धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Entrepreneurship, Nabil SSE ) को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व एसपीए कलेजका क्याम्पस प्रमुख बुधराम चौधरीले गरेका थिए। तीन महिनासम्म सञ्चालन गरिएको तालिममा सहभागी युवाहरूलाई सामाजिक उद्यमशीलता, व्यवसाय विकास, नेतृत्व क्षमता अभिवृद्धि, वित्तीय साक्षरता तथा नवप्रवर्तनका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा नबिल बैंकका प्रदेश क्लस्टर प्रमुख अस्मिन कुमार बस्नेत, डेपुटी क्लस्टर प्रमुख तपेन्द्र कुँवर, विभिन्न स्रोत व्यक्तिहरु तथा छैटौँ व्याचका सहभागीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा एसपीए कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले स्वागत मन्तव्य व्यक्त गरेका थिए। तत्पश्चात् नबिल बैंकका प्रदेश क्लस्टर प्रमुख अस्मिन कुमार बस्नेतले सामाजिक उद्यमशीलतामार्फत युवाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै उद्यमशील सोचको विकास आवश्यक रहेको बताए।
सहभागीका तर्फबाट मन्तव्य राख्दै यशोदा जोशीले तालिमबाट प्राप्त ज्ञान, अनुभव र मार्गदर्शनले भविष्यमा उद्यमशील यात्रालाई थप सहज बनाउने विश्वास व्यक्त गरिन्। यस्तै, स्रोत व्यक्ति रविन्द्र परियारले सामाजिक समस्या समाधानसँगै आर्थिक अवसर सिर्जना गर्न सामाजिक उद्यमशीलताको भूमिका महत्वपूर्ण रहेको बताए।
समापन मन्तव्य राख्दै क्याम्पस प्रमुख बुधराम चौधरीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा रूपान्तरण गर्दै समाज र समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गरे। उनले नबिल बैंक र एसपीए कलेजबीचको सहकार्यले सुदूरपश्चिमका युवाहरूमा उद्यमशील सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए।
कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमले युवाहरूलाई सामाजिक समस्याको समाधान खोज्दै दिगो उद्यम विकासतर्फ अग्रसर गराउने उद्देश्य राखेको छ। कार्यक्रमको सञ्चालन नवील एसएसई कार्यक्रमका सुदूर पश्चिम कलेज संयोजक पुष्प राज ओझाले गरेका थिए ।









