धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पसको उप प्रमुख पदमा क्याम्पसमा लामो समयदेखि कार्यरत उप प्राध्यापक रघुनाथ जोशी नियुक्त भएका छन् । विगत ३ वर्षदेखि उप प्रमुख विहिन रहेको क्याम्पसले आजबाट उप प्रमुख पाएको हो ।
आज क्याम्पसको सभाहलमा सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आयोजित एक कार्यक्रममा सो नियुक्ति प्रदान गरिएको हो । कार्यक्रममा बधाई मन्तव्य प्रदान गर्दै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले सबैले रुचाएका , विगतमा समेत जिम्मेवारी कुशलतापूर्वक निभाएको व्यक्तिलाई सही समयमा क्याम्पस उप प्रमुखमा नियुक्ति गरिएको र निजको नियुक्तिसँगै क्याम्पसले नयाँ उचाइ प्रदान गर्ने कुरामा आफू लगायत क्याम्पस व्यवस्थापन आशावादी रहेको बताउनु भयो ।
कार्यक्रममा बधाई मन्तव्य प्रदान गर्दै पूर्व क्याम्पस प्रमुख बुधराम चौधरीले पनि शिक्षक , कर्मचारी , विद्यार्थी सबैका प्रिय व्यक्तिले क्याम्पसमा आफ्नो अनुभव तथा कौशलले दक्षता प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख योगराज उपाध्यायले आफूले एउटा मिजासिलो , कर्ममा विश्वास गर्ने सहकर्मी पाएको र यसले सिंगो क्याम्पसको उन्नयनमा टेवा पुग्ने बताउनु भयो । क्याम्पसले नव नियुक्त उप प्रमुख जोशीलाई कार्यक्रम प्रमुखको समेत जिम्मेवारी प्रदान गरेको छ ।