Skip to main content

धनगढी न्यूज

विवादमा परेका तीजका गीत, प्रतिबन्धको मर्म के?

Advertisement

काठमाडौं– तीजका गीत कस्ता हुनुपर्छ ? बदलिँदो परिवेशमा मनाउने तरिका परिवर्तन भएको चाड तीजको गीतका शब्द चयन कस्तो हुनुपर्छ ? अथवा तीजको झल्को दिने सबै तीजका गीत हुन् ? कस्ता गीतलाई तीजको गीत भनेर दाबी गर्ने ? यी प्रश्नको जवाफ सर्जकहरूले ठोस ढङ्गले बुझ्नु र बुझाउनुपर्ने बेला आएको छ ।

यसै पनि तीजको छेकोमा अन्य चाडको तुलनामा लोक गीत बढी निस्कने गर्छन् । अहिले तीजलक्षित गीतहरू युट्यूबमा धमाधम सार्वजनिक हुँदैछन् । विवादमा पर्नेको संख्या पनि निकै छ ।

यतिसम्म कि– तीज आउन एक महिना बाँकी छ, एक दर्जभन्दा बढी गीत आलोचनाका शिकार भएका छन् । पाँच गीतमा प्रतिबन्ध लागेको छ ।

मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले स्थापना गरेको भनिएको संस्था ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले तीजलक्षित ५ गीतमा प्रतिबन्ध नै लगाएको हो ।

प्रतिबन्ध लगाइएका गीतहरू हुन्– कविता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’, प्रिती आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ तथा प्रिती आले र प्रकाश शर्माको स्वर रहेको ‘चिर्यस बियर’ !

सर्जकले ‘बिस्ताराले पोल्यो’ र ‘चियर्स बियर’लाई तीजको गीत भनेर दाबी गरेका छैनन् । यद्यपि यी पनि द्विअर्थी शब्दका कारण दर्शकबाट आलोचित गीत हुन् । यी गीतमा प्रतिबन्ध लाग्नुको कारणहरू– द्विअर्थी शब्द, गलत अर्थ झल्काउने शारीरिक हाउभाउ र नग्नता नै हुन् ।

यी बाहेक अन्य तीजका गीतहरूको विवाद छन् । कुनै गीतका शब्द यौवनले भरिएका छन् भने केही गीतका भिडियोका दृश्य !

प्रतिबन्धको अर्थ के ?
पछिल्लो पटक प्रतिबन्धित यी गीतका उदाहरण लिँदा प्रतिबन्धको तात्विक असर देखिँदैन ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सञ्चारमाध्यमलाई विकृतिजन्य यी गीतहरू भनेर किटान गरेर स्थान नदिन पत्राचार गरेको सचिव कलम सरगम बताउँछन् ।

तर, कुनै संस्थाले प्रतिबन्ध नै ती गीतहरू प्रचारको माध्यम बन्छन् । प्रतिबन्धको समाचार अथवा चर्चाले ती गीत प्रचार भएकै हुन्छन् । लोक गीतको सेन्सर गर्ने सरकारी निकाय छैन । प्रतिबन्धित गीत सामाजिक सञ्जालबाट हटाउन सर्जकलाई दबाब दिन सक्ने हैसियतका संस्था छैनन् ।

राष्ट्रिय लोक सञ्‍चारकर्मी नेपालद्वारा जारी प्रेस विज्ञप्ति ।

संस्थाका सचिव सरगम भन्छन्, ‘सरकारी निकाय नभएकाले लोक गीतमा विकृति छिर्न नदिने हामीले तदारुकता देखाउनु पर्ने बाध्यता आएको हो । यो अवस्थामा एक्सन लिन सक्ने सरकार मातहतको निकाय चाहिन्छ भन्ने हाम्रो माग हो ।’

अर्कोतर्फ गीत प्रतिबन्ध हुँदाको गम्भीर अवस्थामा पनि सर्जकहरूको व्यवसायिक पक्षमा खासै असर पारेको पाइँदैन । त्यसका उदाहरणहरू हुन्- ज्योति मगर, दुर्गेश थापा, शिव हमाललगायत !

प्रतिबन्धले उल्टै गायक–गायिक र गीतलाई चर्चामा ल्याउँछ । फलतः उनीहरूको माग मेला महोत्सवका प्रस्तुतिका लागि हुने गर्छ । व्यवसायिक पक्ष अझ सुद‍ृढ हुन्छ भन्दा फरक पर्दैन ।

सचिव सगरम पनि यी तथ्यलाई अस्वीकार गर्दैनन् । ‘जिम्मेवार संस्था आयोजना गर्ने कार्यक्रममा पनि गीत प्रतिबन्धमा रहेका कलाकारले प्रस्तुती दिएको पाइन्छ,’ उनी भन्छन्, ‘गीतमा विकृती भित्र्याउने सर्जकहरूलाई उहाँहरूले सोचर निर्णय लिन आवश्य छ ।’

यद्यपि आफूहरूको संस्था सर्जकको सम्पूर्ण पाटोमा हस्तक्षेप गर्ने हैसियत नराख्ने बताउँदै उनी गीत प्रतिबन्धमा परेका कलाकारको ‘कन्सर्ट’ जोखिमपूर्ण नै हुने बताउँछन् ।

उनी थप्छन्, ‘विगतामा हामीले कलाकारलाई नै मञ्चमा आक्रमण भएको पाएका छौं । त्यसको कारण के हो ? गीत र भिडियोमा अश्लीलता कारण दर्शक अनियन्त्रित पनि हुन्छन् ।’

विकृति रोक्ने उपाय के ?

कुनै पनि विधा अथवा अझ मौलिक गीतमा अश्लीलता समावेश हुनु पक्कै पनि राम्रो विषय होइन । यसका लागि नियमन गर्ने सरकारी निकाय खडा हुन आवश्यक छ । अन्यथा गैरसरकारी संस्थाले प्रतिबन्ध लगाउँदा किचलो निम्तने सर्जहरू नै बताउँछन् ।

गायक तथा संगीतकार आलोक श्री भन्छन्, ‘सरकारी निकायले गीतहरूमा सेन्सरको अवधारणा ल्याउनुपर्छ । गैरसरकारी संस्थाले प्रतिबन्ध लगाउँदा विकृति निर्मूल हुँदैन ।’

अझ; पुस्ताअनुसार अश्लीलताको बुझाइ फरक हुने भएकाले नियमनको पाटो गहन रहेको उनको बुझाइ छ । उनी थप्छन्, ‘के अश्लील मान्ने ? कुनै वयस्क मानिसलाई अश्लील लागेको गीत किशोर पुस्तालाई नलाग्न सक्छ । यो जटिल विषय छ । सरकारी नियमन नै आवश्यक छ ।’

यद्यपि आफू विकृतिलाई बढवा दिने पक्षमा नरहेको बताउँदै उनी सर्जकले नै नैतिक रूपमा जिम्मेवार भएर सिर्जना गर्दा उचित हुनेमा जोड दिन्छन् ।

यता मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले संगीत क्षेत्रमा रहेका व्यक्तिहरूले स्थापना गरेका संस्थाका पदाधिकारीहरूको तर्क छ– ‘सरकारी नियमन छैन । तर यही क्षेत्रमा रहेका हामी पनि त आफ्नो क्षेत्र विकृत हुन चुप बस्नु भएन ।’

कम्तिमा पनि सर्जकहरूलाई नैतिक जिम्मेवारमा चेत जगाउन आफूहरू लागि पर्ने उनीहरूको बताउँछन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगम भन्छन्, ‘दर्शकका लागि गीत दिने सर्जकहरू त जिम्मेवार हुनैपर्छ । कम्तिमा सेल्फ सेन्सरमा नैतिकता त देखाउनुपर्छ ।’

‘सेल्फ सेन्सर’मा समस्या हुने सर्जकले राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल जस्ता विकृतिजन्य गीतहरूको खबरदारी गर्ने संस्थाहरूको सहयोग लिन सक्ने बाटो रहेको उनी बताउँछन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...