
सहज पक्कै थिएन एउटी नारीलाई त्यहाँ पुग्न जहाँ पुगेकी छिन्, त्यो बन्न जो अहिले बनेकी छिन् , त्यो गर्न जो अहिले गरिरहेकी छिन् अनि ती लक्ष्य सँगाल्न जुन सँगालेर राखेकी छिन् ।
जन्मिदै गरिने स्वघोषित वा अघोषित लैंगिक विभेदलाई चिर्नु आफैमा एक कठिन कार्य हो । अझ आजकाल त कतिपय अवस्थाहरुमा नजन्मिदै गरिने विभेदले पो मुटु थरथराउँछ , सशंकित बनाउँछ । यस कठोर मान्यतावीच सामान्य बालकझैँ हुर्कदै , बढ्दै , पढ्दै उनको पनि बाल्यकाल वित्यो होला । यसैवीच कुनै घटनाले अनायासै मस्तिष्कमा गाढेको गहिरो सपना अचेल अँगालिएको छ ।
आफू जान्ने , बुझ्ने भएदेखि देखेको , अनि देख्दै सिकेको अन्तर्बोध तथा सुझाएको आमाको संस्कार , अनि आफ्ना सपनालाई वेवास्ता गरेर अझ भन्नुपर्दा बिर्सिएर परिवारको लागि गरेको बाबाको हरेक संघर्षका गाथाबाट उनले यती धेरै जीवनोपयोगी व्यवहार सिकिन् , जतिको न कुनै परीक्षा , पासांकले मापन गर्छ , न त कुनै सत्रान्त नै , त्यसैले त त्यो ज्ञान , भोगाइ आज पनि ताजै छ उनीसँग र रहनेछ जीवनपर्यन्त ।

पारिवारिक साथ र सहयोग यथेष्ट हुँदाहुँदै पनि नातागोता अनि छरछिमेकको जालझेल , विभेद , ईष्र्या जस्ता द्धेषसंगै हुर्केकी उनी बेलाबेला छरछिमेक , अनि आफन्तको मपाईत्वको व्यवहारबाट अचम्मित अनि आजित पनि भइन् । अनि , त्यहीँबाट कलिलो दिमागमा आफू एकदिन सफल भइछाड्ने र परिवारमा भएको शितयुद्धझैँ थिचोमिचोबाट उम्काउने सोच पलाउँछ अनि त्यहीँ बुनिन थाल्छ , एक महत्वकांक्षी लक्ष्य र योजना ।
जिम्मेवारीको बोझले आफ्ना सपनालाई एक तवरले तिलाञ्जली दिएझैँ गरेर दायित्व पूरा गर्न तम्तयार मात्र होइन अग्रसर बन्छिन् उनी । विभिन्न आवश्यकता दाजुभाई , दिदीबहिनीका आवश्यकता एवम् रुची पहिचान अनि परिपूर्ण गर्न उद्दत उनी परिवारको अभिभावक नै बनेकी छिन् ।
फाल्तु , कुरौटे , रिसडाहवालहरुको लागि फुर्सद नै कहाँ छ र उनीसँग । जसरी आफ्नो लक्ष्यको स्पष्ट खाका बनाइ एउटा मार्गमा अग्रसर यात्रुलाई त्यो मार्गको दायाँबायाँ भएका ढुंगामाटो , रुखवृक्ष आदिले कुनै असर गर्दैनन् । कहिलेकाहीँ थकाइ लाग्दा त्यही मार्गमा एकछिन सुस्ताउन योग्य कुनै बोट्यान भेटे त्यसमै निमेषभरको थकाइ मेट्छिन् उनी , त्यो पनि उचित नठाने यात्रा तय गर्छिन् अर्को वृक्षको समिपमा । एकोहोरो एउटै वृक्षमा अल्झिनु समयको फजुल बर्बादीबाहेक केही होइन भन्ने ज्ञात छ उनलाई ।
जानेको कुरा जान्न चाहनेहरुलाई सिकाइदिने अनि नजानेको कुरा जसबाट पनि सिक्न सकिन्छ , सिक्नु पर्छ भन्ने सिद्धान्त अँगाल्दै उनी न आफूले जानेको कुरा सिक्न इच्छुकलाई सिकाउन पछि पर्छिन् न त आफूले नजानेको कुरा अरुबाट सिक्न नै आनाकानी गर्छिन् ।
पहिले औपचारिक अध्ययनको चरणबद्ध समाप्ती अनि विवाहबन्धन वा अनि मात्र जागिर या अन्य कुनै पेशा भन्ने मानसिकता वा प्रचलनबाट ग्रसित समाजका लागि उनी केही थोरैमध्येकी एक सशक्त अपवाद हुन् । जसले क्याम्पसको औपचारिक अध्ययन सँगसँगै पेशा अँगालिन् । आफ्नो रोजाईको पेशा , जसबाट आर्यआर्जन , खर्चको जोहोलाई प्राथमिकतामा राख्न सकिएला धेरैको नजरबाट , धेरै हदसम्म तर उनका लागि त्यो रुचीको विषय हो , स्वान्त सुखाय भनेझैँ स्वयम्को सन्तुष्टीको एक आधार हो ।
जनता सचेत बनाउने महाअभियानमा जुटेकी उनलाई तीनै जनमानसको वीचमा गएर सेवा गर्न , उनीहरुको स्थिति सुधार्न , वकालत गर्न मन पर्छ । र जब कसैको समस्या निकारणमा आफ्नो सानो मात्र पनि भूमिका रहन्छ , उनको खुसीको मापन अनायासै उकालो लाग्छ ।
मानसिक रुपमा बलियो भए शारीरिक कमजोरीलाई सहजै परास्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेर चकित तुल्याउने उनी परिवार र अन्यका लागि गतिलो उदाहरण समेत हुन् । कैयौँ पटक लागेका ठेस , खेप्नुपरेका टकराव त्यसबाट सिर्जित प्रतिफल , आफ्नो कर्म , लक्ष्य नै धरमराउने अवस्था नआएका होइनन् उनको जीवनको विभिन्न मोडमा , तर आफूमा भरपूर आत्मबल , लक्ष्यमा अडिग भएर अगाडी बढेर छाड्ने हठ जस्ता गुणले दरिलो बन्दै गरेकी उनी बाहिर जति हँसिली देखिन्छिन् भित्र उत्तिकै चट्टानी छिन् । त्यसैले त सर्वनामी छिन् ।
जनमानससँग प्रत्यक्ष आफूलाई सामेल राख्नुपर्ने उनको कार्यक्षेत्र , त्यसैले आफ्नो आवरण , व्यक्तित्वबारे निकै सचेत बन्नुपर्छ भन्ने हेक्का छ उनलाई । कतिले उनलाई नै अनुसरण गर्दै होलान् , त्यसैलाई आफ्नो लक्ष्य बनाउदै , उनको ठाउँमा आफ्नो निकट भविष्य देखेर आफूलाई त्यहाँ भएको कल्पना गर्दै । त्यस्ताहरुलाई वा भनौँ आफ्नै पेशागत मयार्दाका लागि उनी उपचारात्मक बन्छिन् ,औपचारिकताका साथ । मिजासिलो स्वभाव अनि मुहारमा हसिँलो भावका साथ सबैसँग सादुवाद गर्नु स्वधर्म हो । उनका यी र यस्तै सद्गुण नियाल्ने जो कोहीलाई लाग्दो हो , म पनि यस्तै देखिन्छु अब , यस्तै बन्छु अब ।
अनि , उनको घरायसी व्यवहार जनमानसको जति नै बदलिँदो सागरले पनि भेउ पाउँदैन । न त उनका सहपाठी , सहकर्मीले नै अड्कल लाउन सक्छन् । उनको घरपरिवार तथा औँलामा गन्न मिल्ने , मन मिल्नेलाई मात्र उनको पर्दा पछाडीको प्रृकतिको बानी परेको छ । जहाँ अनि जो सँग उनी आफ्नो , नितान्त समय व्यतित गर्छिन्् , निष्फिक्री बाँच्छिन् । अनि, उनको पर्दा पछाडीका ती भाग्यमानि जानकारहरुलाई पनि मनसँग मन मिलाएर मनमा राख्न मन पर्छ ।
एक निर्भिक नारी , अरुले भन्न जति सहज छ बन्न त्यत्ति नै गारो छ किनकी पाइला पाइलामा तुलनात्मक रुपमा बढी तगारो छ । तर , यो सबलाई चिर्दै अग्रणी भुमिकामा रहेर पाएको दायित्व निर्वाह गरिरहेकी छिन् । र उनलाई यो पनि थाह छ , दुख सुख सबै क्षणभंगुर छ , एक निमेशमै दुवैले साथ छोड्छन् । आत्तिनु र मात्तिनु दुवै घातक सिद्ध हुन सक्छन् , निश्चित विन्दुमा , त्यसैले विशाल निल गगनझैँ निर्भिक , निलो सागरझैँ शालिन अनि निलकमलझैँ बुजु्रक छिन् उनी , हो त्यही निलकमल जसले कैयौँ मिटर गहिरो हिलो पानी छिचोलेर माथि फक्रिन्छ तर पनि जरा सदा फेदमै हुन्छ । जसले बुझेको छ , जति नै माथिको उडान भर्न उद्धत भएता पनि आफ्नो धरातल भुल्नु हुँदैन । त्यसैले त त्यो अन्त्यहिन सिमाको परिधि छुट्याउने साहस राख्छिन् उनी ।
समग्रमा उनी एक ओज , तेजले भरिपूर्ण निपुण अनि धेरैको आवाज बोकेको टड्कारो अनि मृदभाषी आवाज हुन् ।
– पुष्प ओझा
अत्तरिया कैलाली









