धनगढी: जेनजी युवाको प्रदर्शनका क्रममा तोडफोड र आगजनीपछि अवरुद्ध बनेका कैलालीका विभिन्न सरकारी कार्यालयले आफ्नो सेवा प्रवाह पुनःसञ्चालन गरेका छन्। 

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले यहाँका सरकारी निकायमा भएको भौतिक क्षतिको यकीन विवरण तयार पार्न सहरी आवास तथा भवन कार्यालयमार्फत काम अघि बढाइएको जानकारी दिए। जिल्ला सदरमुकाम धनगढीमा रहेका यातायात, भन्सार, कोष तथा लेखा नियन्त्रकलगायत विभिन्न पालिका कार्यालयले आंशिक रूपमा सेवा सुरु गरिरहेका छन्। भूमिसुधार तथा मालपोत कार्यालयले भवनमा सरसफाइ, विद्युत् र इन्टरनेट जडान, जिन्सी समानको व्यवस्थापनलगायत काम गरिरहेकाले शीघ्र नियमित रूपमा सेवा दिन सुरु गरिने जनाएको छ।
कार्यालय प्रमुख एवं मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले केही दिनभित्रै सेवा सुरु गर्नेगरी तयारी भइरहेको जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालय शीघ्र सेवा प्रवाह गर्न जुटेका छन्। मन्त्रालय तथा कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध हुँदा जनताले झेल्दै आएका सास्तीलाई मध्यनजर गरी शीघ्र काम सुरु गर्न सरकारले पहल थालेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले आज क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्नुका साथै तत्काल कार्यालय सञ्चालन गरी जनतालाई सबनाउने विषयमा कर्मचारी र विकास साझेदारसँग छलफल गरे। आगजनीले क्षतिग्रस्त बनेको प्रदेशसभा सचिवालयले भने आंशिक रूपमा काम सुरु गरिसकेको छ। प्रदर्शनका क्रममा कैलालीका सरकारी र निजी गरी एक सय ३७ कार्यालय, भवन र घरमा आगजनी तथा तोडफोड हुँदा अधिकांश संरचना पूर्ण रूपमा क्षति भएका छन् भने छ सय ६४ सवारीसाधन जलेर नष्ट भएका थिए। दिनेश खबर बाट साभार






