धनगढी न्यूज

अब बन्ने ‘शक्तिशाली’ सरकारमाथि ‘चुनौतीका चाङ’

काठमाडौँ : पछिल्लो संविधान जारी भएको एक दशकपछि देशमा पहिलोपटक धारा ७६ (१) अन्तर्गत एकल बहुमतको सरकार बन्दै छ।

ऐतिहासिक जेनजी आन्दोलनको जगमा भएको प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब सत्ताको बागडोर सम्हाल्नेछ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ। उक्त दलका शीर्ष नेताहरूको पछिल्लो छलफलअनुसार उनले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने तयारी अघि बढेको छ।

बालेन नेतृत्वमा बन्न लागेको ‘शक्तिशाली सरकार’सँग जनअपेक्षा अत्यन्तै उच्च छ। पुराना र स्थापित भनिएका दलहरूले पालैपालो अवसर पाउँदा पनि अपेक्षित परिणाम दिन नसकेपछि यसपटक रास्वपालाई अभूतपूर्व मत दिएका मतदाताले उच्च अपेक्षा राख्नु अस्वाभाविक पनि होइन।

रास्वपाका लागि उच्च जनअपेक्षाअनुसार काम गर्न अनेकन् राजनीतिक, संवैधानिक, प्रशासनिक तथा आर्थिक चुनौती रहेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्। छोटो समयमै ठोस परिणाम दिन नसके यही अपेक्षा असन्तुष्टिमा परिणत हुने जोखिम पनि उत्तिकै रहेको उनीहरू बताउँछन्।

राजनीतिक विश्लेषकका नजरमा यी हुन् चुनौती 
विगतमा कुनै एउटा दलको मात्र बहुमत नआउँदा ‘संख्याको खेल’ मौलाउने गर्थ्यो। कसैलाई रिझाउनुपर्ने, त्यसो हुँदा साना हैसियतका दलहरूको ‘बार्गेनिङ पावर’ बढ्ने र त्यहीँबाट अस्थिरताको वीजारोपण हुन्थ्यो। पाँच वर्षमा प्रधानमन्त्रीसँगै मन्त्रीहरूको ‘इन र आउट’ चलिरहन्थ्यो।
तर यसपटक अंकगणितीय हिसाबकिताबको झन्झट छैन। रास्वपा एक्ललैले झन्डै दुई तिहाइ ल्याएर सरकार गठन गर्दै छ। सिधा रूपमा हेर्दा योपटक पाँच वर्षका लागि स्थायी सरकार बन्ने देखिन्छ। रास्वपा स्वयंले पनि चुनावी प्रचारमा यही आश्वासन बाँडेको थियो।

अंकगणितको खेलबाट मुक्त रहे पनि आगामी सरकारसामु मुख्य रूपमा चार चुनौती औल्याउँछन् राजनीतिक विश्लेषक डम्बर खतिवडा। उनी अबको सत्ताधारी रास्वपाभित्रको  शक्ति संघर्षलाई पहिलो चुनौतीका रूपमा व्याख्या गर्छन्।

‘स्वयं रवि लामिछाने र बालेनबीचको शक्ति संघर्ष कसरी जान्छ ? उहाँहरू मिलेर जानुहुन्छ कि २००७ सालपछि मातृका कोइराला र विपी कोइराला, ०४६ पछि गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको झगडा र ०७४ पछि केपी ओली र प्रचण्डबीच भएजस्तो झगडामा फस्नुहुन्छ। झगडामा फस्नुभयो भने त उहाँहरूको कथा छोटो समयमै सिद्धिहाल्छ’, उनी भन्छन्, ‘त्यसैले प्रमुख चुनौती यही हो।’
Dambar_khatiwada-thaha-1774177682.jpg
शासन–प्रशासन र ऐन कानुन निर्माण तथा संशोधन गर्दै वाचानुसार काम गर्नु अर्को चुनौतीका रूपमा देख्छन् विश्लेषक खतिवडा। साथै अर्थतन्त्र सुधार र भूराजनीतिक सन्तुलन मिलाउने पनि चुनौती पनि अब बन्ने रास्वपा सरकारसामु रहेको उनको बुझाइ छ।
खतिवडाको भनाइः–
उहाँहरूले शासन–प्रशासन, कानुन ऐन र संविधानमा के कति परिवर्तन गर्नुहुन्छ आफ्नो वाचाअनुसार ? गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? संविधान संशोधनका लागि दुईवटै सदनमा दुई तिहाइ जुटाउन सक्नुहुन्छ कि सक्नुहुन्न ? त्यसका लागि संसद्‌मा भएका अन्य दलसँग सहकार्य कसरी गर्नुहुन्छ‚ दोस्रो चुनौती यो छ।  
तेस्रो अर्थतन्त्रमा के परिवर्तन ल्याउनुहुन्छ त ? बेरोजगारी छ, विदेशिने क्रम छ, आर्थिक शिथिलता छ, पैसा बैंकमा थुप्रिरहेका छन्, सार्वजनिक ऋण धेरै छ, बजेट संरचनामा पुँजीगत खर्चको अवस्था छैन, सामाजिक सुरक्षाभत्ता कटौती हुन थालेका छन्। यी सबैका बीचमा उहाँहरूले के गर्नुहुन्छ ? 
र चौथो भनेको जिओपोलिटीकल स्ट्यान्ड कहाँ भन्ने हो। यो जटिल हुँदै गएको छ। विभिन्न देशबीच युद्ध पनि चलिरहेको छ। नेपालमा जेनजी आन्दोलन नै अमेरिकाले गरिदिएको हल्ला छ। सामान्यतया तीन शक्ति चीन, अमेरिका र भारतको सन्तुलान कसरी मिलाउनुहुन्छ। कोतिर झुक्नुहुन्छ वा झुक्नुहुन्न भन्ने कुराले पनि निर्धारण गर्छ। 
संविधानविद्ले औंल्याएका चुनौती 

संविधानविदहरू जनताको तीव्र अपेक्षा पूरा गर्न सक्ने कि नसक्ने भन्ने प्रमुख चुनौती अब बन्ने रास्वपा सरकारलाई रहेको ठान्छन्। सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाका क्षेत्रमा अब युवाले ठोस नतिजा अपेक्षा गरेकाले यसका निम्ति परिणाम दिनु सरकारको ठूलो चुनौतीका रूपमा अर्थ्याउँछन् संविधानविद् विपिन अधिकारी।

उनी भन्छन्, ‘झन्डै दुई तिहाइ शक्तिशाली जुन सरकार बन्दै छ, यसका सामु जनेजी विद्रोहमार्फत युवाले उठाएका प्रमुख माग सुशासन, भ्रष्टाचारबाट मुक्ति र स्वदेशमै रोजगारी जस्ता विषयमा कटिबद्ध भएर काम गर्न सक्छ कि सक्दैन भन्ने प्रमुख कुरा हो।’
bipin_adhikari-1774177590.jpg
संविधान संशोधनको पुरानै बहसलाई परिणाममुखी बाटोमा अघि बढाउने दायित्वलाई अबको सरकारको अर्को प्रमुख चुनौती ठान्छन् संविधानविद् अधिकारी। यसका लागि गहिरो अध्ययन, छलफल–बहस र राष्ट्रिय सहमति आवश्यक पर्ने हुँदा यसमा रास्वपा सरकारको भूमिका महत्वपूर्ण हुने उनी बताउँछन्।

अधिकारीको भनाइः–

संविधान संशोधनको सन्दर्भमा पहिला त विगत १० वर्षको अनुभवका आधारमा कहाँ राम्रो भयो र कहाँ के कारण कमी कमजोरी भए भनेर टास्कफोर्समार्फत गहिरो अध्ययन आवश्यक छ, त्यसपछि सबै पक्षबीचको छलफल बहस हुनपर्‍यो। यसका लागि राष्ट्रिय सहमति चाहियो। रास्वपा एक्लैले गर्ने कुरा भएन र सक्दैन। उसको उपस्थिति भनेको प्रतिनिधिसभामा करिब दुई तिहाइ हो। राष्ट्रियसभामा शून्य छ। 

यस्तो अवस्थामा कांग्रेस, एमाले र नेकपाको सदासयता चाहिन्छ, त्यो पाउन सहज छैन। पाइहालियो भने पनि प्रदेशसभाको सीमांकन वा अधिकारको विषय छ भने ७ वटै प्रदेशसभाले पनि निकास दिनुपर्छ। उनीहरूले मन लागे दिन्छन्, मन नलागेको दिँदैनन्। त्यसकारण रास्वपा सरकारको अर्को महत्त्वर्ण चुनौती यहाँ छ। 

आवश्यक कानुन निर्माण तथा संशोधनमा भने रास्वपालाई कुनै आप्ठेरो नरहेको संविधानविद् अधिकारी बताउँछन्। विधायिकी भूमिका बढी हुने प्रतिनिधिसभामा रास्वपाको सहज बहुमत रहेकाले यसमा राष्ट्रियसभाको भूमिका गौण हुने उनी बताउँछन्।

‘संविधानले कानुनलाई दुई भागमा विभाजन गरेको छ। एउटा आर्थिक र अर्को गैरआर्थिक भनेर। यसमा आर्थिक कानुनहरूका सन्दर्भमा त राष्ट्रियसभाले असहयोग गरे पनि दोहोर्‍याएर पारित गरेपछि प्रतिनिधिसभाको बहुमतले चाहेअनुसार भइहाल्छ। गैरआर्थिक विधेयक पनि बढीमा राष्ट्रियसभाले दुई महिना अल्मल्याउन सक्छ। त्यसपछि प्रतिनिधिसभाले फेरि पास गरेर प्रमाणीकरणका लागि पठाउन सक्छ’, उनी भन्छन्, ‘कानुन निर्माण र संशोधनमा यसरी राष्ट्रियसभाको भूमिका गौण हुने हुँदा यसमा त अबको सरकारलाई समस्या देखिँदैन।’

‘ब्यूरोक्रेसी’लाई विश्वासमा लिने चुनौती  

पहिलोपटक एक्लैले देशको बागडोर सम्हाल्न लागेको रास्वपाका सरकारका लागि ‘ब्यूरोक्रेसी’लाई विश्वासमा लिनु प्रमुख चुनौतीका रूपमा औल्याउँछन् पूर्वप्रशासकहरू। नेपाल सरकारका पूर्वसचिव उमेश मैनाली पुरानो संस्कारमा अभ्यस्त ब्यूरोक्रेसीलाई विश्वासमा लिएर आफूअनुकूल ढाल्नु रास्वपा सरकारका लागि चुनौती हुने ठान्छन्।

‘अहिलेको  ब्यूरोक्रेसी पुरानो संस्कारको छ। यसलाई अबको सरकारले विश्वासमा लिएर आफूअनुकूल ढाल्न सक्नुपर्‍यो। त्यसो गर्न नसके राजनीतिक दल जतिसुकै शक्तिशाली भए पनि, जतिसुकै प्रचण्ड बहुमत लिएर आए पनि केही हुँदैन’, उनी भन्छन्, ‘त्यसकारण पहिलो चुनौती नै कर्मचारीतन्त्रलाई विश्वासमा लिने हो।’
Umesh_mainali-ex-secretary-1774177624.jpg
फेरि त्यो गाली गरेर भन्दा उनीहरूलाई नै साथ लिएर मात्र सम्भव भएको पूर्वसचिव मैनाली बताउँछन्। उनी थप्छन्, ‘यसका लागि फेरि गाली गरेर थर्काएर केही हुनेवाला छैन। त्यसो गर्दा उनीहरूलाई नै साथ लिएर गर्नुपर्छ। अन्यथा ओनरसीप लिँदैनन् र बुमर्‍याङ हुन्छ। झन् उल्टो हुन्छ।’

अहिलेसम्म कर्मचारीलाई थर्काउने मात्रै गरिएकाले उनीहरूले ओनरसीप नलिँदा बिग्रेको पूर्वसचिव मैनाली बताउँछन्। उनी भन्छन्, ‘हाम्रोमा के भएको छ भने कर्मचारीलाई थर्काउने तर नीति नियम र प्रक्रिया नसच्याइदिने। अब पहिला त उनीहरूसँग नै सल्लाह गरेर के र कहाँ अप्ठ्यारो छ‚ त्यसलाई अनुकूल बनाइदिइयो भने आधा समस्या यसै हल हुन्छ। यो गर्ने भनेको राजनीतिक दलले हो।’

यस्ता छन् अर्थविद्ले देखेका चुनौती 

आउने सरकारलाई सबैभन्दा ठूलो चुनौती नै आर्थिक दृष्टिकोणबाट औल्याउँदा देखिने विज्ञहरू बताउँछन्। सबैभन्दा पहिला अर्थतन्त्रमा अघिल्ला सरकारहरूका पालामा देखिएका कमजोरी सुधार्नुपर्ने चुनौती अब बन्ने सरकारसामु रहेको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन्।

‘सबैभन्दा पहिला हिजो भएका वित्तीय स्रोतमाथिको दोहन, वित्तीय अनुशासन उल्लंघन, स्रोतको प्रभाकारिता नदेखिएको, राज्यले गरेको खर्चको गुणस्तरीयता नदेखिएको जस्ता कुरालाई सम्बोधन गर्नुपर्ने, व्यवस्थापन गर्नुपर्ने अबको सरकारको पहिलो चुनौती हो’, उनले भने।
Dr.-Chandramani_Adhikari-1774177642.jpg
अन्य अन्तरिक र बाह्य थुप्रै समस्या पनि अर्थतन्त्रमा रहेको डा. अधिकारी बताउँछन्। आर्थिक वृद्धि न्यून हुँदै गएको, लगानी घटेको, बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको, खराब कर्जा जस्ता समस्याबाट मुक्त गराउने ठूलो जिम्मेवारी अबको सरकारका सामु रहेको उनी बताउँछन्।

अर्थविद् डा. अधिकारीका भनाइः–

अर्थतन्त्रमा आन्तरिक र बाह्य थुप्रै समस्या छन्। आन्तरिक समया के छ भने अर्थतन्त्रको मुल कुरा आर्थिक वृद्धि न्यून हुँदै गएको छ। लगानी घटेर गएको छ। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएर बसेको छ, त्यसको उपयोग हुन सकेको छैन। खराब कर्जा बढेर गएको छ। 
यी सबैले गर्दा राजस्व न्यून परिचालपन भएको छ, चालु खर्च धान्न धौधौ छ। पुँजीगत खर्च न्यून छ। वित्तीय व्यवस्थापन खर्च चाहिँ बढेर गएको छ। यी सबैलाई सच्याउँदै सर्भिस डेलिभरीलाई सहज बनाउनुपर्ने र स्रोत व्यवस्थापनलाई उच्च बनाउनुपर्ने, वैदेशिक लगानी भित्र्याउनुपर्नेदेखि निजी क्षेत्रको पुँजीलाई उपयोग हुने खालको वातारण बनाउनुपर्ने चुनौतीका चाङ अबका सरकारमाथि छन्।

बाह्य चुनौती के भने इजरायल र इरान युद्धले गर्दा मूल्य वृद्धि हुने सम्भावना छ, आपूर्ति व्यवस्थामा समस्या पर्ने देखिन्छ, रोजगारीमा समया पर्नेछ, विप्रेषण घट्न सक्छ। यसलाई कसरी व्यवस्थापन गर्ने ठूलो चुनौती यो पनि हो। 

चुनौतीबीच अवसर पनि 

अनेकौँ चुनौतीबीच अबको सरकारलाई अवसर पनि रहेको अर्थविद् डा. अधिकारी बताउँछन्। स्थायी सरकार हुने विश्वासले स्वदेशी तथा विदेशी लगानी भित्रिन सक्ने भएकाले यसलाई उनी अवसरका रूपमा अर्थ्याउँछन् तर सरकार बिचौलियाको चंगुलबाट भने परै रहन सक्नुपर्नेमा अर्थविद् अधिकारी जोड दिन्छन्।

‘चुनौतीका बाबजुत अबको सरकारलाई अवसर पनि छ। बलियो र स्थायी सरकार बन्छ भन्ने हिसाबले स्वादेशी लगानी बढ्ने, वैदेशिक लगानी धेरै भित्रिन सक्छ’, उनी भन्छन्, ‘अवसरको उपयोग गर्न हिजोका धङधङीबाट परै रहनुपर्छ। हिजोका बिचौलिया यहीँ छन्। कर्मचारीतन्त्र त्यही हलो अड्काउने खालको छ। त्यसकारण यी सबैलाई चिर्न कानुन, विधि र पद्धतिलाई अँगालेर जान सक्नुपर्‍यो।’ थाहाखबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×