Skip to main content

धनगढी न्यूज

छैटौंपटक चुनावी मैदानमा दीपक गिरी, आफ्नालाई एकढिक्का बनाउने चुनौति

Advertisement

४ फागुन, दाङ । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेलगत्तै गगन थापाले कांग्रेस बदलिएको प्रचार गरे । तर कांग्रेस बदलिएको अनुभूति दाङ क्षेत्र नम्बर ३ ले गर्न पाएन । किनभने दाङ ३ मा कांग्रेसले पुरानै अनुहारका दीपक गिरीलाई टिकट दियो ।

गिरी ३१ वर्ष अवधिमा छैटौंपटक चुनावी मैदानमा छन् । यस अवधिमा उनले २०७० र २०७९ को चुनाव जिते । २०५१, २०६४ र २०७४ मा उनले हार व्यहोरे । अब उनी छैटौं पटक चुनाव लड्दैछन् ।

२०३० सालको विद्यार्थीकाल हुँदै राजनीतिमा आएका गिरी साढे चार दशकदेखि कांग्रेसमा सक्रिय छन् । २०५१ सालदेखि चुनावमा लड्न थालेका उनले अहिलेसम्म पाँच वटा चुनाव लडिसके ।

२०५१ सालमा उनी पहिलो पटक दाङ क्षेत्र नंं. २ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी एमालेका शंकर पोखरेलसँग पराजित भएका थिए ।

दोस्रो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा उनी दाङ क्षेत्र नंं.५ बाट उम्मेदवार बने । त्यसबेला माओवादी नेता शुष्मा शर्मा घिमिरेसँग पराजित भए ।

२०७०सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी तेस्रो पटक चुनाव लडे । त्यसमा भने उनले एमालेका उत्तरकुमार वलीलाई पराजित गर्दै पहिलो जित निकाले । त्यसबेला उनी सिंचाइ मन्त्री बने ।

२०७४ सालमा उनी क्षेत्र नं.३ बाट चौथो पटक चुनाव लडे । त्यसबेला उनी एमालेका हीराचन्द्र केसीसँग पराजित भए ।

०७९ सालको अघिल्लो चुनावमा उनी माओवादीसँगको गठबन्धनबाट पाचौंपटक उम्मेदवार बने । उनले एमालेका कोमल वलीलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

पटक–पटक एउटै उम्मेदवार चुनावी मैदानमा उतारको कांग्रेसका लागि यसपालि नयाँ अनुहारसहितका उम्मेदवार र वैकल्पिक शक्ति भनिएका दलहरुको चुनौति छ ।

नागरिक समाज तुलसीपुरका पूर्व संयोजक टिकाराम रेग्मी भन्छन्, ‘बदलिएको राजनीतिक परस्थितिमा पटक पटक परीक्षण भइसकेको व्यक्ति भन्दा विकल्प खोज्नुपर्थ्याे । किनभने जेनजी आन्दोलनको मर्म अनुसार जनताले नयाँ अनुहार खोजिरहेका छन् ।’

कांग्रेस बदलिएको अनुभूति दाङ ३ ले गर्न नपाएको बताउँदै उनी भन्छन्, ‘कांग्रेसले फेरि पनि पुरानैलाई टिकट दिएपछि मतदातामा उत्साह देखिँदैन ।’

कांग्रेसका नेताहरु भने पार्टीले गिरीको आवश्यकतालाई देखेर उम्मेदवार बनाएको बताउँछन् । नेपाली कांग्रेसका युवा नेता सुरेश हमाल भन्छन्, ‘उहाँ राजनीतिमा लागेको पुरानो व्यक्तिमात्र होइन । यो क्षेत्रको बिकासमा योगदान पुर्याएको व्यक्ति पनि भएकाले टिकट पाउनु स्वाभाविक हो ।’

गिरीले हरेक पटकको निर्वाचनमा तुलसीपुरको टरिगाउँ एयरपोर्टलाई चुनावी मुद्दा बनाउँदै आएका छन् । नियमित सञ्चालनमा नभएको एयरपोर्टलाई उनले ७२ सिटे जहाज बस्ने गरी स्तरोन्नती गर्ने भन्दै चुनावी एजेण्डा बनाउँदै आएका थिए । तर अहिलेसम्म १७ सिटे जहाजले पनि नियमित उडान भरिरहेको छैन ।

‘०५१ सालदेखि अहिलेसम्म उनले एयरपोर्टलाई चुनावी मुद्दा बनाउँदै आए’ नागरिक समाज तुलसीपुरका पूर्व संयोजक रेग्मीले भने, ‘यो ३१ वर्षमा पनि एयरपोर्ट बनेन, चुनावी जित्ने हतियारमात्र बनाए ।’

कांग्रेस उम्मेदवार गिरीले भने यस क्षेत्रको विकासको लागि आफूले उल्लेखनीय काम गरेको दावी गर्छन् । आफू सिंचाइ मन्त्री हुँदा ल्याएको वृहत सिंचाइ योजनाले अहिले पनि किसानहरुलाई राहत मिलेको बताउँछन् । त्यस्तै सडक पूर्वधार क्षेत्रमा पनि आफूले काम गरेको उनको दाबी छ ।

दाङ कांग्रेसभित्र संस्थापन र विशेष महाधिवेशन पक्ष बीचको तिक्तता साम्य भइसकेको छैन । संस्थापन पक्षका कांग्रेस नेताहरु गिरीको पक्षमा खुलेर चुनाव प्रचारमा लागेका छैनन् ।

संयोगले उम्मेदवार, तेस्रो जितको खोजी

गिरी यसपटक उम्मेदवार हुनुमा एउटा संयोग पनि जुरेको छ । कांग्रेका नेताहरुका अनुहार उनी संस्थापन पक्षमा शेखर कोइरला निकटका नेता हुन् । त्यसैले उनी विशेष महाधिवेशनको विपक्षमा थिए । यसकारण पनि उनले यसपाली टिकट पाउने सम्भावना थिएन ।

उनको ठाउँमा विशेष महाधिवेशनको पक्षमा खुलेका कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले टिकट पाउने चर्चा थियो । तर अन्तिम समयमा डाँगीले चुनाव लड्न इच्छा नदेखाएपछि शेखर समूहबाट गिरीले नै टिकट पाए ।

यही अवसरलाई गिरी तेस्रो जितमा परिणत गर्न चाहन्छन् । अघिल्लो पटक उनले एमालेकी कोमल वलीलाई ७ हजार ८ सय १० मतान्तरले हराउँदै विजयी भएका थिए । कांग्रेस नेताहरु यो पटक पनि गिरीको जित निश्चित भएको दाबी गर्छन् । उनीहरुको तर्क छ, कांग्रेस बलियो छ ।

विगतको चुनावी अंकगणित हेर्दा पनि यस क्षेत्रमा कांग्रेस बलियो नै देखिन्छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा धेरै २६ हजार ५७५मत पाएको थियो । अघिल्लो पटकजस्तो यसपाली चुनावी गठबन्धन नगरेर कांग्रेस एक्लै मैदानमा छ । त्यसैले गिरीलाई मत बटुल्न धेरै नै मिहिनेत गर्नुपर्ने अनुमान कांग्रेस कार्यकर्ताहरुको छ ।

दाङ कांग्रेसभित्र संस्थापन र विशेष महाधिवेशन पक्ष बीचको तिक्तता साम्य भइसकेको छैन । संस्थापन पक्षका कांग्रेस नेताहरु गिरीको पक्षमा खुलेर चुनाव प्रचारमा लागेका छैनन् । खासगरी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरी गिरीको चुनाव प्रचार प्रसारमा देखिएका छैनन् । जबकी चौधरी मत धेरै भएको यस क्षेत्रमा जातीय मत पूर्वमुख्यमन्त्री चौधरीसँग छ ।

कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेसभित्र आन्तरिक द्वन्द्वले पनि संस्थापन पक्षका नेताहरु खुलेर लागेका छैनन् । यसले गिरीलाई अप्ठ्यारो पार्न सक्छ ।’

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्रेज पनि गिरीका लागि चुनौति बन्नसक्ने सम्भावना छ । अघिल्लो पटक नै रास्वपाका उम्मेदवार कमल सुवेदीले १५ हजार मत ल्याएका थिए । सुवेदी यसपटक पनि चुनावी मैदानमा छन् ।

दाङ ३ मा नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे र नेपाली कम्युनिस्ट पार्टीबाट लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्की प्रतिस्पर्धामा छन् ।अन्लाईन खबर बाट साभर

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...