धनगढी न्यूज

धार्मिक तथा ऐतिहासिक सुर्मादेवी बिरी जात मेला सुरु

शिवजी मण्डेल, बझाङ – भगवतीका सोह्र शक्ति रुपहरू मध्ये एक सुर्मादेवीको धार्मिक, तथा ऐतिहासिक धरोहरको पर्व सुर्मादेवी बिरी जात मेला सुरु भएको छ । प्रत्येक वर्ष सुदूरपश्चिमको बझाङ र दार्चुलामा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मा देवी बिरिजात मेला आइतबार देखि  सुरु भएको हो ।

लामो समय सम्म सुर्मा भगवतीको पूजा आराधना गरिने सुर्मा देवी बिरी जात मेला श्रावण महिनाको औँसीबाट सुरु भएर पूर्णिमा सम्म चल्ने गर्दछ । सुर्मा देवी बिरी जात मेलाको समयमा लामो समयसम्म सुर्मा देवी भगवती माताको पूजा आराधना गरिने परम्परा रहेको छबिस पाथिभेरा गाउँपालिका  – ७ का स्थानीय तथा शिक्षक कलक बहादुर मण्डेलले बताए ।

साउन महिनाको औँसीका दिन सुर्मा देवीका आलिपालिका गाउँका सबै करियाहरू धामी झाँक्री नाइके जाग्री पुजारी सुर्मा देवीको मन्दिरमा जाने गर्दछन् । मन्दिरमा गएर पूजापाठ गर्ने धामी झाँक्री काप्ने परम्परागत चलन रहेको छ । मन्दिरमा गई पूजा आराधना गरिसकेपछि बाँधा अर्थात् जात्रा, मेला सुरु भएको मान्ने प्रचलन रहेको छबिस पाथिभेरा गाउँपालिका – ७ घट्टेका सुर्मा देवीका पुजारी हाँसे मण्डेलले बताए ।

जगतकी माई भगवती माता सुर्मा देवी छिपिली भएकाले बाँधा सुरु भएयता जाँड रक्सी नखाने माछा मासु लसुन नखाने चलन रहेको छ । पहिला पहिला बाँधा मानिएको समयमा खालि खुट्टा हिँड्ने, अर्को ठाउँको मान्छे गाउँमा प्रवेश गर्न नदिने भए पनि अहिल्यै त्यस्तो नभएको स्थानीयहरू बत्ताउँछन् । यदि अशुद्ध भए नराम्रो हुने दुःख कष्ट पाउने जनविश्वास रहेको पाइएको छ ।

बाँधा सुरुभएपछि १० दिनसम्म तिर्थालु भक्तजनहरू त्यहाँ रहेका सुर्मा देवी मन्दिरमा पूजा आराधना गरी बाँधा अर्थात् जात्रा मान्ने गर्दछन् । बाँधा मानिएको समयमा साँझ पख दैपाण भनिने देउघरमा गाउँका सबै जम्मा हुने ढाँका नाच नाच्ने ढुस्का गीतहरू गाउने तथा धामी झाँक्री काप्ने गर्दछन् । यो बिरी जात मेला ठाउँ अनुसार फरक तरिकाले मान्ने गरिन्छ ।

सुर्मा देवी बिरिजात मेला एक वर्ष सानो बिराइ र एक वर्ष ठुलो बिराइ मानिने गरेको छ । यो वर्ष सानो बिराइमा रहेको छ । सानो बिराइमा सुर्मा सरोवरमा मान्छे कम जाने तथा बालवीर नजाने गरेको पाइन्छ  । ठुलो बिराइमा कहिले सुर्मा सरोवर नगएकाहरू बालवीर सहित ठुलो सङ्ख्यामा तिर्थालुहरू सुर्मा सरोवर जाने गरेका छन्  ।

१० दिन बाँधा मानिसकेपछि एकादशीका दिन उबासु पर्व माग्ने गरेका छन् । उबासुका दिन बिहानै उठेर स्नान गर्ने त्यसपछि मिठा मिठा खाने परिकारहरू पकाउने गरेको स्थानीय स्थानीयको भनाइ छ । स्थानीयका अनुसार उबासुका दिन करियाहरू सबै सुर्मा देवीको मन्दिर जाने पूजा आराधना गर्ने र सुर्मा सरोवर जानेलाई धामी झाँक्री कापेर बोलाउने परम्परागत चलन रहेको छ । त्यसपछि घर फर्किने र बिहान पकाएको परिकारहरू खाने गरेका छन् ।

 

त्यसपछि भोलिपल्ट बिहानै उठेर सुर्मा सरोवर जाने तिर्थालु भक्तजनहरू सुर्मा देवीको मन्दिरमा गई पूजा आराधना गरेर सुर्मा सरोवरको यात्रा शुभारम्भ हुने छबिस पाथिभेरा गाउँपालिका ७ खोरीका स्थानीय मकर बोहराले बताए ।

किन जाने सुर्मा 

बझाङ जिल्लाकै एक धार्मिक तथा पर्यटकीय प्रसिद्ध स्थल सुर्मा सरोवर ताल समुन्द्री सतहबाट करिब १४ हजार फिटको उचाइमा रहेको छ । यहाँ तिर्थालु भक्तजनहरू गएर स्नान गरेमा सुर्मा देवी भगवती माताले मनोकामना पूरा हुने निःसन्तानलाई सन्तान प्राप्ति हुने आफूले गरेको पाप हट्ने खुसी मिल्ने जनविश्वास रही आएको छविस पाथिभेरा गाउँपालिका ७ का सुरेश मण्डेलले बताए ।

यस सुर्मा देवी बिरी जात मेलालाई बझाङमा बिरी जात भनिन्छ भने दार्चुलामा बिरे जात्रा भन्ने गरेको पाइन्छ ।

कसरी भयो उत्पत्ति ?  

सुर्मा देवीको उत्पत्ति दुर्गाथली गाउँपालिका स्थित थली जिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ । पौराणिक कथा अनुसार थली मन्दिरमा जेठी दुर्गा देवी र कान्छी सुर्मा देवी दुई वटै बहिनी श्रीमती सँग भगवान् माहालिंग बस्दथे ।

महालिङ्ग भगवानलाई कुष्ठ रोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह अनुसार जेठी बहिनी दुर्गा देवीले कान्छी बहिनी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन सुर्मा देवीले नक थुनेर लसुन पिस्न थालेपछि दुर्गा देवीले त्यतिकि छिपिली भए सुर्मा सरोवर बस भनेको बचन सहन नसकी सुर्मा देवीले थार भनिने जङ्गली जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन ।

 

जङ्गली जनावरको भेषमा रहेकी सुर्मा देवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउँदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन् ।

सुर्मा देवीले दिनहुँ बिस्कुन खान थालेपछि खोरी घट्टे गाउँकी महिलाहरूले श्रीमानलाई सिकार गर्न भनिन् । त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर सुर्मा देवीको अवतार भएको भन्ने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×