धनगढी न्यूज

संघीय लोकतान्त्रिक गणतन्त्र सात दशक लामो संघर्ष बाट प्राप्त भएको हो:रामचन्द्र पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित रहेको राष्ट्रपतिको भनाइ छ ।

लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुनेमा राष्ट्रपति पौडेलले जोड दिएका छन् ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×