Skip to main content

धनगढी न्यूज

थाई एयर एसियाले भैरहवालाई बैंककसँग सातामा ४ दिन जोड्ने

Advertisement
एयर एसियाले २०६९ देखि २०७५ सम्म काठमाडौं उडान गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो, थाई एयर एसिया आउने भएपछि बैंक ग्यारेन्टी बुझाइयो
नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ, थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ
काठमाडौँ — थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको हो ।  ‘थाई एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।
उनका अनुसार, प्राधिकरणअन्तर्गत ‘एभिएसन सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन’ निर्देशनालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन हुँदै प्राधिकरणमा पुगेको प्रस्तावलाई महानिर्देशक प्रदीप अधिकारीले सदर गरेका छन् ।

थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने प्राधिकरणले जनाएको छ ।

५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो । एयर एसियाले २०६९ देखि २०७५ सम्म नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो । थाई एयर एसिया आउने भएपछि एयर एसियाको बक्यौता रकम भने बैंक ग्यारेन्टीमार्फत गत चैतमा बुझाइएको विमानस्थलको महाप्रबन्धक जगन्नाथ निरौलाले गत चैतमै बताएका थिए । ‘साँवा र ब्याज गरी २७ करोड बुझाउन २४ किस्तामा बुझाउन बैंक ग्यारेन्टी प्राप्त भएको छ,’ उनको भनाइ थियो । त्यसपछि थाई एयर एसियालाई नेपालमा उडान अनुमतिको बाटो प्राधिकरणले खुला गरेको हो ।

तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङको कार्यकालमा थाई एयर एसियाले उडानका लागि मन्न्त्रालयमा आवेदन दिएको थियो । मन्त्रालय हुँदै प्राधिकरण र मातहतका कार्यालय पुगेको प्रस्तावमा बिहीबार निर्णय भएको हो । २० वर्षअघि स्थापना भएको यो ‘बजेट क्यारियर’ वायुसेवाले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।

नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्यांक छ । थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ ।

उडान अनुमति माग गरेको एयर इन्डिया एक्सप्रेसको प्रस्तावमा भने कुनै निर्णय भएको छैन । एयर इन्डियाले भारतका दिल्लीलगायतका सहरबाट दैनिक तीनवटा उडान काठमाडौं गर्न अनुमति माग गरेको छ । ‘अबका दिन नेपालमा उडान गर्न प्रस्ताव गर्ने वायुसेवा कम्पनीलाई भैरहवा र पोखरामा पनि उडानमा समेटेर अनुमति माग गर्न भनेका छौं,’ प्राधिकरणको उडानसँग सम्बन्धित निर्देशनालयका एक अधिकारीले भने, ‘त्यसैगरी दुई वटाभन्दा बढी जनरल सेल्स एजेन्ट (जीएसए) भएका वायुसेवालाई पोखरा र भैरहवा उडानमा प्रोत्साहन गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूलाई यही निर्देशन दिएका छन् ।’

२०७९ जेठमा भैरहवा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । त्यही बेलादेखि कुवेतको जजिरा एयरवेजले पहिलो वायुसेवाका रूपमा नियमित अन्तर्राष्ट्रिय उडान गरेको थियो । तर उडान नियमित हुन सकेन ।

प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार जजिराले भैरहवामा जम्मा १ सय १० वटा उडान गर्‍यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान गरेको थियो । त्यो पनि अहिले रोकिएको छ । गत वर्ष जेठदेखि नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आउने उडान सातामा एक दिन (मंगलबार) भैरहवामा ‘टचडाउन’ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै आएको छ ।

२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भैरहवास्थित आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गरेका थिए । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेको भैरहवा विमानस्थल ३५ अर्ब ६६ करोड लागतमा निर्माण भएको हो । यसमा एसियाली विकास बैंकलगायतको सहयोग रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...