन्त्री, एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती गरिएको जानकारी गराए । यसबाट प्रशासनिक कार्यहरू चुस्त–दुरुस्त हुनुका साथै चालु तथा प्रशासनिक खर्चबापत वार्षिक करिब ३ करोड रकम राज्यकोषमा बचत हुने शाहले स्पष्ट पारे ।

यद्यपि, जलस्रोत मन्त्रालय घटाउनेबारेमा भने शाहले कुनै जबाफ दिएनन् । कार्यान्वयन समितिका अनुसार, विज्ञ समितिको निर्देशनबमोजिम मन्त्रालय संख्या ६ मा झार्ने निर्णय टुङ्गोमा पुगिसकेको छैन ।

विज्ञ टोलीको प्रतिवेदनबमोजिम प्रदेशमा ८ मन्त्रालय, प्रदेश सभा, प्रदेश लोक सेवा आयोगसहित मन्त्रालय र तिनका मातहतका कार्यालय गरी कुल १३३ वटा खर्च निकाय तथा कार्यालय छन् । यदि उक्त प्रतिवेदन पूर्णतः कार्यान्वयनमा आएमा ती निकायको संख्या ७१ मा झर्ने बताइएको छ । तर, प्रदेश सरकारले यी सबै निर्णयलाई कार्यान्वयन गर्न सकिने अवस्थामा मात्र अघि बढाउने भन्दै सोका लागि थप अनुसन्धान गर्ने तयारी गरेको छ ।

अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार, दोस्रो चरणमा निर्देशनालयहरूको खारेजीको विषयमा काम भइरहेको कार्यान्वयन समितिका संयोजक लक्ष्मीकुमार विकले रातोपाटीलाई जानकारी गराए । त्यसमा पनि विज्ञ टोलीको प्रतिवेदनभन्दा केही भिन्न तरिकाले काम भइरहेको छ ।

विज्ञ टोलीको प्रतिवेदनमा हाल प्रदेश मातहत रहेका सबै निर्देशनालयमध्ये जनस्वास्थ्यमा स्थानीय तहसँगको समन्वय र शिक्षातर्फ परीक्षा प्रणालीलाई व्यवस्थित गर्न स्वास्थ्य सेवा निर्देशनालय र शिक्षा विकास निर्देशनालयलाई पुनर्संरचना गरेर स्वास्थ्य तथा शिक्षा निर्देशनालय स्थापना गर्ने सुझाव दिइएको छ । साथै, प्रदेश सरकार मातहत रहेका अन्य सबै निर्देशनालय खारेज गर्ने, खारेज गरिने निर्देशनालयहरूमा रहेका जनशक्ति र यसका काम कारबाहीलाई सम्बन्धित मन्त्रालयका महाशाखा र जिल्लामा रहने प्रदेश सरकारका कार्यालयमा मिलान गर्ने सुझाव पनि समावेश छ । कार्यान्वयन समितिले भने कुनै पनि निर्देशनालय नराख्ने गरी काम गरिरहेको छ ।

स्वास्थ्य र शिक्षा विकास निर्देशनालयलाई समेत खारेज गर्ने गरी काम भइरहेको संयोजक लक्ष्मीकुमार विकले रातोपाटीलाई बताए ।

उनका अनुसार, वनका संरचनामा केही कानुनी समस्या विद्यमान छन् । तिनलाई पनि मिलान गरेर सबैलाई खारेज गर्ने कि भन्ने तरिकाले अध्ययन तथा अनुसन्धानको काम भइरहेको उनको भनाइ छ ।

‘निर्देशनालयहरू बिचको संरचना भएकाले त्यति जरुरी छैन भन्ने सबैले बताइरहेका छन्,’ उनले भने, ‘त्यसकारण यही अलि सजिलो होला भन्ने हिसाबले हामीले त्यसमा काम गरिरहेका छौँ । केही महिनामै त्यसको पनि निर्णय हुन्छ ।’

कर्णाली प्रदेशमा मुख्यमन्त्री कार्यालय र आन्तरिक मामिला मन्त्रालय बाहेकका प्रायः सबै मन्त्रालयका निर्देशनालय तथा कार्यालय छन् । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार निर्देशनालय, कृषि मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय, सामाजिक विकास मन्त्रालय अन्तर्गत दुई वटा (शिक्षा र स्वास्थ्य) निर्देशनालय छन् । यस्तै, जलस्रोत तथा ऊर्जा मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पनि त्यस्ता संचरचना तथा कार्यालय विद्यमान छन् ।

राजनीतिक सहमतिका विषयमा मुख्यमन्त्री कँडेल आफैँ अग्रसर भएर काम गर्छन् भने प्राविधिक कुराहरूमा कार्यान्वयन समितिले अध्ययन गर्ने गरेको छ ।

यसैगरी, अर्थको पनि प्रदेश लेखा नियन्त्रकको कार्यालयहरू छन् । सकेसम्म यी सबै संरचना खारेज गर्ने तयारीका साथ कार्यान्वयन समितिले थप अध्ययनको काम गरिरहेको छ ।

शिक्षा विकास निर्देशनालयलाई तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले पनि हटाउने तयारी गरेका थिए, तर त्यो वेला नेपाली कांग्रेसले चर्को विरोध जनाएपछि यथावत् राखिएको थियो । अहिले कांग्रेस स्वयं सत्तामै भएको हुँदा यो विषय केही पेचिलो बन्ने निश्चित छ ।

राजनीतिक सहमतिका विषयमा मुख्यमन्त्री कँडेल आफैँ अग्रसर भएर काम गर्छन् भने प्राविधिक कुराहरूमा कार्यान्वयन समितिले अध्ययन गर्ने गरेको छ ।

‘मुख्यमन्त्रीले हाम्रो राजनीतिक एजेण्डा यो–यो भयो, यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा निर्देशन दिनुहुन्छ,’ संयोजक विकले भने, ‘सोही अनुरूप हामी त्यसमा अध्ययन गर्छौं । त्यसपछि अध्ययन गरिएको विषय बुझाएपछि मुख्यमन्त्रीले मन्त्रिपरिषदमा प्रस्तुत गर्नुहुन्छ ।’

कानुन मन्त्रालय खारेज गर्ने विषयमा यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका थिए । यद्यपि, सोमबार निर्णय हुँदा कांग्रेसले कुनै विरोध जनाएन ।

निर्देशनालय खारेजीको काम सम्पन्न भएपछि कार्यान्वयन समितिले कर्मचारीको दरबन्दी कटौतीको विषयमा अध्ययन थाल्नेछ । हाल २९ सयभन्दा बढी रहेको दरबन्दीलाई घटाएर २५ सयमा झार्ने लक्ष्य निर्धारण गरिएको छ, जसबाट करोडौँ रुपैयाँ बचत हुने अनुमान छ ।

कार्यान्वयन समितिका अनुसार, निर्देशनालय खारेजीको निर्णय भएपश्चात् दरबन्दी कटौतीको विषयमा विस्तृत अध्ययन हुनेछ । विज्ञ टोलीले २५ सयमा दरबन्दी झार्नका लागि सुझाव दिएको थियो भने सरकार स्वयंले पनि सोही लक्ष्यमा काम गर्ने सोच बनाएको संयोजक विक बताउँछन् ।

‘दरबन्दी कटौती गर्दा कर्मचारीलाई धेरै असर नपर्ने गरी उपयुक्त विकल्पहरू खोजिएको छ,’ उनले भने, ‘रिक्त पदहरूमा लोकसेवा आयोगबाट नयाँ कर्मचारी माग नगरिने, प्राविधिक र पुराना प्रकृतिका पदहरू (जस्तैः कम्प्युटरका पुराना पदहरू) स्वतः खारेज गरिने, तथा विविध सेवाका कर्मचारीहरूको समायोजन गरिने योजना छ ।’

यसरी अनावश्यक बोझ नथप्ने र कर्मचारीको व्यवस्थापनमा सहजता ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । उनका अनुसार, कानुन मन्त्रालयको मर्जरबाट मात्रै तलबभत्तामा करिब ३ करोड रुपैयाँ बचत हुने देखिएको छ । समग्र दरबन्दी कटौतीबाट अझ ठुलो रकम बचत हुने अपेक्षा गरिएको छ ।

निर्देशनालय खारेजी र दरबन्दी कटौतीको प्रक्रिया चाँडै टुङ्ग्याउने प्रयास भइरहे पनि यसमा विभिन्न कानुनी तथा प्राविधिक पक्ष केलाउनुपर्ने भएकाले केही समय लाग्ने विकको भनाइ छ ।रातोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...