धनगढी न्यूज

गलत नम्बरमा फोन जाँदा विवाद, आवेशमा दाजुभाइको हत्या

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ। झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको हत्या भएको हो।

उनीहरू सहोदर दाजुभाइ हुन्। इमाडोलमा पनि उनीहरूको घर छ। पाटन दरबार स्क्वायर क्षेत्रमा घुम्न जाँदा त्यसअघि कहिल्यै नभेटेका युवकले उनीहरूलाई छुरा प्रहार गरेका हुन्।

गलत नम्बरमा फोन जाँदा विवाद बढेपछि छुरा प्रहार गरेर उनीहरूको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

चैत २५ मा मध्याह्न १२ बजेतिर नेम्बाङ दाजुभाइ र अरू दुई जना पाटन र मङ्गलबजार क्षेत्रमा घुम्न गए। सँगै जानेमा काका नाता पर्ने एक जना थिए।

घुम्ने क्रममा दाजु सुमितले एक जना साथीलाई फोन गर्छन्। साथीलाई फोन गर्दा गलत नम्बर डायल भएर सञ्जीव नेपाली ‘सञ्जु’ को नम्बरमा फोन जान्छ।

सञ्जीव ललितपुर महानगरपालिका–९ स्थित भोलढोकामा बस्छन्। नचिनेको मान्छेले फोन गरेपछि सञ्जीवले निहुँ खोज्छन्। दुई जनाको बिचमा विवाद सुरु हुन्छ। त्यसपछि पटक–पटक उनीहरूको बिचमा विवाद भएपछि एकअर्कालाई गाली गर्न थाल्छन्।

साँझ ७ बजेपछि सञ्जीवले फोन गरेर सुमितलाई सोध्छन्, ‘तँ कहाँ छस् ?’

सुमितले जवाफ दिए, ‘मङ्गलबजारमा छु।’

सञ्जीव स्कुटर लिएर मङ्गलबजारतर्फ आउँछन्। सञ्जीवले स्कुटरमा नवलपरासी घर भएका २१ वर्षीय गगन सुनारलाई लिएर आए। सुनार ललितपुर–८ स्थित सुबहालमा बस्छन्। कृष्ण मन्दिर परिसरमा उनीहरूको बिचमा भेट भयो। फोनमा भएका कुराबारे पुनः विवाद गर्न थाले।

मन्दिरको सिँढीमा बसेर विवाद मिलाउने भन्दै उनीहरू कृष्ण मन्दिर परिसरको सिँढीमा उक्लिन्छन्। छलफलको क्रममा फेरि भनाभन हुन्छ। विवाद बढ्दै गएपछि सञ्जीवले आफूसँग भएको मासु काट्ने छुरा निकाल्छन्।

सञ्जीवले छुरा निकालेपछि सुमितले उनको हात समातेर मुखमा पन्च हान्छन्। झगडा गर्दै उनीहरू दुई सिँढी तल झर्छन्।

तल ओर्लिने क्रममा सञ्जीवले सुमितको पेटमा छुरा प्रहार गरेका थिए । दाइलाई छुरा हानेपछि भाइ सृजनले बचाउने प्रयास गरे।

तर, सृजनको पनि घाँटी र पेटमा उनले छुरा प्रहार गरेका थिए । त्यसपछि दाजुभाइ नै घाइते भएर कृष्ण मन्दिर परिसरमा ढले।

सँगै घुम्न गएकाहरूले प्रहरीलाई खबर गरे। घटना भएको सूचना पाएको ३ मिनेटभित्र प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए।

हत्यामा संलग्न सञ्जीव भोलढोकामा मासु पसलमा काम गर्थे। भागेर रेस्टुरेन्टभित्र छिर्न खोजेको अवस्थामा एक जना प्रहरी जवानले उनलाई नियन्त्रणमा लिएका हुन्। नेम्बाङ दाजुभाइलाई प्रहरीले उपचारका लागि बी एन्ड बी अस्पताल पठाएको थियो। अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको हो।

७ बजेर ४० मिनेटमा सो घटना भएको र तत्काल घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरिएको एसएसपी बोगटीले बताए। उनले भने, ‘आवेश र उत्तेजनाका कारण यो घटना भएको देखिन्छ।’

सुमित लन्डन जाने तयारीमा थिए। तर, गलत नम्बर डायल गरेर अनावश्यक विवादमा पर्दा उनको लन्डन यात्रामा सधैँका लागि पूर्णविराम लागेको छ।रातोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×