बुटवल । बाँके जिल्लाको राप्ती सोनारी–९, ढकेरी निवासी कृष्णा (नमुना) केसीले लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकी छन् ।
दुई पटक लगातार प्रदेश सभा सदस्य पदमा निर्वाचित कृष्णाले अझै २ वर्ष कार्यावधि बाँकी हुँदाहुँदै राजीनामा दिएर बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । उनलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले बाँके–१ मा उम्मेदवार बनाएको हो ।
क्षेत्र नम्बर १ मा कृष्णा केसीसहित १४ जना उम्मेदवार छन् । यस क्षेत्रमा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गतका सबै वडा समावेश छन् । यस क्षेत्रमा कुल १ लाख २४ हजार ७२७ मतदाता छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी केसीसँगै यहाँ नेकपा एमालेका सूर्य ढकाल, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डे उम्मेदवार छन् ।
कृष्णा केसीसँग प्रदेश सभा पदबाट राजीनामा र प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी, चुनावी एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीका लागि तेजेन्द्र केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
२ वर्ष पदावधि हुँदाहुँदै प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवार किन बन्नुभयो ?
हो, प्रदेश सभामा मेरो अझै २ वर्ष पदावधि बाँकी थियो, तर प्रदेश सभा छाडेर मैले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी छु । प्रदेश सभामा दुई पटक लगातार जितेँ, एक पटक प्रदेशको मन्त्री पनि बनेँ, तर अझै किसानका समस्यालाई सुरक्षित रूपमा सदनमा उठाउने, महिलाका मुद्दा उठाउने, युवाका मुद्दा उठाउने र आर्थिक रूपमा मुलुकलाई अझै सक्षम बनाउने कामका लागि प्रदेश सभाभन्दा प्रतिनिधि सभा उपयुक्त र ठुलो ठाउँ हो । त्यस कारण मैले दायरा फराकिलो बनाउन प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनका लागि मैदानमा आएकी हुँ ।
प्रदेश सभामा दुई कार्यकालको अनुभवबाट मैले धेरै कुरा सिकेँ । कतिपय काम अधुरै छन् । ती कामलाई पूरा गर्न र संस्थागत सुधारका लागि मैले प्रतिनिधि सभा सदस्प पदमा उम्मेदवारी दिएकी हुँ ।
यो राजनीतिक रूपमा अलि जोखिमयुक्त काम भएन र ?
राजनीतिमा यस्ता जोखिम र भविष्यमा आशा लाग्ने धेरै काम गरिएको हुन्छ । त्यस कारण अहिले प्रदेश सभाभन्दा मेरो लागि प्रतिनिधि सभा नै उपयुक्त ठाउँ हो ।

अर्काेतिर देशभरकै अवस्था हेर्ने हो भने साना वा ठुला दलहरूले महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कम प्राथमिकता दिँदै आएका छन् । मैले महिलाको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा जाने अवसरका लागि गरेको यो निर्णय तत्कालका लागि जोखिमपूर्ण देखिए पनि भविष्यमा उपयुक्त निर्णय हुने विश्वास छ ।
तपाईंको मुख्य एजेन्डा के हो ?
मेरो क्षेत्रमा कोहलपुर नगरपालिका परे पनि राप्ती सोनारी र नरैनापुर गाउँपालिका पछाडि परेका क्षेत्र हुन् । ती क्षेत्र सधैँ ओझेलमा पर्दै आएका छन् । यहाँ वन्यजन्तुका कारण मानिसहरूको मृत्यु समेत हुने गरेको छ । भौतिक विकाससँगै स्वास्थ्य, शिक्षा र युवाका मुद्दा सदनमा उठाउनुपर्छ । सिँचाइ, किसानका मल–खादका समस्या, विकासका कामका लागि यसअघि प्रदेश सभामा पनि मैले पहल गरेको यहाँका नागरिकलाई थाहा छ ।
मैले दुई पटक प्रदेश सभामा रहँदा यहाँका जनताको समस्या र मुद्दा बुझेकी छु । ती समस्याको समाधान गर्ने कार्य नै मेरो मुख्य एजेन्डा हो ।
बाँके क्षेत्र नम्बर १ मा एक दर्जनभन्दा बढी उम्मेदवार छन् । अरूभन्दा आफूलाई के आधारमा फरक देखाउनुहुन्छ ?
मलाई विश्वास छ, मेरो क्षेत्रमा मैले विकासको स्पष्ट मोडल प्रस्तुत गरेको छु । दोस्रो, विकास योजनालाई व्यवहारमा उतार्ने स्पष्ट सोच र अनुभव मसँग छ । त्यसका लागि म निरन्तर खटिएकी छु ।
म प्रदेश सभामा हुँदा कृषि उपकरण वितरणदेखि कृषि र पशुपालनका पकेट क्षेत्र घोषणा भए । सिँचाइको व्यवस्था गरियो । नहर सम्भव हुने ठाउँमा नहर, सम्भव नभएका ठाउँमा डिप ट्युबवेल र स्यालो ट्युबवेलमार्फत जमिन सिँचित गरियो । महिला, जनजाति, सुकुमबासी, मुक्त कमैया, सहकारी, शिक्षा र भौतिक पूर्वाधार सबै क्षेत्रमा योगदान गरेको छु । म जनतासँग प्रतिबद्ध छु । सत्तामा हुँदा वा नहुँदा म सधैँ काम गर्ने मान्छे हुँ । हिजो पनि गरेकी थिएँ, आज पनि गर्छु र भोलि पनि गर्नेमा कुनै शंका छैन ।

विशेष गरी महिलाका सवालमा हेर्दा महिलाका अधिकार, सहभागिता र न्यायसँग जोडिएका विषय अझै पर्याप्त रूपमा सम्बोधन हुन सकेका छैनन् । त्यसैले सदनमा प्रवेश गरेपछि महिलाका हक–अधिकार र न्यायसँग सम्बन्धित विषयमा विशेष ध्यान दिने मेरो योजना छ ।
तपाईं जनयुद्धदेखि माओवादी पार्टीमा लागेको व्यक्ति किन पुरानो ठाउँ छाडेर नयाँतिर लाग्नुभयो ?
त्यो बेला माओवादीबाटै राजनीति सुरु गरेको हुँ । पार्टीका लागि जीवन दिएको मान्छे हुँ, तर अहिले न माओवादी पार्टी नै रहेको अवस्था छ, न चुनाव चिह्न नै । त्यस कारण पुरानो पार्टीमै रहने वा छाडेको भन्न पनि मिल्दैन । हामी नयाँ धारबाट मुलुक परिवर्तन गर्ने उद्देश्यसहित अघि बढेका छौँ । अहिले मतदाता पनि त्यही चाहना राख्छन् । माओवादीसँगका सबै सम्बन्ध टुटिसकेका छन् । त्यसैले मलाई अहिले माओवादीसँग जोडेर प्रश्न नगरिदिनुहोस् ।
यो क्षेत्रमा किसानका धेरै समस्या छन् । तिनलाई सदनमा कसरी उठाउनुहुन्छ ?
यो क्षेत्रमा किसानका धेरै समस्या छन् । म आफैँ किसान परिवारमा जन्मिएको मान्छे हुँ । त्यस कारण यहाँका किसानका मुद्दा व्यवस्थित रूपमा सदनमा उठाउँछु ।
यो क्षेत्र उत्पादनका हिसाबले निकै सम्भावनायुक्त छ । खाद्यान्न उत्पादन हुने राम्रो भूमि छ । तरकारी तथा फलफूल उत्पादन हुन्छ । चरन क्षेत्र भएकाले पशुपालनका लागि पनि उपयुक्त छ । तर किसानले उत्पादनको उपयुक्त भाउ नपाउने, समयमा मल–खाद नपाउने समस्या छन् । उत्पादन, बजार, मूल्य र अनुदानसम्बन्धी समस्यामा स्पष्ट नीति र दबाब सिर्जना गर्ने मेरो प्राथमिकता हो ।
आफू पनि महिला भएका कारण महिलाका विषयमा तपाईंको मुख्य एजेन्डा के–के छन् ?
मैले अघि पनि उल्लेख गरेकी थिएँ । महिलालाई दलहरूले अझै धेरै ठाउँमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन चाहेका छैनन् । विभिन्न तरिकाले महिलालाई पछाडि पार्ने प्रयास भइरहेको छ । सदनमा पुगेपछि महिलाका हक–अधिकार र न्यायसँग सम्बन्धित मुद्दा उठाउनेछु । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध कानुनी कार्यान्वयनका लागि दबाब दिनेछु । साथै महिलाको आर्थिक र राजनीतिक सहभागिता बढाउने ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ ।
तपाईंको क्षेत्रमा विकासको मोडल कस्तो हुनेछ ?
केवल भाषणमा सीमित नभई परिणाम देखिने विकास हुनुपर्छ । पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड्ने समग्र विकास मोडल हुनेछ । मेरो क्षेत्रमा डिग्रीसम्म अध्ययन गर्ने कलेज, विज्ञान अनुसन्धान केन्द्र, खेलकुदसँग जोडिएको क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ । युवाका लागि रोजगारीका विशेष कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने वातावरण तयार गरिनेछ । मैले दुई कार्यकाल प्रदेश सभामा रहँदा अपुग रहेको सिँचाइ र खानेपानीको समस्या समाधानतर्फ लाग्नेछु ।
आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?
मलाई बाँकेवासीले दुई पटक प्रदेश सभामा मतदान गर्नुभयो । मैले प्रतिनिधि सभामा पुगेर यहाँका जनताका लागि अझै सशक्त भूमिका निर्वाह गर्न सक्छु । त्यस कारण खाली बोल्ने होइन, काम गरेर देखाउने विकल्प रोज्न आग्रह गर्छु । आलोचना होइन, परिणाम दिने नेतृत्व आवश्यक छ । मेरो क्षेत्रमा मात्र होइन, समग्र बाँके जिल्ला, प्रदेश र मुलुकका गाउँबस्ती, किसान, मजदुर, महिला, युवा र पछाडि पारिएका समुदायका सपना र अपेक्षालाई आत्मसात् गर्दै प्रतिनिधि सभामा जान खोजेकी हुँ । मेरो मुख्य ध्यान शिक्षा, स्वास्थ्य, रोजगारी, समानता र सामाजिक न्यायका लागि सदनमा सधैँ रहनेछ ।रातोपाती बाट साभार






