धनगढी न्यूज

मरुँला भनि बिशु खानु – बाँचे भनि वल्के खानु

सानैदेखि सुन्दै आएको एउटा उखान “मरुला भनी बिशु खानु बाचे भनी वल्के खानु” । वल्के र बिशु सुदूरपश्चिममा मनाउने विशेष चाड हुन । बिशु पर्व नयाँ बर्ष अर्थात बैशाख 1 गतेका दिन धुमधामका साथ मनाइन्छ । यस दिन सुदूरपश्चिमेलिहरुले मिठा मिठा परिकार पकाइ खाने बिहानै नुहाएर घर भन्दा अलि टाढा पधेरा भएको ठाउँमा दहि चामल वा दहि चिउरा , टीका लगेर गोरलौरी ( घगारुको लठ्ठीमा बुट्टा भरेर रंग लगाएर तयार पारेको ) पुज्ने गर्दछ्न । सबैजना संगै बसेर दहि चिउरा खाने घर पर्किदा एकाअर्कालाई सिस्नु लगाउने गरिन्छ , साथै घरमा नन्द भाउजू देवर भाउजूबिच सिस्नु हानाहान हाँसोमजाक गर्दै यो पर्व हर्ष उल्लासका साथ मनाइन्छ ।

सानो हुँदा मरुला भनी वल्के खानु भनेर किन भनिएको हो भन्ने प्रश्नले बाल मस्तिष्क सधै हल्ली रहन्थ्यो अहिले आएर त्यो उखानको अर्थ बुझियो । यस्पालिको बर्खे झरिले यति धेरै उत्पात मच्चाएको छ कि प्रत्येक दिन मान्छे मरेका खबर सुन्न परेको छ । कति सुतेकै अवस्थामा मरे , कति यात्रा गर्दा गर्दै बगे , कति खोला तर्दा मरे  , कति घाँस काट्दा खसेर , आकाशमा उडेका आकाशमै बिलाए । कतिको काख रित्तियो , कसैले आमाबुबा गुमाए कसैले घर गुमाए , कतिको सिन्दुर पुछियो , कतिको घर्को खम्बा ढल्यो , कति मान्छे सहारा विहिन एक्लो भए ; सुन्न नसकिने गन्न नसकिने दुर्घटनाहरुले सामाजिक संजाल पत्रपत्रिका फेसबुकका भित्ताहरु भरिए – भरिएकै छ्न ।

जेठ-बैशाखको उखरमौलो गर्मीको समय त्यहि पानीको लागी तडपिन्छौँ,  पानीका मुहान सुक्छ्न् , मान्छे  पशुपन्छी काकाकुल अवस्थामा पुग्छन् । झाडापखाला हैजा मलरिया जस्ता अनेकन रोग देखिन्छन् , सर्पको बिगबिगि हुन्छ । फेरि असार साउनका दुई मैना त्यही पानीले तर्सिन्छौ असार सुरु भए लगत्तै बाढी पहिरो डुवानले घर भत्काउछ , मन भत्काउछ , बाटो भत्काउछ मान्छेलाई जहाँको त्यही अडकाएर राखि दिएको छ । कैले हामिले प्रकृतिमाथि अन्याय गर्छौ कहिले प्रकृतिले हामी माथि , हिसाब बराबरी गरेर राखिदिएको छ ।

आज साउनको अन्तिम दिन आज हामी बाच्यौँ भनेर खुशीयालीसाथ वल्के मनाउने दिन ; वल्के साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा मनाइन्छ ।अब बिस्तारै मौसम खुल्ने छ , झरी र कुहिरो भित्र लुकेका डाडापाखा रङ्गविरङ्गी घरहरु टाढैबाट देखिनेछ्न चाड्पर्वको रौनक सुरु हुनेछ । वल्के साउन मसान्त र भाद्र सङक्रान्ती गरि दुई दिन धुमधामका साथ मनाइन्छ । वल्केलाई जेठो पर्वपनि भनिन्छ वल्के मनाएसंगै तिज, गौरा दशै तिहार जस्ता पर्व लगातार पर्ने हुँदा यसलाई जेठो पर्व भनिएको हुनुपर्छ । साथै लुतो फाल्ने पर्वको रूपमा पनि मानिन्छ ।

वल्केको पहिलो दिन मसान्तिको दिन बेलुका बाबर लाउन ( सेलरोटी ) निसौसे माडा पुरी खिर लागायत आफुलाई मनपर्ने परिकार पकाएर सपरिवार संगै बसेर खाने सुत्न अघि हातमा मेहेन्दी लगाउने चलन छ । वर्षातको समयमा खेतवारीमा काम गर्दा हातखुट्टा पाक्ने छाला सम्बन्धि रोगको सङक्रमण देखिने र सोबाट बच्न मेहेन्दी लाउने गरिन्छ भन्ने बिश्वास र बैज्ञानिकता छ । हाल बजारमा उपलब्ध मेहेन्दी लगाएपनि हाम्रा आमा बुवा बाजेका समयमा भंगेरी फूलका पात , ओखरको बोक्रा  ,अनारको बोक्रा , मिछिट्टीका जरा डेसि ढुङ्गामा लागेको झ्याउ ओसिलो ठाउँतिर पाउने चुकिलडाठ पिसेर हात खुट्टा खुट्टामा लगाएर पिडालुका पातले हातलाई बाधेर सुत्ने चलन थियो । पिडालुका पातले मेहेन्दी नबाधे राती बुढी ( भुत ) आएर चाटिदिन्छ भन्ने भनाइ छ ( पिडालुको पातले बाध्नुको कारण हातमा लागेको मेहेन्दीको दाग लुगाकपडामा नलागोस भन्ने थियो होला ) वल्केको दोस्रो दिन भाद्र सङक्रान्तिको दिन बिहान् बिहानै डुप्का भात बटुक राइतो तिलको / भैराको चटनी बनाउने माइती भन्दा टाढा रहेका छोरीचेली बोलाएर खुवाउने गरिन्छ साथै आफू भन्दा ठुलाबडा मान्यजन र ससुरालीतिरका लाई वल्को ( पिडालुका पात , गाबा आप्नो बारिमा फलेका तरकारी आफुसङ्ग भएको गोरस फलफुल ) दिने गरिन्छ ।

हामिले मनाउने पर्वहरुले हाम्रा सम्बन्धलाई प्रगाढ पार्ने काम गर्दछ्  हाम्रो सम्बन्धमा मिठास पैदा गर्छ हामीलाई एकाअर्कासङ्ग जोडि राख्छ । हाम्रो समाजमा चाड पर्वको समयमा आफुसङ्ग भएको दिने नभएको माग्ने बाँडीचुँडी खाने चलन छ जस्को घरमा दूध दिने गाई भैंसी छ्न उनीहरुले आफ्ना छिमेकी नजिकका आफन्तहरुलाई दुधदही दिने , जस्को बारिमा जे फलेको छ सागतरकारी , फलफूल एक अपासमा बाड्ने गर्दछ्न ।घरमा मान्छे मरेर चाडपर्व बारेकाहरुलाई सो दिन आफ्ना घरमा पाकेका निकोनौलो परिकार बाडिन्छ्न । आफ्ना छरछिमेकमा रहेकाहरु सङ्ग अरु समयमा सामान्य मनमुटाव परि बोलचाल बन्द भएपनि पर्वमा बाँडीचुँडी खाने एकाआपसमा माया प्रेम देखाउने गर्दछ्न यो हाम्रो परम्पराको, समाजको सुन्दर पक्ष हो ।

पछिल्लो समयमा वल्के सामन्तीहरुको चाडपर्व हो भनेर कहीँकतै कसैले केही बिरोध गरेको देखिन्छ । तर चाडपर्व संस्कार आफैमा गलत हुदैनन् त्यसलाई मनाउनेहरुले त्यसको मर्यादा महत्त्वको गलत व्याख्या गरि गलत संस्कार चलाएका हुन । देशमा लोकतन्त्रसंगै गणतन्त्र आएको छ सबैलाई धार्मिक साँस्कृतिक स्वतन्त्रता छ । कसैलाई यो वल्को दिनु गलत हो , किन ठुलाबडाको दैलोमा गएर वल्को दिने  ? भन्ने लाग्छ भने नदिन सकिन्छ तैले मेरो घरमा आएर वल्को दिनै पर्छ भनेर बाध्य पारेको कतै सुनिएको पाईदैन बरु वल्को लिएर आउनेहरूको बाटो हेरि बस्ने उनिहरुलाई दिन सामाग्री तयार पार्ने गरिन्छ । चाड्पर्व जोगाऔँ , मनाऔँ ! आफू भन्दा पछिल्लो पुस्तालाई आप्ना पर्वको महत्त्वबारे बुझाऔँ ! कसैको स्वाभिमानमा असर पर्ने कसैलाई अपमान हुने कुरा लाई छोडी राम्रा पक्षलाई समात्दै सकारात्मक सोचका साथ पर्व मनाऔँ , वल्केको सबैमा शुभकामना ।

– पुष्पा शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×