धनगढी न्यूज

सुन्तला पकेट क्षेत्र चुरेमा उत्पादनमा तीव्र गिरावट, किसानहरु चिनितत

चुरेः सुन्तला उत्पादनका लागि परिचित चुरे गाउँपालिकामा यो वर्ष उत्पादन उल्लेखनीय रूपमा घटेको छ। गत वर्षभरि राम्रो आम्दानी गरेका किसानहरू यस वर्ष सोचेअनुसार फल नलागेपछि निराश बनेका छन्। आधाभन्दा धेरै उत्पादन घटेपछि उनीहरूले ठूलो घाटा भोग्नुपरेको छ।

सुन्तला पकेट क्षेत्रका रूपमा रहेका चुरे–२ का कड्किरी, सुवाखान र बसन्तपुरमा बोट सुक्ने, असिना लाग्ने र फल पाक्दा औँसा किराको असरले उत्पादनमा गिरावट आएको किसानहरूको भनाइ छ।

फुल फुल्ने समयमा परेको असिनाले बगैचामा ठूलो क्षति पुर्याएको कड्किरीका किसान हुकुम बोहोराले बताए। उनका अनुसार, यो वर्ष बोटमा पहिले जस्तो फुल लागेन। फल लागेकामध्ये धेरै असिना र रोगका कारण झरे। “गत वर्ष २८ क्विन्टल उत्पादन भएको थियो, तर यस वर्ष ९ क्विन्टल मात्र आयो,” उनले भने।

सुवाखानका किसान नरबहादुर साउदले अनियमित वर्षा र गर्मी–जाडोको उतारचढावले बगैचा प्रभावित भएको बताए।  बसन्तपुरका प्रेम साउदले पनि रोग–कीराको प्रकोप बढेकै कारण फलन घटेको बताए। “पहेंलोपाना, फुल झर्ने र किरा लाग्ने समस्या बढी भयो। खर्च बढ्यो, उत्पादन घट्यो।” उनले भने।

उत्पादन घटेपछि सुन्तला खेतीमा निर्भर किसानहरूको आम्दानीमा प्रत्यक्ष असर परेको छ। मौसम परिवर्तनको निरन्तरता, मल–औषधिको अभाव र रोग–कीराको समस्या यथावत रहे आगामी वर्षहरुमा पनि उत्पादन घट्न सक्ने भन्दै किसानहरू चिन्तित बनेका छन्।  दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×