धनगढी न्यूज

बदलिएको कांग्रेस अब आफ्नै धरातलमा उभिन्छ : गुरुराज घिमिरे

मोरङ : संघीय निर्वाचनको माहोल तातेको यो समयमा मतदाताको मनोभाव उम्मेदवारले र उम्मेदवारका एजेण्डा र दृष्टिकोण मतदाताले बुझ्ने प्रयास गरिरहेका छन्।

उम्मेदवारको घरदैलो चलिरहेको छ। मतदाता उम्मेदवारलाई मूल्यांकन गरिरहेका छन्। यसै सन्दर्भमा मोरङ जिल्ला अन्तर्गतको निर्वाचन क्षेत्र नम्बर ४ मा का उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग निर्वाचनका मुद्दा, स्थानीय अपेक्षा र पार्टीको समग्र राजनीतिक दृष्टिबारे थाहाखबरका लागि डाकमान राई र राजु पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँ उम्मेदवार मात्रै होइन्, पार्टीको प्रमुख जिम्मेवार पदमा (महामन्त्री) पनि हुनुहुन्छ। त्यसकारण विशेष महाधिवेशनअघि र विशेष महाधिवेशन पछिको कांग्रेसमा के फरक छ?

भदौ २३/२४ को अघिको नेपाल र पछिको नेपाल भनेर युग विभाजन भएको स्थिति छ। त्यस्तै स्थिति नेपाली कांग्रेसमा पनि छ।  पुरानो नेतृत्व हुँदाखेरिको नेपाली कांग्रेस र नेतृत्व परिवर्तन भएपछिको नेपाली कांग्रेस भन्ने स्थिति अहिले छ।

मूलत नेपाली कांग्रेस पार्टीले आफ्नो स्थापनाको ८० वर्षको इतिहासमा विभिन्न कालखण्डका राजनीतिक परिवर्तनहरूमा निकै संघर्षपूर्ण यात्रा तय गर्‍यो। नेपाली जनतालाई अधिकार सम्पन्न बनाएर नेपालको विकासलाई अगाडि बढाउने र जनताको जीवनलाई सहज र सुखद बनाउन एउटा माध्यम बन्यो।

राजनीति भनेको यान्त्रिक रूपमा आवधिक निर्वाचन, सरकारको गठन र विघटन मात्रै होइन, यो केवल प्राविधिक कुरा हो, सैद्धान्तिक कुरा हो। यसको मूल उद्देश्य के हो भने जनताको जीवनलाई सहज र सुखद बनाउने, आफ्नो देशको प्रतिष्ठालाई चाहिँ उचाइमा लैजाने हो। त्यसका लागि आर्थिक प्रगति चाहिन्छ।

नागरिकलाई सम्मानित नागरिक बनाउनका निम्ति चाहिँ नै आर्थिक रूपबाट आत्मनिर्भर र सक्षम नागरिक बनाउन सक्नुपर्छ। त्यसैका लागि राजनीतिले काम गर्ने हो। हामीले परिवर्तन हुनुभन्दा अघिको नेपाली कांग्रेस र नेतृत्व परिवर्तन भएपछिको नेपाली कांग्रेसलाई फरक तरिकाले अगाडि बढाउन खोजेका छौँ।

पार्टीभित्र नीति र विधिको कुरा उठाउने मध्येमा तपाईं अग्रपंक्तिमै पर्नुहुन्छ। विशेष महाधिवेशनमार्फत एक हिसाबले विजय हासिल गरी पनि सक्नुभयो। तर विधि र नीतिको कुरा हिजो तपाईँले जसरी उठाउनुभयो, नेतृत्व लिइसकेपछि पनि टिकट वितरणमा चाहिँ पारदर्शिता सुनिश्चित किन भएन?

होइन, पार्टीको  नेतृत्व परिवर्तन भएपछि हामीले जे जति पार्टीका मातहतका निकायहरूबाट सिफारिसहरू आएका थिए, ती सिफारिसमा परेका व्यक्तिहरूमध्येबाटै उम्मेदवारीको विषयमा निर्णय गरेका हौँ। हामीले चाहिँ केन्द्रीय समितिको जुन वैधानिक प्रबन्ध छ, संसदीय बोर्ड, संसदीय समिति जसले उम्मेदवार छान्छ, त्यसमा व्यापक छलफल गरेर हामीले निर्णयहरू गर्यौँ।

विशेष महाधिवेशनमा आउन नसक्नुभएका नेता र साथीहरूसँग पनि सल्लाह गर्यौँ। त्यसको नतिजा पनि सबैले देखिसक्या छन्। सबैलाई समेटेर स्थानीय स्तरबाट आएको सिफारिसहरूलाई मध्य नजर राखेर नै हामीले काम गरेका छौँ।

त्यसैले अहिले टिकट वितरणलाई पारदर्शी बनाउनुपर्छ। सहभागितामूलक बनाउनुपर्छ। पार्टीका मातहतका निकायबाट आएका सिफारिसहरूलाई आधार बनाउनुपर्छ र त्यसपछि अरू केही ‘सर्टेन’ साथीहरू रहेको कार्यदलले पनि सम्बन्धित निर्वाचन क्षेत्रको अध्ययन गरेर त्यसलाई आधार बनाएर जिम्मेवारी दियौँ।

अब काम गर्दाखेरि केही ठाउँमा काहीँ तलमाथि भएको भए बेग्लै कुरा हो, त्यो समयक्रममा त्यसको समीक्षा हुन्छ, नत्र हामीले अधिकतम राम्रो गर्ने कोशिस गरेका छौँ।

एक त गुटगत राजनीतिले कांग्रेसलाई अगाडिदेखि नै प्रभावित पारेको छ। पछिल्लो विशेष महाधिवेशनपछि, टिकट वितरणमा पनि पारदर्शिता भएन भन्ने गुनासोका बीचमा तपाईँ एक्लै निर्वाचनमा होमिनुभएको छ। नतिजा कस्तो अपेक्षा गर्नुभएको छ?

राष्ट्रिय संकट अथवा लोकतन्त्रमाथिको संकट आउँदाखेरि हामीले सहकार्य गरेकै हौँ। हामीले राजनीतिक परिवर्तनका लागि पनि संयुक्त प्रयास गरेकै हौँ। संयुक्त आन्दोलन हामीले गरेकै हौँ। यद्यपि हामीले अहिले राष्ट्रिय संकट छ भन्न सक्छौँ। तर यो कहिलेसम्म त? यसलाई त अब हामीले त इतिहासको विषय त बनाउनु पऱ्यो नि!

संकटबाट मुलुकलाई मुक्त गर्नुपऱ्यो। जनताको मनमा सधैँभरि त्रास कायम राखेर अगाडि बढ्नु त्यति धेरै जिम्मेवारीपूर्ण काम होइन।त्यसकारण अब चाहिँ हामी आफ्नै धरातलमा उभिएर अगाडि बढ्नु पर्छ भन्ने दृष्टिकोण राख्दै आएका हौँ।

२०७९ को निर्वाचनमा पनि हामीले राख्या हौँ। महासमितिको बैठकमा पनि हामीले निर्णय गरेका हौँ। अब उपरान्त हामी कुनै गठबन्धन नगर्ने भनेर पार्टीको उच्च निकायले पास गर्‍यो। त्यसपछि विशेष महाधिवेशनले पास गर्‍यो। भनेपछि चाहिँ नीति एकातिर पास गर्ने, काम अर्कातिर गर्ने कुरा युक्तिसंगत हुँदैन थियो।

अर्को कुरा सत्तालाई सर्वोपरि राखेर चुनाव जित्नका लागि गठबन्धन गरेपछि धेरै सम्झौता गर्नुपर्छ, धेरै ‘कम्प्रमाइज’ गर्नुपर्छ। सत्तामा जाँदा पनि प्राकृतिक रूपबाट जानुपऱ्यो नि। पहिलो पार्टी भएर अरूको मातहतमा जाने, सत्तालाई नै मुख्य उद्देश्य बनाउने कुरा त ठीक भएन नि।

पार्टीको मूल उद्देश्य त अघि नै मैले भनेँ नि, देशको भौतिक विकास गर्ने, देशको सुरक्षा गर्ने, जनताको जीवनलाई सहज र सुखद बनाउने, जनताका आवश्यकताहरूलाई सम्बोधन गर्ने, देशको सम्पूर्ण भूगोललाई विकासको प्रक्रियामा सामेल गर्ने र सबै समुदायको भावनाअनुसार देशलाई अगाडि बढाउने काम हो नि त राजनीति। त्यसो भएको हुनाले हामी यो सबै कुरालाई एकसाथ अगाडि बढाउन चाहन्छौँ र राजनीति के हो भन्ने कुरा स्थापित गर्न चाहन्छौँ।

भन्नुको मतलब, तपाईँहरूको निराशाजनक परिणाम आयो भने पनि त्यसलाई सहज रूपमा स्वीकार गरेर अघि बढ्नुहुन्छ?

निराशाजनक परिणाम त आउँदै आउँदैन। किनभने अहिले हामीमाथि जुन उभार देखिरहेका छौँ, यो उभारले नै प्रमाणित के गर्छ भने हामी चाहिँ धेरै राम्रो परिणाम हासिल गर्दैछौँ।

जनताको विश्वास टुटेको छैन। हाम्रो चाहिँ विगतमा बाटोमा अलमल भयो। हाम्रो कार्यशैली पनि चित्त नबुझ्दो भयो।अब विगतमा दलका नेताहरूको चाहिँ नै सत्ताको आकांक्षा मात्र राखे। सरकारमा जाने कुरालाई नै मुख्य प्राथमिकतामा राख्ने जुन प्रवृत्ति देखियो, त्यसले जनतामा निराशा छायो।

अब पार्टीमा नयाँ पुस्ता आएको छ। पुस्तान्तरण सहितको नेतृत्व हस्तान्तरण भएको छ, परिवर्तन भएको छ र यो चाहिँ सुरुवात मात्रै हो। त्यसैले नयाँ पुस्ता पनि उत्साहित छ।

अहिले भोट माग्न जाँदा, मत माग्न जाँदाखेरि नयाँ पुस्ता हामीसँगै हिँडेको छ। अर्को कुरा चाहिँ जेनजी विद्रोहमा लाग्नुभएका साथीहरूले पनि सार्वजनिक अभिव्यक्ति दिनुभएको छ कि, यो बदलिएको कांग्रेस चाहिँ वास्तवमा हामीलाई सम्बोधन गर्छ। नेपाली समाजलाई सम्बोधन गर्छ। हाम्रो पछाडि सीमान्तिकृत समुदाय, मधेशी, दलित, आदिवासी, जनजाति, जनजातिहरूको पनि उपस्थिति छ। त्यसैले निराशाजनक स्थिति हुँदैन।

गएको निर्वाचनमा पहिलो दल भनेको कांग्रेस पहिलो दल कायम रहला, विश्लेषण के छ?

पहिलो दल हुने कुरामा त दुईमत नै छैन । हामी त बहुमत ल्याउने कोशिसमा छौँ। हाम्रो सङ्गठनात्मक आधार पनि छ। इतिहास पनि छ। हिजो गरेको त्याग पनि छ।

केही कमी कमजोरी पनि होलान् त्यसलाई  हटाएर अगाडि बढ्ने संकल्प गरिसक्या छौँ। त्यसैले हामीले घोषणापत्र भनेनौँ, हामीले प्रतिज्ञापत्र भन्यौँ। प्रतिज्ञा गरेपछि पूरा गर्नुपर्छ। घोषणा त घोषणा गर्दिए भइहाल्यो।

विगतमा के प्रवृत्ति देखियो भने घोषणापत्र तयार गर्ने, घोषणा गर्दिने, छोड्दिने। त्यहाँ कमिटमेन्ट देखिएन। भनेपछि अब प्रतिज्ञापत्र भन्या त कि हामीले बोलेअनुसार गर्नुपऱ्यो नभए छोड्नुपऱ्यो।  हामीले राम्रो गर्न सकेनौँ भने छोड्नुपऱ्यो। हामी बाटो छेकेर बस्दैनौँ। हामी राम्रो काम गर्छौँ। मुलुकलाई एउटा बाटोमा अगाडि बढ्नका लागि भूमिका निर्वाह गर्छौँ।

अब तपाईँकै निर्वाचन क्षेत्र मोरङ- ४ तिर आउँ, यो निर्वाचन क्षेत्र कुनै बेला नेपाली कांग्रेसकै किल्लाका रूपमा मानिन्थ्यो। तर पछिल्लो निर्वाचनहरूलाई हेर्ने हो भने कम्युनिस्टको पकडमा गएको जस्तो देखिन्छ। निरन्तर जित्दै आएका अमनलाल मोदीलाई नेकपाबाट यहाँको बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ। आफ्नो जीतका लागि कतिको आशावादी हुनुहुन्छ? 

म त एकदमै आशावादी मात्रै होइन, विश्वस्त छु। किनभने प्रतिनीधिसभामा पहिलो पटक म प्रतिस्पर्धा गर्दैछु। मैले जीवनलाई राजनीतिक सङ्घर्षमा नै समर्पण गरिसकेको छु। चार दशकको मेरो राजनीति यात्राबाट मैले आफूलाई देश र समाजका लागि केही गर्न सक्ने व्यक्ति रूपमा प्रमाणित गरिसकेको छु। त्यसलाई जनताले नजिकबाट हेरिरहनुभएको छ। अढाइ दशकदेखिका निर्वाचनमा थोरबहुत म यहाँ सक्रिय भएर काम गरेको छु। मेरो परिचित क्षेत्र हो यो।

अगाडिका नेताहरू जसले जितेर जानुभो, उहाँहरूकै कारणले विकासको जग पनि बस्याछ। अब यसलाई अगाडि बढाउन बाँकी छ। सबै समुदायका नेताहरूसँग, साथीहरूसँग म चिरपरिचित छु। राष्ट्रिय रूपमा पनि मैले गरेको काम र मैले निर्वाह गरेको भूमिकालाई यस क्षेत्रका नागरिकले हेर्नुभएको छ। अब मेरा प्रतिस्पर्धी, मुख्य प्रतिस्पर्धी, सहायक प्रतिस्पर्धी भन्ने छैनन्।

यहाँ सबै प्रतिस्पर्धीलाई मैले समान दृष्टिबाट हेर्छु। पुराना हुन् या नयाँ हुन्, राजनीतिमा सबैले प्रतिस्पर्धा गर्न पाउनु पर्छ, जनताको मन जित्न पाउनु पर्छ र जनताले स्वतःस्फूर्त मतदान गर्न पनि पाउनु पर्छ। करकाप, डर, धाक र प्रलोभन आदि गैरराजनीतिक तत्त्वले मतदान प्रभावित हुनुहुँदैन। मलाई यहाँका मतदाताले विश्वास गर्नुहुन्छ, काम गर्ने अवसर दिनुहुन्छ। कामको जिम्मा म सबै लिन्छु।

संसदमा गएर संसदका गतिविधिलाई अवलोकन गरेर पछाडि बसेर सुन्ने मात्रै म विधायक बन्दिनँ। म सांसद बन्दिनँ। संसदमा मेरो प्रभावकारी भूमिका हुन्छ। पार्टीमा पनि मेरो प्रभावकारी हुन्छ। देशबासीले सुन्ने गरी, देख्ने गरी र संसारले पनि थाहा पाउने गरी भूमिका निर्वाह गर्छु। मलाई विश्वास गरेर समर्थन गर्नुहुन्छ र म जित्छु भन्ने कुरामा विश्वस्त छु।

तपाईँहरू अहिले घरदैलोमा हुनुहुन्छ। तपाईँहरूकै शब्द सापट लिएर भनौँ, ‘बदलिएको कांग्रेस’बाट जनताले के अपेक्षा गरेका रहेछन्?

विगतका कमी कमजोरीहरू नदोरिऊन्। अब त्यतातिर फर्किएर केही हुँदैन। अबका दिनमा चाहिँ जनताका समस्याहरूलाई तीन तहको सरकारबाट समाधान गरियोस भन्ने उहाँहरू चाहनुहुन्छ। तीन तहका सरकारहरू बीचमा समन्वय गरेर  सबै क्षेत्रको विकास र प्रगतिलाई अगाडि बढाउने कुरा  हामीबाट उहाँ अपेक्षा गर्नुहुन्छ।

विगतमा राजनीतिक द्वन्द्वमा धेरै हामी अल्मलियौँ। पार्टी भित्रको आन्तरिक द्वन्द्वमा हामी अल्मलियौँ। जनता  अब  त्यस्तो चाहँदैनन्। थाहाखबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×