काठमाडौँ । नेपाली चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यो वर्ष चलचित्र निर्माण इजाजत लिनेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको चलचित्र निर्माण इजाजतसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म मात्रै ७० वटा नयाँ चलचित्रले निर्माण इजाजत लिएका छन् । गत वर्षको यही अवधिमा ५१ वटा चलचित्रले मात्रै निर्माणको अनुमति लिएका थिए । यो वर्ष लिइएको अनुमति गत वर्षभन्दा करिब ३७ प्रतिशतले बढी हो ।
विगत ५ वर्षसँग तुलना गर्ने हो भने निर्माण इजाजत झन्डै दोब्बर पुगेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को यही अवधिमा जम्मा ३६ वटा चलचित्रले मात्रै निर्माणको अनुमति पाएको बोर्डको तथ्याङ्क छ । त्यस्तै, २०७९/८० मा ४७ वटा चलचित्र र २०८०/८१ मा ४७ वटा चलचित्रलाई निर्माणका लागि इजाजत प्रदान गरिएको बोर्डले जनाएको छ ।
हुन त पछिल्लो समय नेपाली फिल्मकर्मीले नै फिल्म निर्माणमा लगानीको बाढी आएको धारणा राख्दै आएका छन् । यो तथ्याङ्कले त्यो भनाइलाई पुष्टि गर्छ । तथ्याङ्कले फिल्म निर्माण बर्सेनि बढ्दै गएको समेत देखाएको छ ।
चलचित्र निर्माणमा देखिएको उत्साह राम्रो पक्ष भएको चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता सन्तोष लोहनी बताउँछन् । सङ्ख्या सँगसँगै गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको सुझाव छ ।
‘अबको समयमा अन्तर्राष्ट्रिय बजारलाई समेत ध्यानमा राखेर, मार्केटिङको पहल गर्दै राम्रो चलचित्र बनाउन आवश्यक छ । नेपालीहरू अहिले संसारभर फैलिएका छन् । त्यसैले, नेपालभित्र र बाहिरको बजारलाई हेरेर मौलिक विषयवस्तुमा गुणस्तरीय फिल्म धेरै बन्नु राम्रो हो,’ उनले भने, ‘तर, यदि केवल सङ्ख्याको हिसाबले मात्र धेरै फिल्म बन्ने हो भने त्यो राम्रो हुँदैन ।’ सङ्ख्या मात्र बढी हुने तर गुणस्तर नहुने, विषयवस्तुमा विशेषपन नहुने हो भने बढेको निर्माण नेपाली चलचित्र उद्योगका लागि घातक हुने उनको धारणा छ ।
‘सबैले मेकिङ र क्वालिटीमा ध्यान दिएर, बजारको राम्रो रिसर्च गरी स्पष्ट योजनाका साथ फिल्म बनाउनु पर्छ,’ लोहनी थप्छन्, ‘अहिले फिल्म क्षेत्रमा आकर्षण बढ्नुका पछाडि मुख्य तीनवटा कारणहरू छन् । तिनमा डिजिटल मिडियाको प्रभाव, व्यापारिक सफलता र ठुला व्यावसायिक घरानाको प्रवेश रहेको छ ।’ अहिले नेपाली चलचित्र निर्माणमा बाढी आउनुलाई सकारात्मक सङ्केत मान्ने लोहनी गुणस्तरमा कसैले पनि सम्झौता नगर्न सुझाउँछन् ।
- के भन्छन् फिल्मकर्मी ?
पछिल्लो चार महिनाको छोटो अवधिमै ७० वटा चलचित्र निर्माणका लागि दर्ता हुनुले नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह थपेको छ । यो वृद्धि केवल सङ्ख्यात्मक मात्र नभएर चलचित्रको पर्दामार्फत नेपाली कथा, कला र संस्कृतिको प्रचार–प्रसार एवं संरक्षणमा पनि महत्त्वपूर्ण मानिएको छ । यद्यपि, निर्माण इजाजतमा देखिएको यो उछाललाई सरोकारवालाहरूले अवसर र चुनौती दुवै रूपमा हेरेका छन् ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला निर्माण इजाजत बढ्नुलाई सकारात्मक रूपमा लिन्छन् । उनका अनुसार यो वृद्धिसँगै चलचित्रको बजार र व्यापार पनि बढ्दै गएको छ ।
‘यसले नेपाली चलचित्र उद्योग सकारात्मक दिशातर्फ अघि बढेको देखाउँछ । गत वर्ष प्रदर्शनमा आएका चलचित्रहरूले बक्स अफिसमा राम्रो व्यापार गरे, जसले गर्दा निर्माताहरूमा लगानी गर्ने आँट बढ्यो र निर्माण सङ्ख्यामा वृद्धि भयो,’ निरौला भन्छन्, ‘अहिले प्रदर्शन भइरहेका चलचित्रहरूले पनि राम्रो कमाइ गरिरहेका छन् । यसलाई मैले अत्यन्त सकारात्मक रूपमा लिएको छु ।’ यो तथ्याङ्कले नेपाली चलचित्र उद्योगले अब फड्को मार्दैछ भन्ने स्पष्ट सङ्केत गरेको उनको बुझाइ छ ।
विगतमा कोभिड महामारी र भूकम्पजस्ता कारणले सुस्त बनेको चलचित्र क्षेत्रले पुनः गति लिएकोमा निरौला खुसी व्यक्त गर्छन् । उनी भन्छन्, ‘चलचित्र निर्माणको सङ्ख्या बढ्दा यसले सिधै रोजगारीमा सकारात्मक प्रभाव पार्छ । जब धेरै चलचित्र बन्छन्, सुटिङ स्थलका स्थानीयदेखि प्राविधिक र कलाकारसम्मले काम पाउँछन् ।’

अभिनेता तथा निर्माता नवल खड्काको धारणा भने निरौलाको भन्दा फरक छ । चलचित्र निर्माता सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका खड्का सङ्ख्या बढ्नुलाई चुनौती थपिएको रूपमा विश्लेषण गर्छन् ।
‘जे कुरा पनि बढ्नुलाई नराम्रो त भन्न सकिन्न, तर अहिले चलचित्र निर्माण इजाजतको यो बढाइ ‘बाढी’ जस्तै हो । एउटा–दुईटा चलचित्रले राम्रो कमायो भन्दैमा लहलहैमा लागेर चलचित्र बनाउने परिपाटीले मान्छेलाई उकास्ने भन्दा पनि डुबाउने जोखिम बढी हुन्छ,’ खड्का भन्छन् ।
उनका अनुसार धेरै चलचित्र बन्नु भनेको निर्माताका लागि चुनौती थपिनु हो । ‘जति धेरै चलचित्र बन्छन्, हलमा चलचित्र जुध्ने सम्भावना उति नै बढ्छ । एउटै मितिमा ३–४ वटा चलचित्र जुध्दा निर्माता मारमा पर्छन्,’ उनी तर्क गर्छन् । वर्षमा मुस्किलले ८ देखि १० वटा फिल्मले मात्र लगानी उठाइरहेको तितो यथार्थ औँल्याउँदै खड्का भन्छन्, ‘यदि वर्षमा १०० भन्दा बढी चलचित्र रिलिज हुन्छन् भने, बाँकी ९० प्रतिशत चलचित्र त डुब्ने नै हुन् ।’
गुणात्मक हिसाबले हेर्दा यो प्रवृत्तिले उद्योगलाई झन् घाटामा लैजाने उनको चिन्ता छ । खड्का भन्छन्, ‘सीमित २–४ जनाले कमाउलान् वा साँवा उकास्लान्, तर पछिल्लो बक्स अफिस अवस्था हेर्दा बाँकी सबै डुब्ने देखिन्छ ।’ उनी अहिले ‘क्वान्टिटी’ (सङ्ख्या) मा भन्दा ‘क्वालिटी’ (गुणस्तर) मा विश्वास गर्नुपर्ने बताउँछन् ।
धेरै फिल्म बन्दा प्राविधिक र कलाकारले काम पाए पनि यसलाई तत्कालका लागि ‘के को न्यानो’ (क्षणिक राहत) मात्र भन्न सकिने उनको तर्क छ । ‘दीर्घकालीन रूपमा सोच्ने हो भने, यदि निर्माताहरू बारम्बार डुब्दै गए भने भोलि फिल्म नै नबन्ने अवस्था आउन सक्छ । निर्माता नै नरहे चलचित्र कसले बनाउने ?’ उनले प्रश्न गरे । उनी पहिला निर्माता बचाउनुपर्ने र थोरै तर स्तरीय फिल्म निर्माणमा जोड दिनुपर्ने धारणा राख्छन् ।रातोपाटी बाट साभार









