Skip to main content

धनगढी न्यूज

सशक्त नारीको विम्वगत चित्रण

Advertisement


सहज पक्कै थिएन एउटी नारीलाई त्यहाँ पुग्न जहाँ पुगेकी छिन्, त्यो बन्न जो अहिले बनेकी छिन् , त्यो गर्न जो अहिले गरिरहेकी छिन् अनि ती लक्ष्य सँगाल्न जुन सँगालेर राखेकी छिन् ।

जन्मिदै गरिने स्वघोषित वा अघोषित लैंगिक विभेदलाई चिर्नु आफैमा एक कठिन कार्य हो । अझ आजकाल त कतिपय अवस्थाहरुमा नजन्मिदै गरिने विभेदले पो मुटु थरथराउँछ , सशंकित बनाउँछ । यस कठोर मान्यतावीच सामान्य बालकझैँ हुर्कदै , बढ्दै , पढ्दै उनको पनि बाल्यकाल वित्यो होला । यसैवीच कुनै घटनाले अनायासै मस्तिष्कमा गाढेको गहिरो सपना अचेल अँगालिएको छ ।

आफू जान्ने , बुझ्ने भएदेखि देखेको , अनि देख्दै सिकेको अन्तर्बोध तथा सुझाएको आमाको संस्कार , अनि आफ्ना सपनालाई वेवास्ता गरेर अझ भन्नुपर्दा बिर्सिएर परिवारको लागि गरेको बाबाको हरेक संघर्षका गाथाबाट उनले यती धेरै जीवनोपयोगी व्यवहार सिकिन् , जतिको न कुनै परीक्षा , पासांकले मापन गर्छ , न त कुनै सत्रान्त नै , त्यसैले त त्यो ज्ञान , भोगाइ आज पनि ताजै छ उनीसँग र रहनेछ जीवनपर्यन्त ।


पारिवारिक साथ र सहयोग यथेष्ट हुँदाहुँदै पनि नातागोता अनि छरछिमेकको जालझेल , विभेद , ईष्र्या जस्ता द्धेषसंगै हुर्केकी उनी बेलाबेला छरछिमेक , अनि आफन्तको मपाईत्वको व्यवहारबाट अचम्मित अनि आजित पनि भइन् । अनि , त्यहीँबाट कलिलो दिमागमा आफू एकदिन सफल भइछाड्ने र परिवारमा भएको शितयुद्धझैँ थिचोमिचोबाट उम्काउने सोच पलाउँछ अनि त्यहीँ बुनिन थाल्छ , एक महत्वकांक्षी लक्ष्य र योजना ।

जिम्मेवारीको बोझले आफ्ना सपनालाई एक तवरले तिलाञ्जली दिएझैँ गरेर दायित्व पूरा गर्न तम्तयार मात्र होइन अग्रसर बन्छिन् उनी । विभिन्न आवश्यकता दाजुभाई , दिदीबहिनीका आवश्यकता एवम् रुची पहिचान अनि परिपूर्ण गर्न उद्दत उनी परिवारको अभिभावक नै बनेकी छिन् ।

फाल्तु , कुरौटे , रिसडाहवालहरुको लागि फुर्सद नै कहाँ छ र उनीसँग । जसरी आफ्नो लक्ष्यको स्पष्ट खाका बनाइ एउटा मार्गमा अग्रसर यात्रुलाई त्यो मार्गको दायाँबायाँ भएका ढुंगामाटो , रुखवृक्ष आदिले कुनै असर गर्दैनन् । कहिलेकाहीँ थकाइ लाग्दा त्यही मार्गमा एकछिन सुस्ताउन योग्य कुनै बोट्यान भेटे त्यसमै निमेषभरको थकाइ मेट्छिन् उनी , त्यो पनि उचित नठाने यात्रा तय गर्छिन् अर्को वृक्षको समिपमा । एकोहोरो एउटै वृक्षमा अल्झिनु समयको फजुल बर्बादीबाहेक केही होइन भन्ने ज्ञात छ उनलाई ।

जानेको कुरा जान्न चाहनेहरुलाई सिकाइदिने अनि नजानेको कुरा जसबाट पनि सिक्न सकिन्छ , सिक्नु पर्छ भन्ने सिद्धान्त अँगाल्दै उनी न आफूले जानेको कुरा सिक्न इच्छुकलाई सिकाउन पछि पर्छिन् न त आफूले नजानेको कुरा अरुबाट सिक्न नै आनाकानी गर्छिन् ।

पहिले औपचारिक अध्ययनको चरणबद्ध समाप्ती अनि विवाहबन्धन वा अनि मात्र जागिर या अन्य कुनै पेशा भन्ने मानसिकता वा प्रचलनबाट ग्रसित समाजका लागि उनी केही थोरैमध्येकी एक सशक्त अपवाद हुन् । जसले क्याम्पसको औपचारिक अध्ययन सँगसँगै पेशा अँगालिन् । आफ्नो रोजाईको पेशा , जसबाट आर्यआर्जन , खर्चको जोहोलाई प्राथमिकतामा राख्न सकिएला धेरैको नजरबाट , धेरै हदसम्म तर उनका लागि त्यो रुचीको विषय हो , स्वान्त सुखाय भनेझैँ स्वयम्को सन्तुष्टीको एक आधार हो ।

जनता सचेत बनाउने महाअभियानमा जुटेकी उनलाई तीनै जनमानसको वीचमा गएर सेवा गर्न , उनीहरुको स्थिति सुधार्न , वकालत गर्न मन पर्छ । र जब कसैको समस्या निकारणमा आफ्नो सानो मात्र पनि भूमिका रहन्छ , उनको खुसीको मापन अनायासै उकालो लाग्छ ।

मानसिक रुपमा बलियो भए शारीरिक कमजोरीलाई सहजै परास्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेर चकित तुल्याउने उनी परिवार र अन्यका लागि गतिलो उदाहरण समेत हुन् । कैयौँ पटक लागेका ठेस , खेप्नुपरेका टकराव त्यसबाट सिर्जित प्रतिफल , आफ्नो कर्म , लक्ष्य नै धरमराउने अवस्था नआएका होइनन् उनको जीवनको विभिन्न मोडमा , तर आफूमा भरपूर आत्मबल , लक्ष्यमा अडिग भएर अगाडी बढेर छाड्ने हठ जस्ता गुणले दरिलो बन्दै गरेकी उनी बाहिर जति हँसिली देखिन्छिन् भित्र उत्तिकै चट्टानी छिन् । त्यसैले त सर्वनामी छिन् ।

जनमानससँग प्रत्यक्ष आफूलाई सामेल राख्नुपर्ने उनको कार्यक्षेत्र , त्यसैले आफ्नो आवरण , व्यक्तित्वबारे निकै सचेत बन्नुपर्छ भन्ने हेक्का छ उनलाई । कतिले उनलाई नै अनुसरण गर्दै होलान् , त्यसैलाई आफ्नो लक्ष्य बनाउदै , उनको ठाउँमा आफ्नो निकट भविष्य देखेर आफूलाई त्यहाँ भएको कल्पना गर्दै । त्यस्ताहरुलाई वा भनौँ आफ्नै पेशागत मयार्दाका लागि उनी उपचारात्मक बन्छिन् ,औपचारिकताका साथ । मिजासिलो स्वभाव अनि मुहारमा हसिँलो भावका साथ सबैसँग सादुवाद गर्नु स्वधर्म हो । उनका यी र यस्तै सद्गुण नियाल्ने जो कोहीलाई लाग्दो हो , म पनि यस्तै देखिन्छु अब , यस्तै बन्छु अब ।

अनि , उनको घरायसी व्यवहार जनमानसको जति नै बदलिँदो सागरले पनि भेउ पाउँदैन । न त उनका सहपाठी , सहकर्मीले नै अड्कल लाउन सक्छन् । उनको घरपरिवार तथा औँलामा गन्न मिल्ने , मन मिल्नेलाई मात्र उनको पर्दा पछाडीको प्रृकतिको बानी परेको छ । जहाँ अनि जो सँग उनी आफ्नो , नितान्त समय व्यतित गर्छिन्् , निष्फिक्री बाँच्छिन् । अनि, उनको पर्दा पछाडीका ती भाग्यमानि जानकारहरुलाई पनि मनसँग मन मिलाएर मनमा राख्न मन पर्छ ।

एक निर्भिक नारी , अरुले भन्न जति सहज छ बन्न त्यत्ति नै गारो छ किनकी पाइला पाइलामा तुलनात्मक रुपमा बढी तगारो छ । तर , यो सबलाई चिर्दै अग्रणी भुमिकामा रहेर पाएको दायित्व निर्वाह गरिरहेकी छिन् । र उनलाई यो पनि थाह छ , दुख सुख सबै क्षणभंगुर छ , एक निमेशमै दुवैले साथ छोड्छन् । आत्तिनु र मात्तिनु दुवै घातक सिद्ध हुन सक्छन् , निश्चित विन्दुमा , त्यसैले विशाल निल गगनझैँ निर्भिक , निलो सागरझैँ शालिन अनि निलकमलझैँ बुजु्रक छिन् उनी , हो त्यही निलकमल जसले कैयौँ मिटर गहिरो हिलो पानी छिचोलेर माथि फक्रिन्छ तर पनि जरा सदा फेदमै हुन्छ । जसले बुझेको छ , जति नै माथिको उडान भर्न उद्धत भएता पनि आफ्नो धरातल भुल्नु हुँदैन । त्यसैले त त्यो अन्त्यहिन सिमाको परिधि छुट्याउने साहस राख्छिन् उनी ।

समग्रमा उनी एक ओज , तेजले भरिपूर्ण निपुण अनि धेरैको आवाज बोकेको टड्कारो अनि मृदभाषी आवाज हुन् ।

– पुष्प ओझा
अत्तरिया कैलाली

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...